site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ मौसमी प्रणाली भित्रने सम्भावना, अझै हुनसक्छ हिउँदे वर्षा
फाइल तस्बिर ।

काठमाडौं । यो वर्षको हिउँद अवधि सकिन करिब पाँच दिन बाँकी छ । मौसमविद्का अनुसार हिउँदमा वर्षाको सम्भावना पनि बाँकी नै छ ।

जल तथा मौसम विज्ञान विभागले गएको मंसिर १५ देखि यही फागुन १७ गतेसम्म तीन महिनाको समयलाई हिउँद अवधि भनेको थियो । त्यति बेला विभागले यो अवधिमा हुने हावापानीको आकलन गरेको थियो । तर, अनुमानानुसार वर्षा नभएको मौसमविद् स्वयंले बताइरहेका छन् ।

यो हिउँदमा अझै वर्षा भने हुन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल बताउँछन् । अवधि अझै बाँकी रहेकाले हिउँदे वर्षाको सम्भावना टरेको भन्न नमिल्नेमा उनी जोड दिन्छन् ।

“हिउँद अझै बाँकी छ । वर्षाको सम्भावना पनि छ । टरिसकेको छैन,” उनले बाह्रखरीसित भने, “मौसमी प्रणाली एक/दुई दिन यताउता हुनसक्छ । मोटामोटी अवधि निकाले पनि यही मितिमा हिउँद टुंगिन्छ भन्ने हुँदैन ।”

यो हिउँद अवधिमा थप नयाँ मौसमी प्रणाली भित्रने सम्भावना रहेको उनले जानकारी दिए । त्यसको प्रभावले हल्का वर्षा हुन सक्ने उनको भनाइ छ ।

महाशाखाले आफ्नो वेबसाइटमार्फत तीन दिनको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्ने गर्छ । शनिबार बेलुका जारी बुलेटिनमा हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ । देशभर वर्षा हुने खालको विवरण त्यसमा उल्लेख छैन ।

“अबको ५–१० दिनमा नयाँ सिस्टम भित्रने सम्भावना छ,” उनले भने, “बुलेटिनमा तीन दिनको मात्र उल्लेख गर्ने गरेका छौँ । एक/दुई दिनमा स्पेसल बुलेटिन आउन सक्छ ।”

गएको बिहीबार देशभर हल्का वर्षा भएको थियो । नयाँ प्रणाली भित्रिएको अवस्थामा हिउँद अवधिमै सोही प्रकारको वर्षा हुन सक्ने उनले बताए ।

उनका अनुसार, अब देशभर तापक्रम क्रमशः बढ्दै जानेछ । तापक्रमसँगै मौसमी गतिविधि पनि बढ्ने उनले जानकारी दिए ।

“अब तापक्रम बढ्दै जान्छ । पानी परेपछि एक/दुई दिन चिसो भयो,” मौसमविद् अर्यालले भने, “तापक्रम बढेपछि धेरै खाले मौसमी गतिविधिहरू बढ्छ ।”

विशेष परिस्थितिमा बाहेक यो वर्ष अब तापक्रममा धेरै गिरावट आउने सम्भावना नरहेको उनले बताए । तर, अब तापक्रम नघट्ने निष्कर्षमा अहिल्यै पुग्न नहुने उनले स्पष्ट पारे ।

गएको माघ १४ गते काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको थियो । यो वर्षका निम्ति काठमाडौंमा त्यो नै अहिलेसम्म कम तापक्रम हो ।

“तापक्रम अब घट्दै घट्दैन त भन्न मिल्दैन, चैतमा पनि हिउँ परेको हामीसँग रेकर्ड छ,” उनले भने, “त्यस्तो अवस्थामा बाहेक काठमाडौंमा यो वर्ष तापक्रम २.१ डिग्री सेल्सियसभन्दा तल जाने सम्भावना छैन ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro