site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अपराध गरेर भागेकामाथि धमाधम नोटिस, कस्तो अवस्थामा कुन नोटिस जारी हुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) ले पछिल्लो समय नेपालमा अपराध गरी फरार रहेकाहरूविरुद्ध ‘रेड नोटिस’ जारी गर्ने क्रम तीव्र बनाएको छ ।

फेब्रुअरी २ मा इन्टरपोलले ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना प्रकरणमा फरार तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानले सुमेरू सहकारीमा करिब ३५ हजार बचतकर्ताको १० अर्ब भन्दाबढी रकम महर्जनले हिनामिना गरेको देखाएको छ ।

महर्जन नेपालमा नरहेको निष्र्कषसहित सीआईबीले नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंमार्फत् इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गर्न पत्राचार गरेको थियो ।  त्यही पत्राचारका आधारमा उनीविरुद्ध नोटिस जारी भएको हो । महर्जनविरुद्ध नोटिस जारी भए लगत्तै ६१ किलो सुन तस्करीमा जोडिएकी रोल्पाकी अमला रोका मगरको नाममा समेत ‘डिफ्युजन नोटिस’ जारी भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

साउन २ मा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट ६१ किलो सुन बरामद गरेको घटनामा संलग्न कमला रोका हालसम्म फरार छन् ।  उनी त्यही सुन तस्करी अभियोगमा पक्राउ परेका बेल्जियममूलका तिब्बतीयन नागरिक दावा लामाकी श्रीमतीसमेत हुन् ।

उनीहरूले ठमेलस्थित होटल भियना सञ्चालन गरेका  छन् । दावा भने घटनालगत्तै पक्राउ परेका थिए । उनी हाल पुर्पक्षका लागि थुनामा छन् । कमलालाई डिफ्युजन नोटिस जारी गरेर खोजी गर्नुपर्ने अवस्थामा प्रहरी पुगेको हो ।

Global Ime bank

केही दिन अघिमात्रै पोखराका सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्र राई (जीबी) सहकारीका पूर्वअध्यक्ष भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध पनि इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।

डिफ्युजन नोटिस जारी भएकाहरूमाथि प्रहरीले रेड नोटिस जारीका लागि थप प्रक्रिया अघि बढाएको छ । यीबाहेक इन्टरपोलले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड नोटिस जारी गरिसकेको छ ।

उनीमाथि बचतकर्ताको एक अर्ब ३१ करोडभन्दा बढी रकम हिनामिना गरी फरार रहेको आरोप लागेको छ ।  प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार, सन् १९९१ यता इन्टरपोलले पाँच सय १४ जनाविरुद्ध यसरी नोटिस जारी भइसकेका छन् ।

जसमध्ये १ सय ६८ जनाविरूद्ध रेड नोटिस, १ सय ३ जनाविरूद्ध डिफ्युजन नोटिस, २४ विरूद्ध एल्लो नोटिस, एक जनाविरूद्ध ब्ल्यू नोटिस, एकविरूद्ध ब्ल्याक नोटिस र एक विरुद्ध पर्पल नोटिस जारी भएको छ ।

यसमध्ये केही विदेशी नागरिक समेत रहेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालको भनाइ छ ।

एक महिनामै चार जनालाई ल्याइयो नेपाल

इन्टरपोलबाट रेड नोटिस जारी भएका पाँच दिनभित्रै खोटाङका १९ वर्षीय किरण राई कतारमा पक्राउ परे । २० पुुसमा रेड नोटिस जारी भएका राईमाथि जबरजस्ती करणी मुद्दा लागेपछि फरार थिए । एनसीबी दोहाको समन्वयमा उनलाई कतारमा पक्राउ गरी २५ पुसमा नेपाल ल्याइएको हो । उनीबाहेक पुस महिना थप दुई दुबई र एक कुवेतमा पक्राउ गरी ल्याउँदै कानुनी सजायँको दायरामा पारिएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार, हालसम्म विभिन्न देशबाट ४७ नेपालीलाई इन्टरपोलको मद्दतमा पक्राउ गरेर नेपाल ल्याइएको छ । जसमध्ये सबैभन्दा बढी युएईबाट १९ र कतारबाट ९ जनालाई पक्राउ गरेर नेपाल ल्याइएको छ । 

त्यस्तै साउदी अरेबियाबाट ३, भारत र कुबेतबाट ३/३, मलेसिया÷मकाउ र चीनबाट २/२ र थाइल्याण्ड/क्यानडा/युएसए/पोर्चुगल तथा बहराईनबाट १/१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी नेपाल फिर्ता ल्याएको छ । उनीहरू विभिन्न अपराधमा संलग्न भएर नेपाल छाडेर विदेशी भूमिमा पुगेका थिए ।

कहाँ छन् जीबी, महर्जन र देवकुमार ?

इन्टरपोलले रेड नोटिस जारी गरेका अधिकांश आरोपीहरू नेपाल बाहिर लुकेर बस्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

हाल रेड नोटिस जारी भएका पोखराका सूर्यदर्शन सहकारी तत्काल अध्यक्ष जीबी राई, सुमेरु सहकारीका तल्कालीन अध्यक्ष भरत महर्जन र बागलुङस्थित इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली समेत विदेश भागेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

देवकुमार नेपाली भारतमा लुकेको आशंका प्रहरीको छ । भरत महर्जन बेलायत तथा गितेन्द्रबाबु राई (जीबी) मलेसियामा रहेको आंशका प्रहरीको छ ।

इन्टरपोलको नोटिससँगै एनसीबी काठमाडौंले उनीहरू रहेको आशंका गरिएका देशको प्रहरीसँग चासो राख्न थालेको छ । प्रहरी स्रोतका अनुसार, इन्टरपोलले नोटिस जारी गरेसँगै उनीहरू हवाई मार्गबाट एक देशबाट अर्को देश जाने बाटो बन्द भएको छ ।

उनीहरूबारे देशको अध्यागमनमा सूचना पुगिसकेको हुन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार, नोटिस जारी भएकाहरू यूरोप, अमेरिका पुगेको खण्डमा त्यहाँबाट पक्राउ गरी नेपाल झिकाउन भने कानुनी जटिलता हुने प्रहरीको भनाई छ । खाडीका देशबाट भने पक्राउ गरी नेपाल ल्याउन सजिलो हुन्छ ।

कस्तो अवस्थामा कुन नोटिस जारी हुन्छ ?

इन्टरपोलले अपराध भएको सम्बन्धित देशको प्रहरीको पत्राचारपछि विभिन्न सात प्रकारका नोटिस जारी गर्नेगर्छ । जसमध्ये अदालतबाट वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजीका लागि रेड नोटिस र अनुसन्धानकै क्रममा रहेका आरोपीहरूमाथि ‘डिफ्युजन नोटिस’ जारी गर्छ ।

शवको पहिचान गर्न ‘ब्ल्याक नोटिस’, हराएका मानिसको खोजीका लागि ‘एल्लो नोटिस’, अपराधीले अपराध गर्न प्रयोग गरेका हतियार, बिष्फोटक प्रदार्थ तथा खतराजन्य अन्य चिजवस्तु लुकाएको स्थानबारेमा जानकारी दिन ‘ओरेन्ज नोटिस’ जारी गर्दै आएको छ ।

आपराधिक कार्यविधिबारे जानकारी दिन ‘पर्पल नोटिस’, व्यक्तिको आपराधिक क्रियाकलापकबाट सार्वजनिक सुरक्षामा हुनसक्ने सम्भावित खतराबारे जानकारी गराउन ‘ग्रीन नोटिस’ तथा अपराधमा संलग्न व्यक्तिको खोजतलास तथा जानकारी प्राप्त गर्न ‘ब्लु नोटिस’ जारी हुने गर्छ ।

सन् १९२३ मा स्थापना भएको इन्टरपोलमा हाल १ सय ९६ राष्ट्रहरू सदस्य छन् । नेपाल इन्टरपोलको १००औँ सदस्य राष्ट्र हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement