site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निर्देशनमा किन आफ्नोपन दिन सक्दैनन् नेपाली निर्देशक ?

काठमाडौं । केही वर्षयता चर्चामा रहेका र राम्रो हाइप बनाएका नेपाली चलचित्र हेर्ने हो भने तिनमा त्यति ठूलो अन्तर भेटिँदैन । लोकल परिवेशमा हुने राजनीति, त्यसले समाजलाई पार्ने प्रभाव अनि सिनेमामा प्रमुख पात्र वा तिनको वरिपरि घुम्ने व्यक्तिको प्रेमप्रसंग नै अहिलेका चलचित्रका मुख्य विषय हुन् । सोसल ड्रामा, राजनीतिक वा कसैले सोसियल पोलिटिकल भने पनि सिनेमामा हुने कथा नै यही हो ।

विषय मात्र होइन, सिनेमाको ट्रिटमेन्टमा पनि उति धेरै फरक हुँदैन । ठाँटबाँट पार्ने राजनीतिज्ञ, सामान्य भेष र निम्नस्तरको पारिवारिक पृष्ठभूमिको मुख्य पात्र अनि थोरै कमेडीमा अहिलेका चलचित्र केन्द्रित छन् ।

क्रेडिटलाइन नहेर्ने हो भने कसको अर्थात् कुन निर्देशकको सिनेमा भनेर छुट्टिदैन । यो स्वयं निर्देशक, निर्माता र कलाकार नै स्वीकार गर्छन् । कुशल निर्देशक त्यो हो, जसको सिनेमामा आफ्नै छुट्टै पहिचान हुन्छ । त्यो नै निर्देशकको ब्रान्ड हो । निर्देशकले सिनेमामा त्यही ब्रान्ड भ्यालु बेच्ने हो ।

Dabur Nepal
NIC Asia

तर, नेपालमा विरलै कोही त्यस्तो निर्देशक होला, जसका सिनेमा हेर्दा उसको मौलिकपन चलचित्रमा देखिन्छ । क्रेडिटलाइन नहेरी यो चलचित्र यसको भनेर जो कोहीले पहिचान गर्न सक्ने निर्देशक विरलै होलान् ।

सिनेमा हेर्दा कुन कसको भनेर थाहा हुनुपर्ने अभिनेता नाजिर हुसेनको धारणा छ । त्यसो हुन नसकेको उनको अनुभव छ । निर्देशकमुखी सिनेमा निर्माण हुनुपर्नेमा उनको जोड छ ।

“डिरेक्टर आफैँमा ब्रान्ड हुनुपर्छ । यो लय यो निर्देशकको हो भन्ने पहिचान सिनेमामार्फत निर्देशकले बनाउनुपर्छ,” नाजिर भन्छन्, “विभिन्न कथा र जानरामा काम गर्ने रहर निर्देशकलाई हुन्छ होला, त्यो स्वाभाविक पनि हो । तर, कुशल निर्देशकले जुनसुकै चलचित्र बनाए पनि उसको लय आउँछ भन्ने मेरो बुझाइ छ ।”

यस्तो खालको सिनेमा यो निर्देशकले बनाउँछ भन्ने बुझाइ हुनुपर्ने उनको भनाइ छ । “एकदुईजना नेपाली निर्देशकमा त्यो टेक्सचर आउने गरेको छ । जस्तै, मीन भाम दाइको सिनेमामा त्यो देखिन्छ । यो सिनेमामा को कलाकार छ भन्दा पनि यो मीन भाम दाइको सिनेमा हो भन्ने थाहा हुन्छ,” नाजिर भन्छन्, “कोही निर्देशकको सट स्ट्याब्लिस होला । कसैको लार्ज क्यानभास होला । भारतमै सञ्जय लीला भन्साली र राजकुमार हिरानीका सिनेमा हेर्दै यो उनीहरूकै सिनेमा हो भनेर चिनिन्छ । कोरिया, जापान, इरानमा यस्ता निर्देशक थुप्रै छन् । सिनेम्याटिक वेमा निर्देशकले आफूलाई चिनाउन सक्छ ।”

छायांकन सेटमा निर्देशक बलियो हुनुपर्नेमा उनी जोड दिन्छन् । सेटमा पुगेपछि स्क्रिप्टभन्दा बाहिर जाने कलाकारलाई आफ्नो नियन्त्रणमा लिन सक्नुपर्ने उनको भनाइ छ ।

“निर्देशक यति बलियो हुनुपर्छ, सिनेमाका लागि उहाँले दिमागमा बनेको इमेज, क्यारेक्टरभन्दा बाहिर जाने कलाकारको टुप्पी समाएर ठाउँमा ल्याउन सक्नुपर्छ,” नाजिर भन्छन्, “तिम्रो क्यारेक्टर यति हो, यो दायराभन्दा बाहिर जान पाउँदैनस् भनेर भन्न सक्यो मात्रै भने पनि निर्देशकको आफ्नोपन केही हदसम्म देखिन्छ होला ।”

स्क्रिप्टको भाषामा ‘दिइएको परिस्थिति’ भन्ने हुन्छ । त्यसभन्दा बाहिर जान नदिइए निर्देशकको काम देखिने उनको भनाइ छ ।   

अक्सर चलचित्रलाई निर्देशकको भ्वाइस भनिन्छ । तर, नेपालमा सिनेमामा निर्देशकले आफ्नो भ्वाइस राख्न नपाउने अवस्था रहेको चलचित्र निर्माता रामकृष्ण पोखरल बताउँछन् । केका निम्ति सिनेमा बनाइँदै छ भन्ने विषयले अर्थ राख्ने उनको टिप्पणी छ । निर्देशकको भ्वाइसका लागि भन्दा पनि पैसा कमाउन सिनेमा बनाउने भन्ने मान्यता नेपालमा हाबी भइरहेको उनी स्पष्ट पार्छन् ।

“पैसा कमाउने चक्करमा लागेपछि निर्देशकले कुन कथा उठाएर के भन्ने भन्दा पनि बजार कहाँ छ, बजारमा कस्तो वेभ छ, त्यसतर्फ सबै केन्द्रित भइरहेको छ । हरेक कमर्सियल इन्डस्ट्रीमा यो समस्या हुन्छ,” रामकृष्ण भन्छन्, “हलिउड होस् वा बलिउड । अथवा, अरू कुनै पनि कमर्सियल फिल्म इन्डस्ट्रीमा कुनै एक किसिमको सिनेमा चल्यो भने त्यस्तै चलचित्र बनाउने लहर नै चल्छ । नेपाली सिनेमा उद्योग पनि कमर्सियल हुँदा निर्देशकले आफ्नोपन सिनेमामा दिन सक्ने/सकेको अवस्था छैन ।”

पैसा कमाउनुपर्ने सिनेमा बनाउने बाध्यतामा निर्देशक रहँदा इन्डिभिजुअल कथा आफ्नै तरिकाले भन्न नसकेको उनको बुझाइ छ । खाली पेटमा कला नहुने उनी टिप्पणी गर्छन् ।

सिनेमा उद्योग भइसकेको र यसलाई पेसा बनाइसकेको अवस्थामा निर्देशक पैसा कमाउनैपर्ने बाध्यतामा हुने रामकृष्ण बताउँछन् । “यदि, कुनै निर्माता वा निर्देशकलाई पैसा कमाउनैपर्ने बाध्यता भएन भने कुनै फरक खालको कथामार्फत स्ट्रङ भ्वाइस अगाडि ल्याऔँ भनेर काम हुन्छ,” उनी भन्छन्, “हाम्रोमा सिनेमाले पैसा कमाउनैपर्ने बाध्यता छ । कोरिया, जापान, इरानलगायत कति देशमा फरक कथा र स्ट्रङ भ्वाइस भएको कथामा सरकारले नै लगानी गर्छ । जसका कारण निर्देशकले ढुक्कले आफ्नै तरिकाले सिनेमाको कथा भन्न पाउँछ, जहाँ उसले आफ्नो निर्देशकीय कला स्वछन्द तरिकाले देखाउन पाउँछ ।”

पैसा कमाउने बाध्यता नहुँदा मात्र फरक कथा, नयाँ तरिकाको स्टोरी टेलिङ र भ्वाइस आउने सम्भावना उच्च हुने उनको निष्कर्ष छ । नयाँ प्रयोग गर्न प्रोत्साहित गर्ने संस्था वा सरकारको आवश्यकता औँल्याउँदै उनी यस्तो वातावरण भएका देशमा निर्देशकले आफ्नो क्षमता देखाउन पाउने बताउँछन् ।

“हाम्रोमा कुनै पनि सरकारी तथा गैरसरकारी निकायले सिनेमा बनाउन सहयोग गर्दैन । व्यक्तिविशेषले लगानी गरेको सिनेमामा पैसा कमाउनैपर्ने बाध्यतामा निर्देशक हुन्छ,” रामकृष्ण अगाडि थप्छन्, “सिनेमा पनि नाफामूलक व्यवसायजस्तै भयो । त्यसैले अहिलेको समस्या आएको हो भन्ने लाग्छ ।”

सरकारले चाहेको खण्डमा नेपाली निर्देशकले पनि आफ्नो क्षमता देखाएर बेग्लै पहिचान बनाउन सक्ने उनको जिकिर छ । सरकार सिनेमा उद्योगप्रति केही उदार भए मात्र पनि यसतर्फ धेरै हदसम्म काम हुने उनको ठहर छ ।

“चलचित्र विकास बोर्डले हरेक वर्ष विकास शुल्कका रूपमा उठाउँदै आएको १०/१५ करोड रुपैयाँ सिनेमा निर्माणमा लगानी गरे मात्रै धेरै काम हुन्छ । हाम्रो माग नै यही हो,” निर्माता रामकृष्ण भन्छन्, “हामीले किन राम्रो सिनेमा बनाउन सकिरहेका छैनौँ, विश्वलाई देखाउने सिनेमा किन बनेनन् भन्दा पैसा कमाउनै सिनेमा बनाउने प्रचलन वा बाध्यता भएर हो ।” सरकारी फन्ड नभएसम्म आर्ट मुभी बनाउन नसकिने र निर्देशकीय क्षमता देखिने गरी काम नहुने उनी स्पष्ट पार्छन् ।

निर्देशक दीपेन्द्र के खनाल केही वर्षयता अधिकांश सिनेमा धेरै हदसम्म एकार्कामा नजिक रहेर बनाइएको बताउँछन् । “हामी सिनेमा चलेन चलेन भनेर भनिरहेका छौँ, तर किन चलेनन् ?,” दीपेन्द्र भन्छन्, “हरेक सिनेमा करिबकरिब उस्तै छन् । दर्शक हरेक हप्ता एकै प्रकारका सिनेमा हेर्न किन यति महँगो टिकट काटेर जान्छन् ?”

जति सिनेमा आए पनि त्यति धेरै भिन्नता नहुने उनी स्वीकार गर्छन् । कुन निर्देशकको सिनेमा भनेर छुट्टै निर्देशकीय पहिचान चलचित्रमा देखिनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ ।

“केही वर्षदेखि नेपाली सिनेमा हेर्ने हो भने करिबकरिब उस्तै कथा, मेकिङ र स्टोरी टेलिङमा नेपाली सिनेमा आइरहको यथार्थ हो,” दीपेन्द्र भन्छन्, “निर्देशकको छुट्टै पहिचान दिने खालको सिनेमा बनिरहेका छैनन् ।”

हरेक वर्ष उस्तैउस्तै चलचित्र ल्याइनु नै नेपाली सिनेमाको कलेक्सन र बजार कमजोर हुनुको मुख्य कारण भएको उनको ठहर छ । फरकफरक निर्देशकका सिनेमा भिन्न हुनुपर्नेमा उनी जोड दिन्छन् । सिनेमाले नै निर्देशकको पहिचान बोल्नुपर्नेमा त्यसो हुन नसकेको दीपेन्द्र बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro