site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हलगोरु पाल्नेलाई जैमिनीले १० हजार अनुदान दिने
फाइल तस्बिर ।

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोतसाधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

यसका निम्ति नगरपालिकाले प्रस्ताव आह्वान समेत गरेको थियो । गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन उपलब्ध गराउन लागिएको पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए ।

१० वडा रहेको नगरपालिकाभरिबाट ३०० किसानले प्रस्ताव पेस गरेका थिए । ती प्रस्तावमध्येबाट चालु आर्थिक वर्षमा ३० किसानलाई जनही १०  हजार रुपैयाँका दरले प्रोत्सान उपलब्ध गराइने भएको हो ।

“कृषिमा आधुनिक हाते ट्याक्टर भित्रिँदा स्थानीय स्रोतसाधनको प्रयोग नै हरायो,” उनले भने, “गोरु पाल्ने संस्कृति घट्दा बालीका लागि आवश्यक मलमूत्र कमी हुने, बाहिरबाट ल्याएको तेलको प्रयोग बढ्ने भएकाले पनि गोरु पाल्न प्रोत्साहन गर्नुपरेको हो ।”

आधुनिक मेसिनको प्रयोगमा किसानको धेरै पैसा विदेशिने भएकाले गोरु पाल्दा त्यो रोकिने नगरपालिकाको विश्वास छ । उनले भने, “गोरुको प्रयोगले ढिला होला, तर अनुत्पादक हुँदैन । व्यावसायिक किसानलाई भन्दा आफ्नो लागि मात्रै उत्पादन गर्ने किसानका लागि मेसिनभन्दा गोरुको प्रयोग उपलब्धिमूलक हुन्छ ।” 

नगरपालिकाभित्र झन्डै ३०० बढी हाते ट्याक्टरलगायत सामग्री खनजोतका निम्ति प्रयोगमा छन् ।

यस्तै, जैमिनी नगरपालिकाले बीउका रूपमा राँगा पाल्ने किसानलाई समेत प्रोत्साहन गर्न थालेको छ । मासु र दूधमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष राखेको नगरपालिकाले बीउका निम्ति राँगा पाल्ने किसानलाई प्रोत्साहन उपलब्ध गराउने भएको हो ।

चालु आवमा नगरभरिका २० किसानलाई जनही १० हजार रुपैयाँका दरले प्रोत्साहन उपलब्ध गराउन लागिएको ढकालले बताए । हलगोरु र राँगा पाल्ने किसानको तथ्यांक तयार गरेर कार्यक्रमलाई निरन्तरता दिने योजना छ । रासस

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro