
काठमाडौं । भारतीय ब्याट्सम्यान विराट कोहलीले कर्नाटक राज्यको राजधानी बैंगलुरुको घटनाले आफूलाई पूर्ण रूपमा आहत बनाएको बताएका छन् ।
चिन्नास्वामी क्रिकेट रंगशालाबाहिर बुधबार आईपीएल फाइनल खेलपछि भएको भागदौडमा ११ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए ।
कोहलीले इन्स्टाग्राममा रोयल च्यालेन्जर्स बैंगलुरुको तर्फबाट पोस्ट जारी गर्दै भने, “मसँग भन्न शब्द छैन । पूर्ण रूपमा भाव विह्वल भएको छु ।”
भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट उनको कार्यालयले एक्समा पोस्ट गर्दै लेखेको छ, “बैंगलुरुको घटना अत्यन्त दुःखद् छ । यस दुःखद् घडीमा मेरा समवेदना प्रभावित परिवारहरूसँग छन् । म घाइतेहरू चाँडो निको हुने कामना गर्दछु ।”
एक लाखभन्दा बढी क्रिकेट प्रशंसकहरू रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)को जीतको खुसी मनाउन रंगशालाबाहिर जम्मा भएका बेला उक्त घटना भएको बताइएको छ ।
आरसीबी टिमलाई स्वागत गर्न र १८ वर्षपछि आईपीएल ट्रफी जितेको उत्सव मनाउन युवा, महिला, पुरुष र वृद्धहरू समेत सडकका किनारमा उभिएका थिए ।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार चिन्नास्वामी रंगशालाको गेट नखुलेको कारण ठूलो संख्यामा मानिसहरूले सानो गेटलाई धकेल्ने प्रयास गदैगर्र्दा गेटमा भगदौड भएको थियो ।
कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले पत्रकार सम्मेलन गरेर यो घटनाको ‘मजिस्ट्रेट जाँच’ गराइने घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।