site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थमन्त्रीको चेतावनी– बैंकको ऋण तिर्दिनँ भन्ने आपराधिक मनोवृत्ति सह्य हुँदैन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफ्ना सीमित स्वार्थका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले शनिबार राजधानीमा आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालो सूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रह गरे ।

मन्त्री पुनले बैंकहरूलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने स्पष्ट गरे ।

Argakhachi Cement Island Ad

"बैंकहरूबाट ऋण लिने, कालो सूचीमा पर्ने अनि ऋण तिर्दिनँ भनेर हिँड्ने प्रवृत्ति छ । आफ्ना सीमित स्वार्थ सिद्ध गर्न बैंकिङ प्रणालीप्रति अनास्था फैलाउने प्रवृत्ति सरकारलाई कदापि स्वीकार्य हुन सक्दैन," मन्त्री पुनले भने ।

नेपालको बैंकिङ प्रणाली उत्कृष्ट रहेको भन्दै उनले बैंकहरू जत्तिको व्यवस्थित रूपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको चर्चा गरे ।

"नेपालमा यदि कुनै संस्था व्यवस्थित रूपमा सञ्चालनमा छ भने त्यो बैंकिङ क्षेत्र हो । यो हामीले भनेको होइन । अन्तर्राष्ट्रिय संस्थाहरूले अध्ययन गरेर निकालेको निस्कर्ष हो," मन्त्री पुनले भने, "आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा कोही पनि डराउनुपर्ने अवस्था छैन ।"

कुनै बैंकर्सले गल्ती गरेको भए गल्ती गर्नेमाथि कारबाही हुने स्पष्ट गर्दै उनले आरोपित व्यक्तिका परिवार र बैंकिङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकामा चिन्ता जनाए ।

बैंकिङ क्षेत्र र व्यवस्थाविरुद्ध एउटै प्रवृत्तिले अनास्था फैलाएको टिप्पणी उनको थियो । सानातिना कमजोरी औँल्याएर राजनीतिक प्रणाली र नेतृत्वप्रति अनास्था फैलाउने तथा मिलेर बसेको समाजलाई विखण्डन गर्न खोज्ने प्रवृत्तिसँग सरकारको सहमति नरहेको मन्त्री पुनको भनाइ छ ।

"आफ्ना महत्त्वाकांक्षा र स्वार्थ सिद्धिका लागि सानातिना कमजोरी खोजेर व्यवस्था, प्रणाली र नेतृत्वप्रति अनास्था फैलाउने प्रवृत्ति, मिलेर बसेको समाजलाई विखण्डन गर्न चाहने धार्मिक र सामाजिक अतिवादी प्रवृत्ति र दुनियाँभरका उदाहरण दिएर आफ्नो नेतृत्वलाई सराप्ने घातक प्रवृत्तिसँग हाम्रो सहमति छैन," मन्त्री पुनले भने, "जसले आफ्नै माटोमा पसिना बगाउँछु भन्ने सोच र प्रवृत्ति राख्छ त्यससँग हाम्रो सहमति छ ।"

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्