गजल एक
किन हो दिन र रात, यसरी उस्तै लाग्छन्
जे देखिन्छन् यहाँ, घरीघरी उस्तै लाग्छन्
यिनै आँखाहरू बन्द गर्दा पनि सताउने
अहो ! तिमी र स्वर्गका परी उस्तै लाग्छन्
असफलताले बीजारोपण गरेपछि भित्रै
बेचैनीले चल्ने हुरी र भुमरी उस्तै लाग्छन्
खोइ कसरी ? छिनमै आउने र हराउने
तिम्रा यादहरू र उड्ने चरी उस्तै लाग्छन्
तिमी आउनु र जानुमा फरक नभए’सि
चाहना र बहाना नानाथरी उस्तै लाग्छन्
न्यायालयले पनि मलाई न्याय नगरे’सि
जिउनु र मर्नुमा बराबरी उस्तै लाग्छन् ।
०००
गजल दुई
टक्क आउँछ याद फतक्क गालेर जान्छ
फेरि दनदनी मनभित्र आगो बालेर जान्छ
बाहिरी मनले खुब गर्ने रहेछौ ठिक्क पार्ने
भित्री मनले सजिलै घाँटी छिनालेर जान्छ
यति दुःखले बनाउन खोजेको यो झुपडी
बेलाबेला हुन्डरी पठाउँछौ ढालेर जान्छ
थाहा भएन मनभित्र बसेको शंका के हो ?
खोइ धोएर जान्छ या त पखालेर जान्छ
कसरी निर्दयी हुन सक्ने रहेछ मान्छे पनि
यार ! दुःखकै बेला झन् पर धकालेर जान्छ ।