site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
गजल गायनमा विद्रोही थानेश्वर

रात किन हुन्छ हजुर, दिन किन हुन्छ 
थाहा छैन जिन्दगी कठिन किन हुन्छ 

गीतका यी पंक्ति नसुन्ने व्यक्ति अहिले कमै होलान् । सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि झनै यी पंक्ति लोकप्रिय होलान् ।

प्रभा बर्तौलाले यी शब्द राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बालाई हेरेर कोरेकी हुन् । एन्जिलाको जीवन कहानीलाई समेट्ने क्रममा प्रभाले अगाडि लेखेकी छन्–

न त ओत लाग्ने छानो 
न त पेट भर्ने मानो
अभावसँग खेल्दा खेल्दै 
जिन्दगी नै भयो बिरानो
 

एन्जिला १४ वर्षको उमेरमा घर छोडेर सपना पछ्याउँदै काठमाडौं लाग्छिन् । सपनाको छड्के झोला भिरेर काठमाडौंको गाडी चढ्दा एन्जिलाका लागि गाउँ बिरानो हुन्छ । काठमाडौं त यसै पनि उनका लागि नयाँ छँदै थियो । बिरानो हुने नै भयो । भयो पनि ।

फुटबल खेल्ने रहर काठमाडौं बस्दा पूरा हुन्थ्यो । तर, यसका लागि काठमाडौंमा बस्दा पहाडभन्दा अग्लो संघर्षको बाटो छिचोल्नुपर्थ्यो । त्यसैले त प्रभाले एन्जिलाको संघर्ष हेरेर लेखेकी छन्–

गह्रुँगो छन् रहरका भारी 
कर्मको बाटो हिँड्दै छु लतारी

जब एक्लै हुन्छिन्, एन्जिलालाई घरको याद आउँछ । आमाको न्यानो काख छोडिँदाको वियोगले पोल्छ । छटपटाउँछिन् । तड्पिन्छिन् । कमजोर हुन्छिन् । अनि, आमालाई सम्झिन्छिन् । आमाले ऊर्जा भर्दिन्छिन् । उनी फेरि रहरको पदचाप पछ्याउँछिन् । 

यो हेरेर प्रभाले अगाडि लेखेकी छन्–
लड्छु उठ्छु, संघर्ष गर्छु 
आमा तिमीलाई पलपल पुकारी । 

कसरी बन्यो यो गीत ? 

गायक तथा संगीतकार थानेश्वर गौतमको ‘छुट्नलाई पो रैछ क्यारे’ गीतको आलाप धेरै ठाउँमा बज्छ । गजल गायनमा त अक्सर यो आलाप छुट्दैन नै । सिनेमा लेखक गिरिराज घिमिरेलाई पनि यो आलाप मन परेको रहेछ ।

‘अञ्जिला’मा यस्तै आलाप चाहिएपछि गिरिराजले थानेश्वरलाई फोन गरेर भने, ‘निर्देशकज्यू (मिलन चाम्स)ले ‘छुट्नलाई पो रैछ क्यारे’ गीतको आलापजस्तै हाम्रो फिल्ममा पनि चाहिएको छ भन्नुभएको छ ।’

कालिकास्थानमा मिलन चाम्स, गिरिराज घिमिरे र निर्माता प्रेमकुमार श्रेष्ठसँग थानेश्वरको भेट भयो । उनीहरूले ‘छुट्नलाई पो रैछ क्यारे’को जस्तै ‘स्याड भर्सन’को आलापसहितको गीत चाहिएको छ, तपाईंकै स्वर हुनुपर्छ भने ।

गीत थानेश्वरले गाउने भए । फिमेल भोकल शान्तिश्रीको राख्ने कुरा भयो । 

गीत कसले लेख्छ ? 

प्रभा बर्तौलालाई कालिकास्थान बोलाइयो । उनले स्क्रिप्ट सुनिन् । स्क्रिप्ट सुनेर प्रभाले त्यहीँ गीतको ‘कन्सेप्ट’ बनाइन् । साँझ थानेश्वरलाई गीत पठाइन् । थानेश्वरले हार्मोनियममा औँला डुलाउन थाले । आलाप खोजे । आफूलाई चित्त बुझ्ने आलाप पक्रिए । रेकर्ड गरे ।

भोलिपल्टको साँझ कमलादीमा थानेश्वर, गिरिराज र मिलनको भेट भयो । आलाप ताने । थानेश्वरले गीत सुनाए । संगीत सुनाए । 

‘गज्जब राम्रो, हामीले खोजेकै यस्तै त हो । ल डन ! यही फाइनल भयो । यसैलाई रेकर्ड गरेर राखौँ,’ करिब दुई महिनाअगाडि फर्किएर ‘रात किन हुन्छ हजुर, दिन किन हुन्छ’ कसरी बन्यो थानेश्वरले सुनाए । 

होमवर्क नगरे गीत

थानेश्वरले कहिलेदेखि शब्दमा आफ्नो स्वर मिसाउन थाले त्यो त उनलाई पनि यकिन छैन । किनभने, स्मरणमा रहँदाताकादेखि नै उनी गीत गाउँथे । विद्यालयमा गाउँथे । गाउँमा भजन गाइँदा त्यहाँ पनि गाउँथे । रोधीहरूमा गाउँथे । जहाँजहाँ गीत गाउन पाइन्थ्यो, त्यहाँ गाउँथे ।

रेडियो नेपाल गीत सुन्ने माध्यम थियो । त्यहाँ आउने गीत सकेसम्म छुटाउँदैनथे । लोक होस् वा आधुनिक, लोकबहादुर क्षेत्रीका हुन् अथवा नारायणगोपालका सबै गीत सुन्थे ।

लोकबहादुर क्षेत्री, नारायण रायमाझी, नारायणगोपाल, भक्तराज आचार्यको स्वरमा उनको दिलचस्पी थियो ।

विद्यालयमा कहिलेकाहीँ होमर्वक नगरे सजायस्वरूप शिक्षकले उनलाई गीत गाउन लगाउँथे । उनलाई त्यो अवसर पाउँदा यस्तै गल्ती गरिरहूँजस्तो लाग्थ्यो । सायद शिक्षकलाई पनि त्यही लाग्थ्यो होला, त्यही भएर त शिक्षकहरू– तिमीले ठूलो भएपछि पनि गीत गाउनुपर्छ, गायक बन्नुपर्छ भन्थे ।

अनि, काठमाडौं

थानेश्वरको आफ्नो गाउने रहर, शिक्षकको हौसला । उनको रहरको पारो उकालो लागेको थियो । उनले न्यूनतम लक्ष्य राखेका थिए– काठमाडौं जान्छु । संगीत पढ्छु । गीत गाउँछु । र, रेडियो नेपालमा बजाउन लगाउँछु ।

०५७ मा थानेश्वरले आफ्नो सपनामा पँखेटा हाले । काठमाडौंको गाडी चढे । त्यो बेला उनको मनमा थियो– संगीत सिकेपछि प्राविधिक कुरा थाहा होला । गाउन सजिलो होला । त्यसपछि गीत रेकर्ड गर्ने हो । रेडियोमा गीत बजाउने हो । गायक बन्ने हो ।

स्वरपरीक्षा नदिई रेडियो नेपालमा गीत गाउन पाइँदैन थियो । उनी काठमाडौं आएकै वर्ष रेडियो नेपाल पुगे । देशव्यापी आधुनिक गीत प्रतियोगिता थियो । रेडियो नेपालको प्रांगणमै पुगेपछि त्यहीँ बसेर गीत लेखे । लय बनाए । गाए । उत्तीर्ण पनि भए ।

त्यहीँ उनले लोकगायक नारायण रायमाझीलाई भेटे । उनले थानेश्वरलाई ‘तपाईंको स्वर राम्रो रहेछ, सिक्दै हुनुहुँदो रहेछ, राम्रो गर्नू बाबु’ भने । त्यो उनका लागि आशीर्वाद थियो । प्रेरणाका शब्द थिए ।

रत्नराज्यलक्ष्मी क्याम्पसमा संगीत पढ्न भर्ना भए । त्यही समय हो, उनले जिन्दगीमा वक्ररेखाको यात्रा गरेको । संघर्षको पहाड चढेको ।

०६० मा गीतकार रमेश अधिकारीले उनलाई सहयोग गरे । रमेशको शब्दमा थानेश्वरले पहिलोपटक गीत रेकर्ड गराए । ‘सोधौँ कसलाई’ बोलको यो गीत निकाल्न धौलागिरि क्यासेट सेन्टरले केही सहयोग गर्‍यो । यो लोकगीतमा थानेश्वरसँगै बिमाकुमारी दुराको स्वर थियो ।

गीत रेडियो नेपालसहित एफएम रेडियोहरूबाट बज्यो । थानेश्वर औपचारिक रूपमै गायक बने ।

रहरको बाटो

काठमाडौंको बसाइ थियो । महँगो कोठाभाडा, कलेजको फिस । कलेजसम्म आउनेजाने भाडा जुटाउनै कठिन हुन्थ्यो । “राम्रो इन्स्टिच्युटमा संगीत सिक्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर, पैसा जुटाउन कठिन भएकाले सिक्न सकिँदैन थियो,” उनी भन्छन्, “यो समय काठमाडौंमा दिनहरू सहज थिएनन् ।” रहर थिए, तर त्यसलाई छिन्ने बाध्यताहरू थिए – जसले पछि हट्न बाध्य बनाउँथ्यो ।

अभावका अग्ला पर्खालहरूलाई रहरको बाटोले छिचोल्दै गए । गाउने सपना पूरा हुँदै गयो । सालैजो ‘नाकमा फुली ए मेरी ठूली’ र ‘बाटो बन्द भयो’ ०६२ मा रेकर्ड गराए । यी गीतले चर्चा पाए । स्रोतादर्शकले नजर लगाइदिँदा थानेश्वरमा आत्मविश्वास थपिँदै गयो । गाउनेक्रम बाक्लियो ।

ट्रनिङ पोइन्ट

अनि, आयो ‘बिर्सिएर शृंगारमा गाजल लगाइनछौ’ । ०६९ मा ल्याइएको यो गजल – जो थानेश्वरको जीवनको ट्रनिङ पोइन्ट बन्यो ।

अक्सर गाउँबाट आएका अधिकांशको बसाइ काठमाडौंमा उस्तैउस्तै हुन्छ । अभाव, आशा र रहरको त्रिवेणीमा जिन्दगी डोरिइरहेको हुन्छ । यसबाट आफूलाई अलग्याउन त्यति सहज हुँदैन । त्यसैले थानेश्वर पढ्दै/पढाउँदै गरिरहेका थिए । चार विद्यालयमा संगीत पढाउँथे । घरमै केही शिष्यलाई संगीत सिकाउँथे ।

मैतीदेवीमा कोठा थियो । एक दिन पुरु लम्सालले बिहानै साढे ५ बजे फोन गरेर भने, ‘थानेश्वरजी, यस्तो खालको एउटा गजल तयार भएको छ, के गर्ने ?’

थानेश्वरले भने, ‘मेरोमा आउनुस् ।’

आधा घण्टामा पुरु उनको कोठामा पुगे । त्यहीँ थानेश्वरले ट्युनिङ गरे ।

केही समयमा थानेश्वरको कोठामा उनका विद्यार्थी आइपुगे । विद्यार्थीले भन्न थाले– यो त हामीले गाउने हो, बहुत राम्रो छ । उनीहरूबीचमा यसले तरंग पैदा गर्‍यो ।

थानेश्वर आफैँ सांगीतिक बजारमा एउटा राम्रो सिर्जना दिने खोजीमा थिए । उनले आफैँ गाउने निर्णय विद्यार्थी आउनुअगाडि नै गरिसकेका थिए । पुरुको चाह पनि त्यही थियो ।

आफ्ना निम्ति आफैँ गर्नुपर्छ भन्ने उनको मान्यता थियो । त्यही भएर उनले जोरजाम गरेर रेकर्ड गराए । भिडियो बनाउने जमाना सुरु भइसकेको थियो ।

रञ्जना क्यासेट सेन्टरका जगदीशकुमार श्रेष्ठलाई भेटे । उनले पनि गीत मन पराए ।

आलोक नेम्वाङ त्यो समयको चल्तापुर्जा म्युजिक भिडियो निर्देशक थिए । उनीसँग आफ्नो गीतको भिडियो बनाउने हरेक संगीतकर्मीको चाहना हुन्थ्यो । 

त्यही रहर थानेश्वरमा पनि थियो । आलोकलाई भेटे । आलोकले भने– एकदम राम्रो गीत बनेको छ, यसलाई होमवर्क गर्न एक महिनाको समय दिनुस् ।

जब गीत बजारमा आयो, त्यसले पूरै सांगीतिक बजारमा तरंग पैदा गरिदियो । आमसंगीतप्रेमी स्रोतादर्शकले गीत मन पराए । थानेश्वरले बलियो गायक तथा संगीतकर्मीको दर्जा पाए ।

गीत यति लोकप्रिय बन्यो, संघर्षका चोटमा यसले मलम लगाइदियो । थानेश्वरका निम्ति यही गीतले वैदेशिक यात्राको ढोका खोलिदियो ।

कार्यक्रमका लागि निम्तो आउन थाले । उनले देशविदेशमा कार्यक्रम गर्न थाले । वक्ररेखा सिधा हुन थाले । जिन्दगी सुगम हुन थाल्यो ।

त्यसपछि संगीत उनका दाहिना भए । स्रोतादर्शकले विश्वास गर्न थाले । ‘तिम्रा यादहरू मलाई भेटेर जान्छन्’, ‘बेचेर मैले सपना रात किनेको छु’, ‘छुट्नलाई पो रैछ क्यारे सानु’, ‘एउटा कथा’जस्ता गजललाई दर्शकले मनमा राखिदिए ।

एकातिर गजलको यात्रामा दरिँदै गर्दा अर्कोतिर लोकसंगीतमा पनि उनले आफ्नो बलियो छाप छोड्दै गए । रोइला, सालैजोलाई समेत सँगै लिएर हिँडे । ‘स्याङ्जा गएँ पाल्पा गएँ’, ‘नजर जुद्धा’, ‘सिन्दूर लाउने हौली माया’लगायत धेरै गीत ए, जसलाई स्रोतादर्शकको साथ रह्यो । ‘खतरा धेरै भो’ले उनकाे करिअर उकासे । 

‘बन्द भो’ जस्ता लोकगीत गाए । सालैजो ‘नाकमा फुली ए मेरी ठूली’, ‘मार्यो नि मायाले’, ‘कालेमा काले’ सालैजो ल्याउँदा दर्शककाे माया पाए । 

‘खतरा धेरै भो’ गजल गाए । ‘तिम्रा यादहरु मलाई भेटेर’ जान्छन् गजल ल्याए । यसले गजलप्रेमीकाे आँत भर्ने काम गरे । ‘फुर्के धागो लगाएर कपाल बाटौली’, ‘मै गाउँला गजल प्यारी तिमी नाचौली’ तिज गीतमा गजल यो नयाँ प्रयोग थियो । 

‘मर्दा पनि’, ‘देशका लागि’ राष्ट्रिय गीत गाए । यसले उनमा  विभिधता दिए । 

चुनौतीको बाटो 

‘छुट्नलाई पो रैछ क्यारे सानु’ नेपाली सांगीतिक फाँटमा अलि फरक तरिकाले प्रवेश गरेको थियो । उनले यसमा शास्त्रीय संगीतलाई छोएर लोक भाका प्रयोग गरे । लोकसंगीतको धुनलाई शास्त्रीय संगीतमा कनेक्ट गरे । शास्त्रीय संगीत र लोकगीतलाई फ्युजन गरे । उनकै शब्दमा त्यो ‘निकै चुनौतीपूर्ण’ थियो ।

“करिबकरिब असम्भवजस्तै विषय थियो । तर, त्यो नै मेरा लागि चुनौती थियो,” थानेश्वर भन्छन्, “यसमा ठूलो रिस्क थियो । यो गीत नचलेको भए मैले गाली खाने थिएँ । यसले गीत बिगार्‍यो भनेर गाली खाने थिएँ ।”

तर, गीत यसरी चल्यो, गाली त के कसैले मुख बाउन पनि सकेनन् । गजलवाचनमा यही आलाप बज्न थाल्यो । गाउन थालियो ।

फरकधार

‘गाजल लगाइनछौ’ पनि फरकपन भित्र्याउँदै गाइएको गजल हो । गजल ढिलो तालमा मात्र गाउनुपर्छ भन्ने परम्परागत मान्यतालाई यसले चुनौती दियो । नाच्ने पनि गजल हुन्छ भन्ने नयाँ ट्रेन्ड सेट गर्‍यो । सुतेर सुन्ने मात्र गजल हुन्छ भन्ने मान्यता भत्कियो ।

चुनौती किन ? 

थानेश्वरलाई सुरुमै आफ्नै पहिचान बनाउनुपर्छ भन्ने थियो । अरूले हिँडेको बाटोमा हिँडे गुमनाम भइन्छ भन्ने थियो । त्यसैले उनी चुनौती मोल्न आँखा चिम्लिएर बजारमा उत्रिएका थिए ।

कलेजमा पढ्दा नै उनी गुरुहरूलाई प्रश्न गर्थे– यसको ठाउँमा यस्तो प्रयोग गरे के हुन्छ ? पछि उनले त्यही प्रयोग गरे । सफल भए ।

कलेज पढ्दा गरेको जिद्दी खेर गयो । पछि आफैँले प्रयोग गर्दा सफल भए । चुनौती मोलेर नयाँ प्रयोग गरे, त्यही नै उनको पहिचान बन्यो ।

म यो प्रयोग गर्छु भन्दा उनलाई ‘बिलाउँछस् !’ भन्नेहरू धेरै थिए । क–कसले डर देखाए, त्यो त उनी भन्न चाहँदैनन्, तर काँडाको बाटो हिँडे । काँडाले खोपेका डाम ताजै छन् उनको दिमागमा, भलै कालीगण्डकीमा धेरै पानी नबगेको किन नहोस् ! तर, उनले त्यसलाई प्रेरणाकै रूपमा लिए । अवरोधहरू चिर्दै गए । आफ्नो बाटो आफैँ बनाउँदै गए ।

संगीत थानेश्वरको जीवन हो । जहाँ उनले जीवन खोजे, त्यसमै स्नातकोत्तर गरे । यसमै विद्यावारिधि गर्दै छन् ।

लोकगीत गाउनेलाई पप, आधुनिक र चलचित्रका गीत गाउने ‘लोके’ भनेर हेप्थे । थानेश्वरको मन चसक्क हुन्थ्यो ।

यसरी हेप्नेलाई कलाले जवाफ दिनुपर्छ भन्ने लाग्थ्यो । नभन्दै उनले शास्त्रीय संगीतमै मास्टर्स गरे । कतिको बोली बन्दी भयो वा भएन थाहा छैन, थानेश्वरको ज्ञानको चक्षु भने उकालो लाग्यो ।

दुःख नै साथी 

थानेश्वरलाई नजिकबाट चिन्नेहरूलाई पक्कै थाहा छ, उनको रोजाइ । उनका आलापहरूले लगाव प्रस्ट्याउँछ, स्याड भर्सनमा रमाउँछन् । 

किन ? 

“सायद म यस्तै रोजाइ लिएर जन्मिएँ । गीत छान्दा, कम्पोज गर्दा र गाउँदा पनि स्याड भर्सन नै मन पर्छ,” थानेश्वर भन्छन्, “अर्को कारण, मैले गाउँमा आमाले गरेको दुःख देखेको छु । आमाले गरेको संघर्ष नजिकबाट अनुभूत गरेको छु । जिन्दगीको अँध्यारो पाटो देखेको छु । त्यसैले स्याड गीत सायद मेरो रोजाइमा परेका छन् ।”

जिन्दगी सुखभन्दा पनि दुःखमा धेरै व्यतीत भएको थोरबहुत उनी आफैँले भोगे । देखे ।

त्यसैले उनी भन्छन्– सुख त क्षणिक न हो, डुबी जाने घामजस्तै ।

साथी त दुःख रहेछ । त्यसैले सायद थानेश्वरलाई दुःखकै गीत मन परे । दुःखैका गीतले उनलाई चम्काइदिए ।
 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro