site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘टिकटक बन्द गर्नु कानुनभन्दा बाहिरको विषय हो, नखोली सुखै छैन’

पोखरा । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको करिब साढे तीन महिना हुन लाग्यो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले कात्तिक २७ गते त्यसलाई बन्द गरेको जनाएको थियो ।

त्यसपछि टिकटक बन्दको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दा अझै विचाराधीन छ ।

पछिल्लोपटक टिकटकले नै सरकारलाई पत्र लेख्दै सर्त मान्न तयार रहेको जनाएको छ छ । टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति केहीले समर्थन जनाए । केहीले सरकारको निर्णयको विरोध गरे ।

मानवअधिकारको प्रवद्र्धन र संरक्षणमा केन्द्रित अधिकारकर्मी सन्तोष सिग्देलले नेपालमा टिकटक बन्द गर्नु यहाँको कानुनले गरेको व्यवस्थाभन्दा बाहिरको विषयवस्तु भएको जिकिर गरे ।

पोखरा फेवाताल किनारमा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलअन्तर्गत तेस्रो दिन ‘संकटमा अभिव्यक्ति स्वतन्त्रता’ विषयक सत्रमा अधिकारकर्मी सिग्देलले प्लेटफर्म नै बन्द गर्ने कुनै कानुन नबनेको स्पष्ट पारे ।

“अहिले जसरी अभिव्यक्तिको साधनको रूपमा प्लेटफर्म, वेबसाइटहरू बन्न गरिन्छन्, त्योचाहिँ नेपाली कानुनले गरेको व्यवस्थाभन्दा बाहिरको विषयवस्तु हो । अभिव्यक्तिलाई नियमन गर्न पाइयो, तर प्लेटफर्मलाई पूरै बन्द गर्न पाइएन । त्योचाहिँ व्यवस्था छैन,” उनले भने, ‘‘टिकटकको कुरा गर्ने हो भने हामी प्लेटफर्मलाई नियमन गरिरहेका छौँ कि अभिव्यक्तिलाई नियमन गरिराखेका छौँ भन्ने प्रश्न आउँछ । कानुनले अभिव्यक्तिलाई नियमन गर्न नियम बनाएको छ । तर, नेपालमा अहिलेसम्म प्लेटफर्मलाई नियमन गर्नका लागि के गरी नियमन गर्ने भन्नेबारे कानुन छैन ।”

मिडियाविज्ञ कुन्दन अर्याल टिकटकलाई प्रतिबन्ध लगाउँदा गरिएको तर्क संविधान र कानुनअनुरूप नरहेको बताउँछन् । “टिकटकलाई प्रतिबन्ध लगाउँदा जुन तर्क दिइएको छ, जुन तर्क हाम्रो संविधान र कानुनले सपोर्ट गर्दैन । अदालतमा गएर अड्किएको छ । तर, म त भर्खर–भर्खर ब्यान्ड भएको बेला पनि आशावादी थिएँ,” उनले भने ।

यसलाई खुला नगरी सुखै नहुने अर्यालको तर्क थियो । “यसलाई ओपन नगरीकन सुखै छैन । जति ठाउँमा ब्यान्ड भएको छ, यो कुनै प्रजातन्त्रका मानकहरू राम्रो ठाउँमा ब्यान्ड भएको होइन । हामीले त्यस्तो देशहरूको उदाहरण दिनु हुँदैन । अब लाग्छ, आगामी समयमा यो खुला हुन्छ हुन्छ,” उनले भने  ।

यो प्लेटफर्ममार्फत पहिचान बनाएकी अन्जनाकुमारी अर्यालले टिकटक बन्दपछि व्यापारमा कमी आएको बताइन् । “भर्खर व्यापार सुरु गरेको थिएँ, अचानक टिकटक बन्द भएपछि दुईतीन दिन खिन्न भएकी थिएँ । पछि अरू प्लेटफर्म पनि प्रयोग गरेँ,” उनले भनिन्, “टिकटकजस्तो फ्लोचाहिँ हुँदैन । हामीले टिकटकमा भिडियो राख्दाखेरि जसरी अर्डरहरू आउँथ्यो नि, त्योचाहिँ कमै छ ।’

प्लेटफर्म आफूले जस्तो प्रयोग गर्‍यो त्यस्तै हुने अर्यालले सुनाइन् । “आफूले राम्रो गर्‍यो भने राम्रो पाइन्छ । टिकटक राम्रो पनि छ, नराम्रो पनि छ,” उनले भनिन् ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro