काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्तापक्षका सांसदहरूले गम्भीर प्रश्न गरेका छन् । सरकारलाई समर्थन दिएको र सरकारमा समेत सहभागी भएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको शैलीलाई अनौतिक भनी टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री विश्वास गर्नै नसकिने व्यक्ति रहेको बताए । “फागुन १८ गते मैले प्रधानमन्त्रीसँग भेट गरेको छु । त्यही दिन व्यक्तिगत कामको सिलसिलामा जापान गएँ । दुई दिनपछि हेर्छु यहाँ त गठबन्धन बदलेको छ । चारवटा दलको हस्ताक्षर भएको छ,” पाण्डेले भने, “हामी एकीकृत समाजवादीको तर्फबाट यो देशमा पार्टीभित्रको व्यक्तिवादको विरुद्ध विद्रोह गरेर आफैँले बनाएको पार्टी तोडेर, विष पिएर तपाईंहरूलाई साथ दिएका थियौँ । तपाईंले बाढीले बगाएर ल्याएको मुढो छोडेझैँ छोडेर हिँड्नुभयो । योभन्दा अनैतिकता के हुन्छ ?”
त्यति बेला प्रधानमन्त्री प्रचण्डले भने पाण्डेको प्रश्नमा निराश हुँदै मुन्टो हल्लाएका थिए । अनैतिकताको जगमा बनेको गठबन्धनको भविष्य नहुने भन्दै उनले यसले सकारात्मक संकेत नगरेको बताए ।
“कांग्रेसले प्रश्न उठायो । ओली र देउवाको घाँटी जोडियो भने के गर्नुहुन्छ ?,” प्रश्न गर्दै पाण्डेले भने, “हिजो शान्ति प्रक्रियाका धेरै काम बाँकी छन् । संविधान कार्यान्वयन गर्नका लागि थुप्रै्र काम बाँकी छन् । हिजो कांग्रेसको भोट लिएर जित्ने आज तिमिहरू पूरै बेठिक भन्नु ठिक हुन्छ ? दुवै तर्फबाट भएको कुरा ठिक छैनन् । यो राजनीतिक विकृति हो ।”
‘पाँच हजारको जिम्मा लिने र १७ हजार दुई भन्नेहरू सँगै बसेर पुग्ने कहाँ हो ?’ भनी उनले प्रश्न गरे । “मैले आजकै दिन यसरी भन्नुपर्यो भने भविष्यबारे के सोचौँ ? प्रधनमन्त्रीज्यू, तपाईंबारे सडकका मान्छेहरूमा पनि कति चाँडो रङ फेर्ने प्राणी भन्ने पहिचान बनेको छ,” उनले भने, “पाँच हजारको जिम्मा लिन्छु भन्ने र १७ हजार दुई भन्नेहरू यहीँ सँगै बसेका छौँ । नेपाली जनताले तपाईंहरूलाई हेर्न बाँकी छ ।”
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्नेहरूले नै त्यसलाई रोकेको भन्दै व्यवस्थामा प्रश्न उठाइएको बताए । “हामी संघीयताका नारा लगाएर यहाँ आएका पार्टीले संघीय निजामती ऐन ल्याउने र प्रहरी समायोजन गर्ने काम गरेका छैनौँ । आमजनताले विश्वास गर्न छोडेको छ,” पाण्डेले भने ।