काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले १४ लाख १७ हजार ९३५ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर महेशसिंह कठायत, सव–इन्जिनियर भीमबहादुर रोकाया, असिस्टेन्ट सव–इन्जिनियर सर्जन शाही र सिड्डीखोला फुकलछडा जल–उपभोक्ता समितिको अध्यक्ष दिपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाही रहेका छन् ।
मुगुको सोरु गाउँपालिका–९ (साविक कालै गाविस वडा नं. २, ३, ४) स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसीसी सिँचाइ कुलो निर्माणका लागि आर्थिक वर्ष २०७२/०७३ मा उपलब्ध गराएको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा उनीहरू मिलेर सिड्डिखोलादेखि फुक्यालसम्मको सिँचाइ कुलो निर्माण गर्दा अनियमितता गरेको भेटिएको अख्तियारद्वारा बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।