
जलेश्वर । महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डमा भारतीय नम्बरको टाटासुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
महोत्तरीकै पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकबर राइन र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
जनकपुरबाट मटिहानीतिर गइरहेको बीआर०६पीडी ३३३० नम्बरको भारतीय टाटासुमोले आइतबार अबेर राति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेस प्रदेश०१त ३००९ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट ट्याक्टरमा बसेका कामदार अकबरको मृत्यु भएको हो ।
त्यसपछि भाग्ने क्रममा टाटासुमोले विपरीत दिशाबाट साइकलमा चढेर आउँदै गरेका राजकिशोरलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाटासुमोको ठक्करबाट ट्याक्टरमा सवार अर्का कामदार पिपरा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका छन् । प्रादेशिक अस्पताल जनकपुरमा उनको उपचार भइरहेको जनाइएको छ ।
टाटासुमो पनि भाग्ने क्रममा मटिहानी नगरपालिका–४ स्थित सडकछेउमा पल्टिएको थियो । सुमोका चालक फरार छन् । रासस