
काठमाडौं । जेठ महिनाको पारिलो घाम लागिरहेको एक दिन काठमाडौंको उकुसमुकुसबाट निस्कँदै सौरभ (चौधरी) ललितपुरको हातीवन पुग्दा उनको मन पनि मौसमजस्तै उकुसमुकुस थियो ?
किन ?
सौरभको हातमा स्क्रिप्ट थियो । तर, अलि फरक खालको । नेपाली चलचित्र उद्योगकै लागि फरक त होइन, सौरभ जसलाई स्टोरी सुनाउन जाँदै थिए, उनका लागि भने बिलकुल फरक थियो ।
को व्यक्ति ?
विपीन कार्की । विपीन अक्सर सोसल ड्रामा खेल्ने अभिनेता हुन् । सोसल ड्रामामा रमाइरहेका कलाकार हुन् । दर्शकले चिन्ने पनि उनलाई त्यसैगरी हो ।
अनि ?
सौरभसँग सोसल ड्रामा थिएन । उनको हातमा थियो, एक्सन सिनेमाको स्क्रिप्ट । त्यसैले विपीनले के भन्छन् भन्ने कौतूहल थियो । विपीनले के भन्छन् भन्ने सौरभलाई व्यग्र प्रतीक्षा थियो ।
“विपीन दाइ त एक्सन सिनेमा भनेपछि झन् एक्साइटेड पो हुनुभयो,” सौरभ नोस्टाल्जिक हुन्छन्, “उहाँ त मभन्दा पनि धेरै पो एक्साइटेड हुनुभयो ।”
एक्सनका निम्ति सौरभले विपीनलाई किन रोजे ? सौरभबाट अनपेक्षित जवाफ आयो । उनलाई एक्सन सिनेमाको भाष्य नै बदल्नुछ रे !
कस्तो भाष्य ?
“नेपाली चलचित्रमा मुस्किलले तीनदेखि चारवटा एक्सन सिक्वेन्स हुन्छ । अनि, हामी त्यही चलचित्रलाई एक्सन सिनेमा भन्दै आएका छौँ । चारवटा एक्सन सिक्वेन्स भएको सिनेमालाई एक्सन सिनेमा भन्ने र ?,” सौरभको प्रश्न छ, “हामी तीन भाइ भन्ने चलचित्रमा एक्सन सिक्वेन्स छ । तर, समग्रमा त्यो चलचित्रलाई ड्राइभ गरेको त इमोसनले हो । यो चलचित्रलाई एक्सन भन्ने कि सोसल ड्रामा ?”
त्यसैले सौरभ ‘कर्मा’लाई ड्रामा, सस्पेन्स र एक्सन भन्न रुचाउँछन् । एक्सन सिनेमा भन्ने हो भने त्यसमा एक्सनको सिक्वेन्स पनि त्यहीअनुसार हुनुपर्नेमा उनी जोड दिन्छन् ।
साढे दुई घण्टाको चलचित्रमा २० मिनेट फाइटको सिन भए त्यसलाई एक्सन सिनेमा भन्ने कि नभन्ने बहसको विषय भएको उनी बताउँछन् ।
फेरि केन्द्रित हौँ विपीनमा, चार एक्सन सिक्वेन्सका निम्ति कम्तीमा २० मिनेट एक्सनका लागि खर्चनुपर्छ । सोसल ड्रामामा काम गरिरहेका विपीनबाट त्यो सम्भव थियो ?
“साढे दुई घण्टाको चलचित्रमा करिब २० मिनेट एक्सन सिन हुन्छ । बाँकी पूरै समय त सोसल ड्रामा नै त हो,” सौरभ भन्छन्, “त्यसो हो भने मिहिनेत गर्ने अभिनेताले काम गर्न सकिहाल्छ नि !”
अफर गरेको हप्ता दिनभित्रै विपीनले ‘कर्मा’ साइन गरिसकेका थिए । एक्सनका सिक्वेन्स थिए । शरीर त्यहीअनुसारको तयार पार्नु थियो । सिन थोरै होस् वा धेरै, बलिष्ठ र सुगठित शरीर त चाहियो ।
सौरभले क्यारेक्टर सुनाए । त्यहीअनुसारको शरीर बनाउन जिम गएर ‘वर्क आउट’ गर्नुपर्ला भने । सिक्स प्याक एब्स बनाउनुपर्छ भने । विपीन तयार भए ।
केही दिनपछि विपीनले भने– सौरभजी, सिक्स प्याकभन्दा पनि पात्रानुसार त शरीर फिट देखाए मात्रै पुग्छजस्तो लाग्यो । सिक्स प्याक देखाउँदा अलि मिल्दैन कि ?
विपीनको कुरा सौरभलाई मन पर्यो । सिक्स प्याकभन्दा पनि शरीर फिट बनाउनतर्फ विपीन केन्द्रित भए । नियमित डाइटप्लानमा बसे । सौरभले खोजेजस्तै विपीनले आफ्नो शरीरलाई आकार दिए ।
विपीनले यसअघि चलचित्रमा जे गर्दै आएका थिए, जसरी अभिनय गर्थे, सौरभकै भाषामा उनलाई त्यो देखाउनु नै थिएन । उनीबाट फरक काम लिनु थियो । हेर्दै फरक देखाउनु थियो ।
“म विपीन दाइबाट के लिने र कसरी लिने भन्नेमा सुरुमै क्लियर थिएँ । कस्तो देखाउने भन्नेमा प्रस्ट थिएँ । त्यसैले मलाई सहज भयो,” सौरभ भन्छन्, “जुन मैले लिएँ । अभिनयमा सटलनेस छ । कहीँ कतै जर्क छैन ।”
सौरभले पहिलो दिनको फर्स्ट टेक सम्झिए । कताकति विपीनको पुरानै पन देखियो । सौरभले भने– यो पात्रलाई यसरीभन्दा पनि यस्तो पन दिने कि !
विपीनलाई धेरै यो वा त्यो भनिरहनै पर्दैन । सौरभले चाहेको के थियो, उनले बुझे । आफ्नै रङ दिए ।
सिनेमाको रङचाहिँ ? चलचित्रको रङ त्यसको कथा, भूगोल र पात्रले निर्धारण गर्छ ।
‘कर्मा’ रुकुुमको एक युवक जसको सपना उसको बुवाको अन्तिम शब्द हुन पुग्छ । बुवाको सपनालाई आफ्नोमा रूपान्तरण गरेर त्यसलाई पूरा गर्न रुकुमबाट दाङ झर्दा बाटोमा आउने उल्झन ‘कर्मा’को कथा हो ।
एक व्यक्तिको वास्तविक जीवनमा आधारित कथालाई सौरभले समाते । तर, चलचित्रमा वास्तविक कथा मात्र छैन । त्यसलाई आधार बनाएर सिनेम्याटिक लिवर्टी लिए । आवश्यक ‘ड्रामा’ मिसाए । र, एउटा पूर्ण स्क्रिप्ट बनाए ।
चलचित्रमा कथाअनुसारको रङ पोतिएको निर्देशक सौरभ बताउँछन् । अघिल्लो वर्ष रिलिज भएको सौरभको ‘अगस्त्य ः च्याप्टर–१’ मा दर्शकले साउथको फ्लेवर आयो भने ।
योपटक सौरभ वेस्टर्न फ्लेवर दिने तयारीमा छन् रे ! सौरभले ‘कर्मा’लाई वेस्टर्न फ्लेवरले रंग्याउँदा दर्शकले के पाउँछन्, के देख्छन् ?
“योपटक मेरो चलचित्रमा स्टोरी न्यारेट र ट्रिटमेन्टमा धेरै उचारचढाव हुँदैन,” उनी प्रस्ट पार्छन्, “फ्लोलेस सिनेमा हुनेछ । सटलनेस अभिनय हुनेछ । दर्शकले चलचित्रमा जिकज्याक देख्न पाउनुहुने छैन ।”
‘अगस्त्य ः च्याप्टर–१’ मा सौरभले दर्शकबाट पाएको प्रतिक्रिया र गरेको अनुभूत के हो भने, सिनेमा नदीजस्तै सलल बग्नुपर्छ । सहजै बुझिने हुनुपर्छ । त्यसैले कर्मामा यही सूत्र प्रयोग गरेको उनले सुनाए ।
फेरि एकपटक विपीनतर्फ फर्कौं, सौरभलाई मन पर्ने सीमित अभिनेतामध्ये एक हुन्, विपीन । त्यसैले उनलाई विपीनमार्फत आफूले चाहेको कथा भन्ने रहर थियो । एक्सनका केही सिक्वेन्स भए पनि अधिकांश समय त सामान्य तरिकाले नै कथावाचन गर्ने हो । ‘इमोसनल’ कथा छ भने विपीनलाई नै किन नरोज्ने ? स्टोरी लेख्दा नै उनले सोचेका थिए ।
“चलचित्रको कथा नै विपीन दाइलाई हेरेर लेखिएको होइन । तर, कथा लेख्दा विपीन दाइ दिमागमा हुनुहुन्थ्यो । उहाँलाई अफर गर्छु भन्ने थियो,” सौरभ अघिल्लो वर्षमा फर्किए ।
अँ, अनि अर्को कुरा !
के कुरा ?
सौरभले बनाएको ‘कर्मा’ उनको आधा स्क्रिप्ट हो रे ! लामो हुने भएपछि आधा मात्र खिचिएको रे ! यो निर्णय सेटमै पुगेर गरेका भने होइनन् ।
“आधा स्क्रिप्ट भए पनि चलचित्रको कथा भने आधा छैन । पात्रको पूरै कथा छ,” उनी प्रस्ट्याउँछन्, “सिक्वेल बनाउने भनेर हामीले कथा छोडेका छैनौँ ।”
सिक्वेलका नाममा आधा कथा भनेर दर्शकलाई अलमल्याउने काम आफूले नगरेको उनी बताउँछन् । अर्को भागका निम्ति कथा अधुरै राख्ने प्रवृत्ति पछिल्लो समय हाबी छ । सौरभलाई विश्वास गर्ने हो भने, यो प्रवृत्ति ‘कर्मा’मा देखिने छैन । पूर्ण कथा उनले भन्नेछन् ।
अन्तिमपटक फेरि विपीन नै, चलचित्रको होल लेन्थ पो एक्सन होइन । एक्सन सिन त थियो । सामान्य नोकझोकबाहेक एक्सनमा काम नगरेका विपीन फुल एक्सनमा उत्रिनु थियो । किक हान्नु थियो । बन्दुक चलाउनु थियो । लड्नु र लडाउनु थियो । डोरीको सहायतामै किन नहोस्, उड्नु र उडाउनु थियो ।
शरीर त फिट बनाएका थिए, तर नयाँ अनुभव भएकाले सहज थिएन । नाइटको छायांकन थियो । रातभर छायांकन हुन्थ्यो । विपीन नयाँ अनुभवका निम्ति एकचित्त भएर खटिइरहेका थिए ।
एक्सन सिनको लगातार सुटिङ भइरहेको थियो । सौरभ प्रोडक्सनलाई सोध्थे– के छ विपीन दाइको डाइट प्लान ?
विपीन पूरै अनुशासनमा । डाइट प्लान नियमित फलो गर्थे । बाहिरी दुनियाँबाट पूरै अलग । “रेगुलर १० दिनको नाइट सुटमा उहाँ पूरै अनुशासनमा बस्नुभयो,” सौरभ विपीनप्रति अनुगृहीत सुनिए, “हरेक कलाकार अनुशासनमा बस्दा काम गर्न सहज भयो । भनेजस्तै काम निकाल्न सम्भव भयो ।”
शरीर र वर्षौंको अभ्यासले मात्र होइन, कडा मिहिनेत र अनुशासनले पनि काम गर्न सकिन्छ भन्ने विपीनले प्रमाणित गरे । उनी र सौरभ चुनौती मोल्न तयार हुँदा ड्रामा, सस्पेन्स र एक्सन जानरालाई पहिलोपटक विपीनले लिड गरे ।
“पक्कै पनि हातखुट्टा चल्ने हिसाबले र फिजिकल स्ट्रक्चरका हिसाबले एक्सनका लागि अरू नायक पहिलो रोजाइमा आउँथे होला,” सौरभ कुराको बिट मार्दै भन्छन्, “तर, अभिनयको लोभले मैले चुनौती मोलेर विपीन दाइलाई लिएको हुँ ।”