site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
देउवालाई ‘अक्षम’ भनेर हटाउनुमा हामी तीनजनाको पनि भूमिका छ 
Sarbottam CementSarbottam Cement

दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्रले एक वर्षसम्म निर्मल निवासमै बसेर राजकाज चलाइबक्स्यो । हामीले त्यही निवासमा सुरक्षाका सबै प्रबन्ध मिलाएका थियौं । दरबार हत्याकाण्डपछि सुरक्षाका विषयलाई लिएर अनेक टिकाटिप्पणी हुन्थ्यो । कतिपयले के भन्थे भने, ‘दीपेन्द्रजस्ताले त त्यत्रो हत्याकाण्ड मच्चाए भने पारस त झन् उद्दण्ड छन् ।’ 

त्यही क्रममा एक दिन शाही चिकित्सक डा. श्यामबहादुर पाण्डेले मलाई सोध्नुभयो, ‘राजालाई कत्तिको सुरक्षा छ ?’

मैले भने, ‘हामीले सुरक्षामा कुनै कमी हुन दिएका छैनौं । अहिलेसम्म हाम्रो हातमा रहेको बेला सुरक्षामा कुनै प्रश्न उठाउन दिएका छैनौं । दरबार हत्याकाण्ड भने हाम्रो हातभन्दा बाहिरको कुरा थियो । तपाईंलाई पनि थाहा छ, पारिवारिक जमघटमा सुरक्षाकर्मीहरू बाहिर नै हुन्छन्, उनीहरूलाई भित्र पस्ने अधिकार छैन । त्यस्तो अवस्थामा दरबार हत्याकाण्ड घटेको हो ।’

Prabhu Bank
Agni Group
NIC Asia

दिनहरू यसरी नै बित्दै थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५९ साल असोज १८ गते हटाइयो । उहाँलाई हटाइनुमा हामी तीन जना (म, शरद्चन्द्र शाह र पूर्वआइजीपी ध्रुवबहादुर प्रधान) को पनि भूमिका छ । हामी तीन जनाको एउटा अघोषित‘थिङ्क ट्याङ्क’ बनेको थियो । यो कुरा राजा ज्ञानेन्द्र र हामी तीन जनालाई मात्र थाहा थियो । राजा ज्ञानेन्द्रले राजकाज सम्हालेपछि हामीले ‘थिङ्क ट्याङ्क’को भूमिका निर्वाह गरेका थियौं ।

हामी प्रत्येक हप्ता कहिले कसको घरमा, कहिले कसको घरमा बसेर छलफल गर्थ्यौं । त्यस्ता भेटमा हप्ताभरिको राजनीतिक घटनाक्रमहरूको विश्लेषण गथ्र्यौं र आगामी हप्ता राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भनेर विचार–विमर्श गर्थ्यौं । 

Global Ime bank

यसमा दरबारले के कस्तो भूमिका निर्वाह गर्नुपर्ला भनी सल्लाह गर्थ्यौं । खासगरी, दरबारको भूमिकालाई कसरी स्थापित गर्ने र प्रभावकारी बनाउने भन्नेमा हामीबीच सल्लाह हुन्थ्यो । हामीबीच छलफल भएपछि त्यो छलफलमा निस्केको कुराको एक पेज बराबरको निचोड शरद्चन्द्रले राजालाई दिने सहमति पनि बनेको थियो ।

सबै काम अगाडि बढ्दै थियो, तर २०५९ असोज १८ गते देउवालाई हटाउनु ठीक एक महिनाअघि अर्थात् भदौ १८ गते हामीले त्यो दिन (असोज १८) को मिति तय गरेका थियौं । असोज १८ को राजनीतिक परिघटनापछि राजनीतिमा झन् उथलपुथल हुँदै गयो । पछि त शेरबहादुर देउवाले चुनाव गराउन सक्दैनन् भनी उहाँलाई ‘अक्षम’ घोषणा गरी हटाइयो । 

सुरुमा देउवाले चुनावको घोषणा गर्नुभएको थियो, तर पछि भने तत्काल चुनाव हुन नसक्ने भन्दै एक वर्ष सारेपछि यो घटना उदाएको थियो । देउवालाई हटाउने क्रममा राखिएको ‘अक्षम’ शब्द हामीले नै चयन गरेका थियौं । विज्ञप्ति तयार पार्दा राजा, युवराज पारस र हामी चार जना सचिव(पशुपतिभक्त महर्जन, सुदन पोखरेल, मोहनबहादुर पाण्डे र विवेककुमार शाह) बसेका थियौं । यसको खाका चाहिँ संवाद सचिव मोहनबहादुर पाण्डेले कोर्नुभएको थियो । 

देउवालाई कसरी हटाउने ? हटाउँदा कुनै आक्षेप त लगाउनैपथ्र्यो । त्यसका निम्ति शब्दको खोजी हुन थालेको थियो । सोही क्रममा मैले फ्याट्ट भने, ‘चुनाव गराउन नसक्ने अक्षम राख्दा कस्तो होला ?’ ‘अक्षम’ शब्द सबैले मन पराउनुभयो र राजाले सम्बोधन गर्दा त्यही शब्द प्रयोग गरिएको थियो । त्यो ‘अक्षम’ शब्दले देउवालाई भने ठूलो चोट परिरहेको रहेछ । पछि उहाँ राजा ज्ञानेन्द्रकै पालामा प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री हुनुभएपछि राजासँगको भेटमा देउवाले आपत्ति जनाउँदै भन्नुभएछ, ‘मलाई त्यो अक्षम भन्ने शब्द किन प्रयोग गरिबक्सेको हो, सरकार ?’

राजाले पनि जवाफ बक्सेछ, ‘त्यो मैले चयन गरेको शब्द होइन, विवेकले चयन गरेको हो ।’ पछि देउवासँग भेट्दा उहाँले मसँग आपत्ति जनाउँदै भन्नुभयो, ‘त्यो शब्द त तपाईंले चयन गर्नुभएको रहेछ, राजाले मलाई त्यसै भनिबक्स्यो । किन त्यस्तो शब्द चयन गरेर मेरो बदनाम गर्नुभएको हो ?’ 

मैले आफ्नो बचाउ गर्दै भने, ‘तपाईंले राजाको कुरामा विश्वास गर्नुभएछ । के म राजाको भाषण लेख्ने मानिस हुँ र ? छलफलका क्रममा कसले के बोले भन्ने महत्वपूर्ण कुरा होइन, जे आएको थियो, त्यो त राजाबाटै आएको थियो नि !’ 

देउवाले संसद् विघटन गर्दा नेपाली कांग्रेस विभाजित अवस्थामा थियो । हामीले उहाँलाई के प्रलोभन दिएका थियौं भने, ‘संसद् विघटन गरेर चुनाव घोषणा गर्नुस्, तपाईंको नेतृत्वमा चुनाव हुँदा तपाईंको पार्टीभित्र चुनावको माहोल बन्छ, गिरिजातिर गएका कांग्रेसहरू पनि तपाईंसित आउँछन्, तपाईंलाई फाइदा हुन्छ ।’ हामीले पनि चुनावमा देउवालाई सहयोग गर्ने आश्वासनसमेत दिएका थियौं । 

देउवालाई हटाइसकेपछि प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषय स्वाभाविक रुपमा उठ्ने नै भयो । नयाँ प्रधानमन्त्रीका लागि राजाले राजनीतिक दलका नेताहरूसँग परामर्श गर्न थालिबक्सियो । प्रधानमन्त्रीका लागि दरखास्तको आह्वान पनि गरियो । त्यो बेला राजनीतिक दलका नेतामा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबाहेक अरू धेरैले दरखास्त हाल्नुभएको थियो ।

कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषय राजा र दरबारमा रहेका हामी चार जना सचिवबीचको कुरा थियो । दसैंको बेला थियो । प्रधानमन्त्रीमा कसलाई नियुक्त गर्ने भन्ने कुरा चलिरहेकै थियो । एकदिन राजा, युवराज पारस र दरबारका हामी चार जना सचिवबीच कुराकानी भयो । धेरै नेताका नाम आएका थिए । अधिकांशले लोकेन्द्रबहादुर चन्द उपयुक्त पात्र हुन्छ कि ? भनी सुझाव दिए तर चन्दको नाम आउने बित्तिकै राजाले भनिबक्स्यो, ‘चन्दलाई हुँदैन, कीर्तिनिधि विष्टलाई बनाउनुपर्छ ।’

राजाले विष्टको नाम लिएपछि हामीले त्यसमा प्रतिक्रिया जनायौं र भन्यौं, ‘विष्ट अहिले मुख्य राजनीतिक धारबाट टाढा हुनुहुन्छ । अहिले कसैले उहाँको नामको चर्चा, परिचर्चा पनि गरेका छैनन् ।’

राजाले सोधिबक्स्यो, ‘त्यसो भए को हुन्छ त ?’ 

हामीले सबै दृष्टिकोणबाट चन्द नै प्रधानमन्त्रीका लागि उपयुक्त पात्र हुनसक्छ भनी आफ्नो तर्क राख्यौं । त्यो बेला अरू राजनीतिक दलका नेताहरूले पनि आफूलाई प्रधानमन्त्री नबनाए चन्द नै उपयुक्त हुनसक्छ भनिरहेका थिए । चन्दको नाममा राजा पनि सहमत होइबक्स्यो र उहाँ प्रधानमन्त्री बन्नुभयो । 

चन्दलाई प्रधानमन्त्री बनाउने टुङ्गो लागेपछि मन्त्रिमण्डलमा क–कसलाई लैजाने भन्ने विषयमा फेरि हामीबीच छलफल भयो । मन्त्रिमण्डलमा कुनै क्षेत्रमा विज्ञता हासिल गरेका, समाजमा चिनिएका र आफ्नो उचाइ कायम गरेका र स्वच्छ छवि भएका अनुहारहरू समेट्ने कुरा उठ्यो । त्यो बेला राजासँग बस्दा एउटा सूची बन्थ्यो र हामी ‘थिङ्क ट्याङ्क’बीच कुरा हुँदा अर्कै व्यक्तिको नाम आउँथ्यो । 

हामीबीच गृहमन्त्रीमा पूर्ववर्ती समयमा गृहमन्त्री वा गृहसचिव भई राम्रा काम गरेका व्यक्तिहरूलाई ल्याउने कुरा उठ्यो । दरबारमा राजा र सचिवहरूबीच छलफल हुँदा हामीले दुई पात्र गृहमन्त्रीका लागि उपयुक्त हुने ठानेका थियौं– एउटा नारायणमान बिजुक्छे र अर्को पूर्वगृह सचिव वीरबहादुर शाही । बिजुक्छेको नाम हामीले किन पनि रोजेका थियौं भने उहाँ कुनै काण्डहरूमा मुछिनुभएको थिएन र आफ्नो अडानमा दह्रो ढङ्गले उभिनसक्ने राजनीतिज्ञ हुनुहुन्थ्यो । शाही चाहिँ गृहसचिव हुँदा अत्यन्तै राम्रो भूमिका निर्वाह गर्ने व्यक्ति मानिनु हुन्थ्यो । 

हामीबीच सल्लाह भएपछि प्रमुख सचिव पशुपतिभक्त महर्जनले बिजुक्छे र शाही दुवैसामु गृहमन्त्रीका लागि प्रस्ताव राख्नुभएको थियो, तर दुवै जनाले स्वीकार्नु भएन । बिजुक्छेले त ‘गृहमन्त्रीमा मेरो रुचि छैन’ भन्नुभएछ र शाहीले चाहिँ ‘म गृहमन्त्री चलाउन सक्दिनँ’ भन्नुभएछ । 

बिजुक्छे र शाहीले गृहमन्त्री अस्वीकार गर्नु भएपछि गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा हामी तीनजना सम्मिलित ‘थिङ्क ट्याङ्क’मा एकजना व्यक्तिको नाम पारित भएको थियो– दानबहादुर शाही । शरद्चन्द्र शाहले राजासमक्ष बुझाउने बेलामा भने शाहीको नाम काटेर पूर्वअञ्चलाधीश धर्मबहादुर थापाको नाम राख्नु भएछ । हामी तीन जनाबीच छलफल हुँदा गृहराज्यमन्त्रीमा धु्रवबहादुर प्रधानको नाम थियो, तर शाहले दुवै नाम बदलेर पठाउनु भएछ । 

त्यसपछि त ‘थिङ्क ट्याङ्क’को माहोल बिग्रिँदै जान थाल्यो । प्रधानलाई गृहराज्यमन्त्री नदिने हो भने सञ्चार राज्यमन्त्री बनाउनुपर्छ भन्ने कुरा पनि उठेको थियो । शरद्चन्द्रले मन्त्री बन्न दिनेकुरै भएन । किनभने, उहाँ सीमित पद वा घेरामा बस्ने प्रवृत्तिको मानिस हुनुहुन्नथ्यो । 

मन्त्रिमण्डलले पूर्णता पाएको केही समयपछि बुटवलमा एउटा काण्ड भयो । बुटवलमा विद्यार्थीहरूले आन्दोलन गरेको बेला प्रहरी हस्तक्षेप भयो र एकजना विद्यार्थी मारिए । त्यो घटनापछि राजालाई के लाग्यो कुन्नी, गृहमन्त्री र शिक्षामन्त्रीलाई हटाउने इच्छा व्यक्त गरिबक्सियो । बुटवलमा चर्किरहेको आन्दोलनलाई मत्थर पार्न पनि दुवै मन्त्रीलाई हटाउन उपयुक्त हुने ठानियो । 

राजाले मलाई बिहान फोन गरेर सोधिबक्सियोे, ‘यी दुई मन्त्रीलाई हटाउनु पर्‍यो, त्यसका निम्ति के गर्ने ? सुरक्षा निकायहरूसँग पनि कुरा गर ।’ त्यसपछि तत्कालीन गृहमन्त्री धर्मबहादुर थापा र शिक्षामन्त्री देवीप्रसाद ओझालाई हटाइयो । दुवै मन्त्रीले करिब तीन महिनाजति मात्रै कार्यभार सम्हाल्नुभयो । 

गृहमन्त्रीबाट थापालाई हटाइएपछि यो कुरा शरद्चन्द्रलाई चित्त बुझेनछ किनभने थापा उहाँकै सिफारिसमा नियुक्त हुनुभएको थियो । अझ, थापालाई हटाउन मेरो भूमिका छ भन्ने भान शाहलाई परेछ । गृहमन्त्री थापालाई हटाउने भूमिका मैले नै निर्वाह गरेको भन्ने भान पार्ने काम शरद्चन्द्रबाट हुन पुगेछ । यो प्रकरणपछि थापा मसँग निकै झोक्किनुभएको कुरा मैले पनि सुनें । यिनै प्रकरणहरूका कारण शरद्चन्द्र र मबीचको सम्बन्धमा फाटो बढ्दै जान थाल्यो । त्यसपछि शाहले मलाई दरबारबाट हटाउने खेल खेल्न थाल्नुभयो । 

त्यो बेलासम्म हामी तीन जना सम्मिलित ‘थिङ्क ट्याङ्क’ले काम गरी नै रहेको थियो । त्यहीबीचमा एउटा कुरा उठ्यो, तीन जनाको समूहमा केही व्यक्तिलाई थपेर केही विस्तार गर्ने हो कि ? विस्तार गर्दा सेनाका उच्चपदस्थ अधिकृतहरूलाई राख्ने विषयमा सहमति बन्यो, हामीबीच । क–कसलाई थप्दा राम्रो होला भन्नेमा छलफल गर्दा रथीद्वय बालानन्द शर्मा र रुक्माङ्गत कटवाललाई थप्ने कुरा भयो । 

त्यसलगत्तै शरद्चन्द्रको घरमा एउटा बैठक बोलाइयो । बैठकमा शर्मा र कटवाललाई पनि सामेल गर्‍यौं । त्यसभन्दा केही दिन पहिले नै शाह र शर्माबीच भेट भइसकेको रहेछ र शाहले शर्मालाई भन्नुभएको रहेछ, ‘राजाले विवेकलाई निरन्तरता नदिनेजस्तो कुराकानी छ, को होला सैनिक सचिवका लागि उपयुक्त व्यक्ति ?’ 

यो विषयमा शरद्चन्द्रले शर्मासहित २–४ जनासँग कुराकानी गर्नुभएको रहेछ । त्यही दिनको बैठकमा मलाई शर्माले खुसुक्क भन्नुभयो, ‘तपाईंलाई सैनिक सचिवबाट हटाइँदै छ भन्ने सुनें । कुरा के हो ?’ मैले खासै प्रतिक्रिया दिइनँ । 

हामीले थिङ्क ट्याङ्कको जुन टिम बनाएका थियौं, त्यसलाई गोप्य राख्ने सहमति हामीबीच बनेको थियो । राजाबाहेक अरू कसैलाई थाहा नहोस् भन्ने सहमति हामीबीच भएको थियो तर के भइदियो भने त्यो दिनको बैठकमा सहभागी हुनुभएका कटवालले तत्कालीन प्रधानसेनापति प्यारजङ्ग थापालाई त्यस विषयमा जानकारी दिनु भएछ । प्यारजङ्गले मसँग ‘तपाईंहरूको गु्रपको बैठक के भइरहेको छ अचेल ?’ भनेर सोध्नुभयो । त्यसपछिका बैठकमा भने हामीले शर्मा र कटवाललाई सहभागी गराएनौं ।

(पूर्व सैनिकसचिव विवेककुमार शाहको शनिवार सार्वजनिक ‘दरबारबाट देखेको नेपाल’ पुस्तकको अंश)


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement