
काठमाडौं । दिल्ली एफसीविरुद्ध ३–१ को सहज जित निकाल्दै मानेमञ्ज्याङ एफसी केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा मानेभञ्ज्याङलाई जित दिलाउन एनिसेट जेनबोमी, सोखरुख र साभेलिइ अब्रामोभले गोल गरे ।
दिल्ली एफसीका आर्यन अम्लाले एक गोल गरेका थिए । खेलमा सुरुआती अग्रता भने दिल्लीले बनाएको थियो । दुई भारतीय क्लबबीचको भीडन्तमा अम्लाले गोल गर्दै दिल्लीलाई २७औँ मिनेटमा अग्रतामा राखेका थिए । तर, दिल्लीको यो अग्रता लामो समय टिक्न भने सकेन ।
त्यसको आठ मिनेटपछि नै जेनबोमीले गोल गर्दै मानेमञ्ज्याङलाई खेलमा फर्काएका थिए । त्यसको चार मिनेटपछि नै सोखरुखले गोल गरेपछि मानेभञ्ज्याङले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।
यस्तै, ७४औँ मिनेटमा सोभिलिइले गोल गरेपछि मानेभञ्ज्याङले अग्रतालाई ३–१ मा पुर्याएको थियो । त्यसपछि थप गोल हुन नसक्दा मानेभञ्ज्याङले प्रतियोगिताको सेमिफाइनलमा स्थान निश्चित गरेको हो ।