site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस आफ्नो मौलिक पहिचानबाट टाढा जान हुँदैन : शेखर कोइराला

गोदावरी । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस रूपान्तरणमा आफ्नो अविचलित यात्रा जारी रहेको बताएका छन् ।

बिहीबार ललितपुरको गोदावारीमा महासमिति बैठकको समापन कार्यक्रममा उनले महासमिति बैठकले नवीन कांग्रस बनाउने संकल्प थप बलियो हुने विश्वास गरे । 

उनले कांग्रेस आफ्नो मौलिक पहिचानबाट टाढा जान नहुने उल्लेख गरे । उनले आम जनतामा केही हुँदैन भन्ने न्यारेटिभ बन्दै गएको पनि बताए ।

"आमजनतामा यो देशमा केही हुँदैन भन्ने न्यारेटिभ हुँदैन भन्ने छ । यसलाई चिर्न पार्टी संठन व्यापक रूपमा परिचालन हुनुपर्छ । आजैबाट जुटौँ," उनले भने ।

हेर्नुहोस् भाषणको पूर्णपाठ

 

नेपाली कांग्रेसका सभापतिज्यू,

पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु,

महासमिति सदस्यहरु,

प्रदेश सभापतिहरु,

र उपस्थित अन्य सहभागी साथीहरु

नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न गरेर हामी सबै आफ्नो कार्यक्षेत्रमा फर्कदै छौं । बैठकमा उठेका राजनीतिक, आर्थिक, सामाजिक लगायत सुशासनका विषयहरुमाथि साथीहरु जुन गम्भिर तरिकाले मौखिक र लिखितरुपमा प्रस्तुत हुनु भयो त्यसले कांग्रेसमा उर्जा र उत्साह थप्ने छ भन्ने मैले विश्वास लिएको छु ।

आज हामी यसरी भेला भएर आफनो कर्मक्षेत्रमा फर्कन थाल्दा म केही भावुक भएको छु । आज हामी सबैले यस पुनित घडीमा विर्सन नहुने कांग्रेस ईतिहासलाई स्मरण गर्नुपरेको छ ।

१. देश बिदेशवाट उर्जा, उत्साह र नयाँ कांग्रेसको सम्भावना बोकेर आउनु भएका महासमिति सदस्यहरुलाई न्यानो जय नेपालको अभिवादन गर्दै भविष्यको कांग्रेस कस्तो र कसरी निर्माण गर्ने भन्ने सन्दर्भमा यो बैठकले एउटा ठोस दिशा प्राप्त गरोस भनी बृहत छलफल, बहश र बिवादले कांग्रेसको आन्तरिक जीवनमा जीवन्तता प्रदान गर्नेछ भन्ने बिश्वास लिएको छु ।

र लोकतान्त्रिक आन्दोलनमा लागेर अनेकन् दुःखकष्ट, बलिदान, प्रवासको कठोर जीवन, जेलनेलको यातना र आन्दोलनको क्रममा अविचलित भएका साथीहरुप्रति श्रद्धा, सम्मान र गौरव गर्दछु ।

२. महासमितिको यो बैठक समापन भईरहदा आन्दोलनमा लागेर यथोचित सम्मान पाउन नसकेकाको खोजी गरेर तिनको उचित मूल्यांकन गर्ने कार्य र त्यस्ता व्यक्ति, घटना र मोडहरुको खोजी, अनुसन्धान गरी लिपिबद्ध गरेर राख्ने कामको थालनी होस् ।

३. इतिहासका ती गौरवशाली क्षण र त्यसलाई दिशा निर्देश गर्ने नेताहरुको स्मरण गर्दै हाम्रा अग्रजहरुले राष्ट्र निर्माणको लागि हामीलाई सुम्पिएका अभिभारा सफलतापूर्वक सम्पन्न गर्न सकौँ भनी हामी सबैै आफ्नो कर्म क्षेत्रमा संकल्पका साथ फर्कदै छौँ ।

४. मलाई विश्वास छ महासमितिको बैठक पछि हामी नयाँ कांग्रेसको भावना सहित उर्जावान भएर आफनो राजनीतिक कर्मभूमिमा फर्कने छौँ र कांग्रेसको आदर्श, मूल्य र मान्यतालाई आम नागरिकविच स्थापित गराउन कुनै कसर वाँकी राख्ने छैनौं । यो अठोट गर्दा हामी कहाँ चुक्यौँ र किन हामीले राष्ट्रको अपेक्षा अनुसार हाम्रो देश नेपाललाई बस्न योग्य बनाउन सकिरहेका छैनौँ भनी चिन्ता मात्र होइन चिन्तन गर्न यो महासमितिवाट हामीलाई प्रेरणा मिलेको छ ।  

५. कांग्रेस पार्टी आफ्नो इतिहासप्रति गौरव गर्दै वर्तमानलाई आकार दिएर भविष्यन्मूख भएरै अगाडि बढ्ने सन्देश महासमितिवाट प्राप्त भएको छ । एकातिर इतिहासप्रतिको जिम्मेवारी अर्कोतिर वर्तमान पुस्ताको समस्या सम्बोधन गर्दै भावी पुस्तालाई पार्टी विचार, मूल्य र आदर्शसंग अवगत गराउने सोच नै कांग्रेस भावना हो, विपी विचार हो भनी म बुझ्दछु । तसर्थ पार्टीको गुमेको मूल्य, पद्धति, विचार र आदर्शलाई पुर्नस्थापित गर्दै पार्टीको आन्तरिक जीवनमा कसरी पूर्नजागरण प्रवाह गर्ने भन्ने चिन्तालाई सम्पूर्ण कांग्रेसजनको सामुहिक चिन्ता मात्र होइन चिन्तन बनाएर लैजानुपर्ने आजको चुनौति छ । यसको लागि एकतावद्ध हुँदै अब अगाडि बढ्नुको विकल्प छैन । एकताका आधारहरु निर्माण गर्नुपर्ने दायित्व अझै हामी सबैको काँधमा छ । मेरो सारा प्रयत्न यसैमा छ र म चाहन्छु एकपटक इतिहासतर्फ फर्केर हाम्रा दिवगंत नेताहरुलाई साक्षी राखेर संकल्पका साथ अगाडि बढ्दा हामी एकतावद्ध भएर ठिक बाटो पहिल्याउन सक्छौँ ।

६. देशभित्र उठेका मुद्दाहरु र पार्टीलाई सुधार गर्ने विषयहरु माथि हामीले गम्भिर बहश र विचार राख्यौँ । कांग्रेसको गौरवशाली इतिहासलाई अक्षुण्य राख्न साथीहरुबाट अनेकन् सुझाबहरु पनि आए । भविष्यको कांग्रेस कस्तो हुने र कसरी अगाडि बढ्ने भन्नेबारे पनि सकारात्मक सुझावहरु आए ।

७. मैले धेरै पहिलेदेखि भन्दै आईरहेको छु । कांग्रेस आफ्नो मौलिक पहिचानबाट पर जान हुँदैन । त्यो भनेको कांग्रेसले आफ्नो मूल्य मान्यता र आदर्शप्रति अबिचलित रहेर देश र देशवासीको रुपान्तरण गर्ने हो । कांग्रेसको समर्थन क्षेत्रलाई विस्तार गर्ने हो । कांग्रेस खुम्चिनु भनेको देशमा लोकतन्त्रको बिस्तार अवरुद्ध हुनु हो । म ती साथीहरुको भावना र विचारसँग सहमत हुँदै कांग्रेस देशव्यापीरुपमा सशक्त भएर आफ्नै विचार, संगठन र कार्यकर्ताको विश्वास र भरोसामा लोकप्रियरुपमा स्थापित गर्न सकिन्छ भन्ने विचार राख्दछु । अर्थात मुख्य कुरा आम नागरिकलाई लोकतन्त्रको माध्यमवाट देशमा सुख, समृद्धि र सुशासन हुन्छ भन्ने प्रत्याभूति दिलाउनु रहेको छ । लोकतन्त्रको पर्यायवाची कांग्रेस भएकोले स्वभाविकरुपमा यो कार्यभार कांग्रेसको काँधमा आएको छ ।

यो बैठकमा ४ वटै समुहमा व्यापक छलफल भएको छ । महासमिति साथीहरुको भावनालाई प्रतिबिम्बित हुने गरी केन्द्रीय कार्यसमितिबाट परिमार्जन गरिने छ । यसै सन्दर्भमा हालको निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सबै राजनीतिक दलहरुसँग संवादको लागी नेपाली कांग्रेसले पहल गर्ने छ ।

८. आम नागरिक आर्थिक कठिनाई, महंगी, बेरोजगारी, दण्डहिनता, भ्रष्टाचार, र कुशासनले आक्रान्त छन । निश्चय नै यस्तो कोलाहलपूर्ण अवस्थाले हामीलाई सुध्रिने र सच्चिने दबाब दिइरहेको छ भनी मैले बारम्वार भन्ने गरेको छु । कांग्रेसले इतिहासमा कैयन पटक आफुलाई नागरिक भाव अनुसार परिमार्जन र सुधार गर्दै मुलुकको आर्थिक र सामाजिक चेतनालाई सम्बोधन गरेको छ र यो पटक पनि कांग्रेसले आफु भित्रको लोकतान्त्रिक चरित्रलाई नेपाली जनतामाझ प्रस्तुत गरेको छ ।

९. तर मैले यसो भनीरहँदा विगत साढे तीन दशकको लोकतान्त्रिक समय हामीले पूणर्रुपमा खेर फालेका छौँ भनी शिर झुकाउनु पर्ने कुनै कारण छैन । यस विचमा लोकतान्त्रिक समाजवाद निर्माणको यात्रामा हामीले केही सफलता प्राप्त गरेका छौँ भनेर भन्ने आधार छन । खासगरी सामाजिक पूर्वाधारको क्षेत्रमा र नागरिकको सचेतनाको वृद्धिलाई लिएर दक्षिण एसियामा हामी खराव अवस्थामा छैनौँ ।

१०. पार्टीमा निष्ठावान, निस्वार्थ र संघर्षशिल साथीहरु ओझेलमा परे भन्ने आम गुनासो छ । पार्टीमा अवसरको न्यायोचित बितरण हाम्रो सामु चुनौतीको रुपमा खडा भएको छ । यसलाई उचित ढंगले सम्बोधन गर्दा पार्टीमा उर्जा प्रस्फुटन हुन्छ भन्ने कुरा मैले बुझेको छु ।

११. पार्टी संगठन मेशिन हो, मेशिन चलाउने कार्यकर्ताहरु पार्टीको रिडका हड्डी हुन । नेताहरु पार्टीका मूल्य, मान्यता, विचार र आदर्श वोक्ने सन्देश प्रवाह गर्ने संवाहक हुन । यि पक्षहरुको संयोजन र व्यवस्थापन गरेर अगाडि बढ्दा पार्टीको चक्का अगाडि बढ्छ । हामी जो नेतृत्व तहमा छौँ । हाम्रा विचार, व्यवहार र जीवनशैलीबाट कार्यकर्ताहरुले उर्जा र उमंग प्राप्त गर्छन । महासमितिको यो बैठकमा यसबारे साथीहरुले गम्भिरतापूर्वक आफ्नो विचारहरु प्रकट गर्नुभयो ।

अन्तमा,

आम जनतामा गम्भिररुपमा “यो देशमा केही हुँदैन” भन्ने न्यारेटिभ निर्माण भएको छ । यो निराशाको न्यारेटिभलाई चिर्न राज्य संयन्त्रमात्र पर्याप्त छैन, पार्टी संगठन व्यापकरुपमा परिचालित भई यो देशवासीको सुन्दर भविष्य निर्माण गर्ने कांग्रेस हो भन्ने अभियानमा हामी सबैै आजैबाट जुटौँ ।

महासमिति बैठकमा उपस्थित भएर आफ्नो अमुल्य मत र सहभागिता जनाउनु भएका सबैलाई म ह्रदयदेखी आभार व्यक्त गर्दछु, साथै कांग्रेस रुपान्तरणको मेरो अबिचलित यात्रा जारी छ भन्ने प्रण पनि तपाईहरु समक्ष गर्दछु । जय नेपाल ।

 

डा. शेखर कोइराला

२०८० फागुन १०

गोदावरी, ललितपुर

 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro