विराटनगर । 'के अहिले नेपालमा लोडसेडिङ छ ?' धेरैको जवाफ हुन सक्छ– ‘अहँ छैन ।’
तर, कोसी प्रदेशमा लोडसेडिङ चलिरहेको छ । अपत्यारिलो लागे पनि कोसीमा दैनिक आठ घण्टा बिजुली जान्छ । आम उपभोक्तातर्फ बेलाबेला छोटो समयलाई बिजुल काटिन्छ । ट्रिपिङ हुँदा छोटो समय जान्छ । यसबाट उपभोक्तालाई तुलनात्मकरूपमा कम असर पर्न सक्छ । तर, दैनिकको लोडसेडिङले औद्योगिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले देशभर लोडसेडिङ नभएको दाबी गर्छ । औपचारिकरूपमा सूचना प्रकाशन गर्दैन । त्यही भएर सर्वसाधारणलाई लोडसेडिङबारे जानकारी पनि छैन । विगतमा तालिकाबारे अग्रिम जानकारी दिइन्थ्यो । तर, त्यसबेगरै सुनसरी–मोरङ औद्योगिक करिडोरमा लोडसेडिङ भइरहेको छ । यसको मार ठूला उद्योगमा १२ घण्टा जत्तिकै परिरहेको उद्योगीको भनाइ छ ।
प्राधिकरणले लोडसेडिङको यो अवस्थालाई ‘औद्योगिक क्षेत्रलाई गरिएको अनुरोध’ भन्दै अर्थ्याउने गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण दुहबी ग्रिडका प्रमुख रोशन खड्का भन्छन्, “उहाँहरूलाई साँझ र बिहान चाँहि अनुरोध गरेका छौँ । रातभरि लाइन दिएका छौँ । बिहान अनुरोध गरी ७ देखि ११ र साँझ ५ देखि ९ बजेसम्म बिजुली काटिन्छ ।”
आपूर्तिमै आएको कमीका कारण औद्योगिक क्षेत्रलाई चाहिने बिजुली दिन नसकेको उनको स्वीकारोक्ति छ । उनले उत्पादन वृद्धि हुँदा अथवा उपभोक्तातर्फको मागमा कमी हुन गए औद्योगिक क्षेत्रलाई बढाउन सकिने बताए ।
के भन्छन् उद्योगी ?
औपचारिकरूपमा लोडसेडिङसमेत नभनी कटौती हुने आठ घण्टाको असर १२ घण्टाजत्तिकै पर्ने गरेको नेपाल उद्योग संगठ मोरङका अध्यक्ष राकेश सुरानाले बताए ।
“ठूला स्टिल, सिमेन्ट र प्लास्टिक उद्योग ठूलो मारमा परिरहेका छन् । बिजुली जाने समस्याका कारण उद्योगीलाई श्रमिकको समय तालिका मिलाउन हम्मेहम्मे भएको छ । अर्कातिर उत्पादन लागत पनि बढ्दो छ,” उनले भने ।
समस्याबारे सरकारलाई बारम्बार ध्यानाकर्षण गरिएको संगठनले जनाएको छ ।
नेपाल उद्योग परिसंघ कोसी प्रदेश अध्यक्ष पवन शारडाले प्राधिकरणले पहिले भारतबाट समेत विद्युत् खरिद गरी गर्जाे टार्ने गरेको तर अहिले त्यसतर्फ खासै ध्यान नदिएको आरोप लगाए ।
“उताबाट किन्ने गरेको थियो । अहिले अलिक फरक परेको छ । प्राधिकरण खरिद गर्दा नोक्सानीमा जाँदैन । नाफा नोक्सान नहेरी काम गर्नुपर्छ,” शारडाले भने, “प्राधिकरणलाई किन धेरै नाफा चाहिएको हो ? बुझ्न सकिएन । औद्योगिक असर नहेरेर हुन्छ ? ।”
शारडाले मजदुरको सिफ्ट कसरी मिलाउने भन्ने चिन्तमा उद्योगी रहेको सुनाउँदै अघोषित लोडसेडिङ मिलाउन केही नोक्सान सहेर भएपनि प्राधिकरणले भारतबाट बिजुल खरिद बढाउनुपर्ने सुझाव दिए ।
“अरू सिजन त कमाएकै छ नि । उद्योगलाई जसरी पनि २४ घण्टा दिनुपर्छ । जनतालाई बिहानको समयमा धेरै विद्युत् नचाहिन सक्छ । त्यो मिलाउन सकिन्छ । उद्योगको समस्याबारे जनतालाई पनि थाहा हुनुपर्छ । हामीलाई तीन घण्टा नपुगेको हो भन्ने उनीहरूले पनि बुझ्न जरुरी छ । त्यो गर्दा उद्योगमा बढ्ने थियो,” उनले भने ।
प्राधिकरणले विद्युत् कटौती हुने सूचना अनौपचारिकरूपमा उद्योगीहरूको सामाजिक सञ्जालसम्बद्ध ग्रुपहरूमा सेयर गर्छ । यसबाट उद्योगले के कति श्रमिक व्यवस्थापन गर्ने भन्ने योजना नै बनाउन पाउँदैनन् । खासमा उद्योगहरू २४ घण्टा सञ्चालन गर्दा श्रमिकको सिफ्ट मिलाइएको हुन्छ । सोहीअनुरूप श्रमिकको व्यवस्थापन गरिन्छ । तर, औद्योगिक क्षेत्रको लोडसेडिङले उत्पादन र आपूर्ति चक्र नै चौपट भएको बताइन्छ । उद्योगी विलखबन्दमा परेको र ‘श्रमिक राख्ने कि बिदा गरिदिने ?’ भन्ने भएको उद्योगी शारडाले सुनाए ।
‘लु अब काटेँ’ भनेर आधा घण्टापछि नै काटिहाल्ने गरेको बताउँदै एक स्टिल उद्योग सञ्चालकले भने, “फलाम पगाल्ने प्रविधि भएका उद्योगमा बिजुली जानु एक घण्टाअघि नै भट्टी पगालिएको फलामबाट आवश्यक उत्पादन गरिसक्नुपर्छ । बिजुली आएको एक घण्टासम्म त फलाम पगाल्ने प्रक्रिया सुरु हुन नै समय लाग्छ ।”
कोसीमा सुनसरी–मोरङ औद्योगिक करिडोरभित्रै कटहरी, बुढीगंगा र दुहबी करिडोर पर्छन् । ती क्षेत्रमा फरक फरक फिडरबाट विद्युत् वितरण हुन्छ । यही क्षेत्रमा बढी उद्योग छन् ।
घरायसी उपभोक्ताको माग पूरा भने भइरहेको तर औद्योगिक क्षेत्र भने लोडसेडिङका कारण थिलथिलो भएको सुनाउँदै ती स्टिल उद्योगीले भने, “मिल मेसिनरीमा पनि असर गरेको छ । दुई घण्टा अगाडि नै जानकारी गराउँदा हामीलाई केही सहज हुने थियो । फलाम र प्लास्टिकका उद्योग बढी प्रभावित भएका छन् । कम्पिरेटिभ एभरेज बिजुली नै हो । डिजेल जेनेरेटर सञ्चालन गर्दा प्रतियुनिट ३६ रुपैयाँसम्म खर्च हुन्छ ।”
कोसीका आद्योगिक करिडोरमा पशुपति, हुलास, मैनावत्ती, आरती, प्रिमियर, स्वस्तिक, रिलायन्सलगायत फलाम उद्योग सञ्चालित छन् । तीमध्ये सबैभन्दा ठूलो आरती स्ट्रिप्स हो ।
एकै ठाउँ मिसिन्छ पूर्वपश्चिमको बिजुली
नेपाल विद्युत् प्राधिकरण दुहबी ग्रिडका प्रमुख रोशन खड्काका अनुसार कोसीमा दैनिक माग २६० देखि २७० मेगावाट छ । तर, पिक आवरमा २७५ मेगावाट माग हुन्छ । दैनिक १८० मेगावाट जति बिजुली आउँछ ।
यसको स्रोत पश्चिमबाट भारतको मुजफरपुर–ढल्केबर हो । पूर्व काबेली कारिडोरबाट पनि आउँछ । कमी भएको ९० देखि १०० मेगावाट हो । भारत र काबेलीबाट आएको बिजुली यतै मिसिन्छ । अहिले मिर्चैया–लहान–रूपनी–कुशाहा हुँदै सुनसरीको इनरुवाबाट पश्चिममा दुहबीतिर १६० मेगावाट र काबेलीबाट २५ मेगावाट मात्र आउँछ । काबेलीबाट दमकमा आउँछ । केही अनारमनीतर्फ पठाइन्छ । बाँकी बिजुली दुहबी आउँछ । त्यहाँबाट विराटनगरतर्फ पठाइन्छ ।
बर्खामा १९६ मेगावाट जम्मा बिजुली आउँछ । ४५ मेगावाट अनारमनी लोड छ । ३० मेगावाट लोड दमकको हो । दुहबीको १९० देखि २०० उद्योग तथा घरायसी गरी लोड छ । ३३ केभी र ११ केभीमा उद्योग छन् । सबै उद्योग एकैपटक नचल्ने भएकाले १२० देखि १३० मेगावाट औद्योगिक क्षेत्रको माग छ । सप्लाई पाउँदा उद्योगको माग बर्खा र हिउँदमा बराबर नै रहन्छ ।
खड्का भन्छन्, “हिउँदमा माग कम भए पनि गर्मीमा उपभोक्ताको माग शतप्रतिशत बढ्छ ।”
उनका अनुसार ४०० केभी पूरा भए कोसी प्रदेशमा ८०० मेगावाट बिजुली आयात–निर्यात गर्न सकिन्छ । इनरुवा सबस्टेशन तयारी अवस्थामा छ । चार्जिङ भइरहेको छ । दुहबीयता र विराटनगरतर्फ कन्डक्टर अपग्रेड गर्ने काम भइरहेको र यसबाट बिजुली आपूर्ति सहज हुने प्राधिकरणको विश्वास छ । रनअफ रिभरमा आधारित भएकोले अहिले पूर्वी नेपालका विभिन्न हाइड्रो पावरबाट हुने उत्पादन आधाभन्दा धेरै घटेको प्राधिकरणको भनाइ छ ।
“राती चाहिँ हामीले बिजुली दिएका छौँ । बिहान र साँझका लागि भने अनुरोध गरिएको हो,” खड्काले भने ।
एक दिनमै ६२ पटक ट्रिपिङ
उद्योग संगठन मोरङले गरेको एक अध्ययनअनुसार औद्योगिक करिडोरमा एकैदिन ६२ पटकसम्म ट्रिपिङ भएको छ । संगठनले ३३ केभी दुहबी, ११ केभी तरारा, ११ केभी जुडी, ३३ केभी रघुपति जुटमिल्स र ११ केभी रानी क्षेत्रमा अध्ययन गरेको थियो ।
संगठनमा महानिर्देशक चुणामणि भट्टराईले भने, “जम्मा १५ दिनसम्म गरिएको अध्ययनले भयावह अवस्था बाहिर आयो । एकैदिन ६२ पटकसम्म ट्रिपिङ भएको पाइयो ।”
उनका अनुसार ट्रिपिङ भनेको बिजुली झ्याप्प आउने फेरि काटिने अनि फेरि आउने अवस्था हो । यस्तो हुँदा औद्योगिक क्षेत्रका उपकरणलाई ठूलो असर गर्छ । मेसिनरी सञ्चालन गरेर गर्दै गरेको उत्पादन यताउता हुँदा त्यो बिग्रन्छ । यस्तो समस्या समाधान गर्न संगठनकै अगुवाइमा नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गरिएको उनले सुनाए ।