site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अनुगमनमा पुगेका मन्त्रीलाई यातायातका प्रमुखले भने– तपाईं गइहाल्नुस् !

विराटनगर । “तपाईं को हो, किन यहाँ उभिरहनुभएको ? कसले उभिन भन्यो ? उता जानुहोस्,” यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईं गर्जिए ।

मुखमा मास्क लगाएका व्यक्ति टसमस गरेनन् । सुन्दरहरैँचा गाउँपालिकाको बाँसबारीस्थित ट्रायल सेन्टरमा आइतबार अपराह्नको यो कुराकानी यतिमै रोकिएन ।

प्रसाईं ती व्यक्तिको नजिकै आएर फेरि ‘गइहाल्नुस्’ भन्दै कड्किए । यसअघि, प्रहरीले नजिकै उभिएका अरू सेवाग्राहीलाई पर जान भनिरहेका थिए । प्रसाईंले ‘पर जानू’ भन्दै आग्रह गरेका व्यक्ति ट्रयाल सेन्टरको टहरोबाट तल ओर्लिए ।

मुखमा लगाएको कालो मास्क खोलेर उनले आफ्नो परिचय दिए । आफू कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई भएको उनले बताए ।

मन्त्रीको परिचयपछि यातायातका निमित्त प्रमुख प्रसाईं अक्क न वक्क भए । त्यसपछि मन्त्री राईसँगै गएका मन्त्रालयका इन्जिनियरले ‘ट्रयालमा उत्तीर्ण र अनुत्तीर्ण भएकाहरूको नामावली पछाडि किन विवरण उल्लेख नगरेको ?’ भन्दै प्रश्न गरे ।

प्रसाईंले ‘केही विवरण मिलाउनुपर्ने भएकोले त्यो पछि गर्ने तयारी गरेको’ सुनाए । ट्रायल प्रक्रियामा प्राविधिक नराखेको र तत्कालै पासफेल विवरण नराख्नु विधिसम्मत नभएको इन्जिनियरले बताए ।

i1-1707653979.jpg
मन्त्री राई बोलेनन् । तर, इसारा गर्दै प्रक्रियाअनुरूप काम गर्न उनले यातायातका प्रमुखलाई सुझाए । त्यसपछि त्यहाँ खटिएका कर्मचारीले फटाफट उत्तीर्ण परीक्षार्थीको नामको दायाँ ‘पास’ र अनुत्तीर्णको पछाडि ‘फेल’ लेख्न थाले ।

आफू सर्वसाधारणजस्तै बनेर उनीहरूले ट्रयाल दिँदा के कस्तो समस्या भोग्नुपर्ने रहेछ भन्ने बुझ्न अनुगमनमा गएको मन्त्री राईले बताए । “कर्मचारीको व्यवहार कस्तो हुने रहेछ भन्ने बुझ्न म अनौपचारिक भेषमा मास्क लगाएर यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टर पुगेको हुँ,” उनले भने, “त्यहाँ हुने गरेको कमजोरी र गलफदी मैले आफ्नै आँखाले प्रस्ट देखेँ । अबदेखि गल्ती नगर्न निर्देशन दिएको छु ।”

अनुगमनमा जाँदा मन्त्री राईले आफ्ना सुरक्षाकर्मी र सचिवालयका कर्मचारीलाई समेत अनौपचारिक पोसाक लगाउन भनेका थिए ।

आइतबार स्थानीय केशर बस्नेतले सिटी सफारीको लाइसेन्स लिन ट्रायल गरेका थिए । ट्रयाल दिँदा एक कर्मचारीले ‘लाइन छोएको’ भनेको उनले सुनाए । अर्को कर्मचारीले ‘ठिक छ’ भनेको उनको भनाइ छ ।

“दुईजना कर्मचारीमध्ये एकले लाइन छोयो भन्नुभयो, अर्कोले ठिक छ भन्नुभयो,” उनले भने, “उसो भा म पासफेल के भएँ भनेर सोध्दा अहिले जानुहोस् भन्नुभयो ।”

निमित्त प्रमुख प्रसाईंले यातायात कार्यालयले सकेसम्म सेवाग्राहीलाई झन्झट नदिने प्रयास गर्दै आएको जिकिर गरे । उनले भने, “फेसबुक पेज पनि बनाएका छौँ । त्यसमा परीक्षा, ट्रायल आदि सबै विषयमा जानकारी राखिदिने गरेका छौँ ।”

इटहरी कार्यालयले महिनामा पाँचपटक ट्रायल गराउने गर्छ । त्यसमा हलुकादेखि ठूला सवारीसाधनको पनि ट्रायल गराइन्छ । एकपटकमा १५० देखि २०० जनासम्मले ट्रायल दिन्छन् । बायोमेट्रिक भएको चार दिनमा ट्रायल हुन्छ । एक दिन रिट्रायल गर्ने प्रबन्ध समेत गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro