site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एक लाखभन्दा बढी गाजावासी हताहत : डब्ल्यूएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गाजाको अवस्था बिग्रँदै जाँदा एक लाखभन्दा बढी गाजावासी हताहत (घाइते, बेपत्ता वा मृत्यु भएको) अनुमान गरेको छ । यो संख्या गाजाको २३ लाख जनसंख्याको ४.३ प्रतिशत हो ।

जेरुसेलमबाट भिडियो लिंकमार्फत संयुक्त राष्ट्रसंघको साप्ताहिक पत्रकार सम्मेलनमा डब्ल्यूएचओका प्रतिनिधि रिचार्ड पिपरकोर्नले बाँकी जनसंख्याले गम्भीर परिस्थितिको सामना गर्नुपरेको र सुरक्षा, खाना, स्वास्थ्य र न्यानोपनजस्ता आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेको बताए ।

“मध्य गाजामा तनाव बढ्दै गएको छ, जसले विद्यमान स्वास्थ्य सुविधाको पहुँचलाई थप कमजोर बनाएको छ,” उनले भने ।

बिरामी र स्वास्थ्यकर्मी दुवैका निम्ति अस्पतालहरूमा निरन्तर पहुँचको कमीप्रति उनले गहिरो चिन्ता व्यक्त गरे । पिपरकोर्नले गाजामा ३६ अस्पतालमध्ये केवल १३ र ७३ प्राथमिक स्वास्थ्य केन्द्रमध्ये १३ मात्र सञ्चालनमा रहेका बताए ।

जारी द्वन्द्व र शत्रुताले स्वास्थ्य सेवालाई अस्तव्यस्त बनाएको छ । यसले युद्धसँग सम्बन्धित चोटपटक र दीर्घरोग दुवैको पर्याप्त उपचार प्रदान गर्न चुनौतीपूर्ण भएको छ ।

“अब कम्तीमा आठ हजार गाजावासीलाई उपचारका निम्ति रेफर गर्नुपर्ने भएको हामीले अनुमान गरेका छौँ,” पिपरकोर्नले भने ।

तीमध्ये ६ हजारजना युद्धमा घाइते भएका छन् । कैयौँ गम्भीर घाइते छन् । उनीहरूमध्ये एउटा सानो अंशलाई मात्र दक्षिणी सहर रफाहमा सफलतापूर्वक स्थानान्तरण गरिएको उनले बताए ।

पिपरकोर्नले भने, “उत्तरी गाजामा प्रवेशमा कडा प्रतिबन्ध लगाइएको छ भने डब्ल्यूएचओको यस क्षेत्रका स्वास्थ्य संस्थाहरूमा पुग्न गरिएका अनुरोधलाई लगातार अस्वीकार गरिएको छ ।”

उनले थपे, “गाजामा रहेका युरोपेली अस्पतालमा २२ हजार मानिसले आश्रय लिएका छन् भने त्यहाँ पनि स्वास्थ्य सामग्री अपर्याप्त भएका छन् । रोगहरू फैलिने खतरा बढिरहेको छ ।”

स्वास्थ्यकर्मीले बिरामी र उनीहरूका आफ्नै परिवारको हेरचाहमा सन्तुलन कायम गर्न अथाह चुनौतीको सामना गरिरहेका छन् । कतिपय स्वास्थ्यकर्मीले तीन महिनादेखि लगातार काम गरिरहेका छन् । खान युनिस सहरको अल नासिर अस्पताल एउटा मात्र एम्बुलेन्समा सीमित बनेको छ । बिरामीलाई गाडामा बोक्नुपर्ने बाध्यता छ ।

खान युनिसमा रहेका ४०० बिरामी हेर्न विशेषज्ञको अभावका कारण अस्पतालको पर्याप्त हेरचाह गर्ने क्षमता जोखिममा परेको छ ।

गम्भीर स्वास्थ्य समस्या मानवीय संकट स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर गएको छ । खाद्य असुरक्षा र पानी प्रदूषणले संक्रामक रोगहरूको फैलावटका निम्ति उर्वर भूमि सिर्जना गरेको छ ।

गाजास्थित डब्ल्यूएचओका प्रतिनिधिले चिन्ताजनक तथ्यांक उद्धृत गर्दै भनेका छन्, “दुई लाख ४५ हजारभन्दा बढी श्वासप्रश्वाससम्बन्धी संक्रमणका घटनाहरू, पाँच वर्षमुनिका बालबालिकाहरूमा पखालाका एक लाख ६० घटनाहरू र लगभग ७० हजार छाला र अन्य समस्या रहेको देखिएको छ ।”

गाजामा सीमित खाद्यान्न वितरणका कारण कुपोषण एउटा महत्त्वपूर्ण चिन्ताको विषय बनेको छ ।

पिपरकोर्नका अनुसार, गाजामा ३४२ आक्रमणमा ६२७ को मृत्यु र ७८३ जना घाइते भएका छन् । हाल ६१ स्वास्थ्यकर्मीलाई हिरासतमा लिइएको छ, जसले पहिलेदेखि नै समस्याग्रस्त स्वास्थ्य सेवा प्रणालीलाई थप जटिल बनाएको छ ।

डब्ल्यूएचओको गाजास्थित उपशाखाका प्रमुख अहमद दाहिरले खाना र सुरक्षाको खोजीमा हजारौँ मानिस रफाहतर्फ पलायन भइरहेको उल्लेख गरे । खानाको अभावका कारण मानिस धेरै दुब्लो र कमजोर देखिएको उनले बताए ।

बिरामी र घाइतेहरूले पर्याप्त स्वास्थ्य सेवा पाउन संघर्ष गरिरहेका छन् । तर, वरिपरिको तनावले प्रमुख चिकित्सा सुविधा, बिरामी र स्वास्थ्य सेवा प्रदायकको पहुँचमा बाधा पुर्‍याएको उनले बताए । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro