site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शाही ‘कू’ र प्रतिगमनविरुद्धको त्यो स्वतन्त्रता संग्राम

विसं २०५८ जेठ १९, २०५९ असोज १८ र २०६१ माघ १९ का तीनवटा घटना विशेषले गर्दा अन्ततः नेपालमा २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको अन्त्य भयो । शान्तिपूर्ण जनक्रान्तिका २५ अमर सहिद तथा सशस्त्र संघर्षको क्रममा जीवन आहुति दिने १७ हजार ज्ञातअज्ञात दिवंगत नेपालीहरूको बलिदानको समुच्चय निष्कर्ष र परिणाम भयो– गणतन्त्र नेपाल । संघीयता ‘मधेस’ आन्दोलनको परिणाम रहेको यथार्थ विदितै छ ।

जेठ १९ गते रातीको दरबार हत्याकाण्ड अकल्पनीय घटना थियो । मध्य रातमा गद्दीनसीन राजा, रानी र युवराजसहित शाही परिवारका एक दाजुको सिंगो परिवार र वंशनाश भयो । सँगसँगै शुक्रबारको त्यस शाही भोजमा सहभागी अर्को भाइका परिवारजन घाइते मात्रै र सकुशल रहे ! भद्र र विनम्र छविका सुपठित राजा वीरेन्द्र र उहाँका परिवारजनको त्यही हत्याकाण्डपश्चात् नै नेपालमा शाहवंशीय राजतन्त्रको खासमा अवसान भएको थियो ।

दरबार हत्याकाण्डपछि लगाइएको कर्फ्यू झेलेर पत्रिका निकाल्नु परेको क्षणलाई हामीले कहिल्यै बिर्सन सक्दैनौँ । 

Dabur Nepal
NIC Asia

दरबार हत्याकाण्ड लगत्तैको मंलबार कर्फ्यूको समयमा भीमसेन राजवाहक र मलाई स्वयम्भू प्रहरी बिटले नियन्त्रणमा लिई पुलिस क्लब पठाउने भनिरहँदा मनमा छाएको पत्रिका ननिस्कने हो कि भन्ने चिन्ताले कम्ती सताएको थिएन । चक्रपथभित्रको कर्फ्यू उल्लङ्घन नगर्ने चेतावनी पाएपछि हामी नेकपा (एमाले)का नेता मोदनाथ प्रश्रितको घरअघि पुग्यौँ । संयोगवश उहाँलाई लिन पुगेको प्रहरीको गाडीमा हामी दुई पनि आफ्नो कार्यालय फर्किन सकेका थियौँ । त्यसदिन संसारभरिका पत्रकार एमाले केन्द्रीय कार्यालयमा जम्मा भएका थिए । सम्पादक कुन्दन अर्याल राजधानी बाहिरबाट फर्कने कार्यक्रम थियो, उहाँको कार्यालय फर्कंदासम्मको अनुभूति अझ बेग्लै चुनौतीले भरिपूर्ण थियो ।

‘स्वचालित हतियार पड्केर दाजु र भतिजको मृत्यु’पछि राज्य सहायक हुँदै राजगद्दीमा दोस्रोपटक भवितव्यजस्तो गरी आसीन भएका ज्ञानेन्द्र शाहको निरंकुश सत्तामोहकै पटाक्षेप र परिणाम थिए– असोज १८ र माघ १९ का घटना, अर्थात निरंकुश शाही कदम । 

असोज १८ अघि र पछि दरबारिया भिजिलान्तेहरूको संगठन ‘राष्ट्रिय एकता परिषद्’को जगजगी थियो । त्यसले सहरमा अनेकन् उपद्रव मच्चाउँथ्यो, पुरस्कारस्वरूप ज्ञानेन्द्र शाहले पछि परिषद्का अध्यक्ष निक्षशम्शेर राणालाई ‘सहायक मन्त्री’ बक्सिससम्म दिएका थिए ।

एक दिन बुधबार साप्ताहिकमा प्रकाशित समाचारलाई बहाना बनाएर तिनै निक्षका तीनजना ‘डन कार्यकर्ता’ मदननगर, बल्खुस्थित ‘बुधबार’को कार्यालयसम्म आइपुगे । उनीहरूले त्यहाँ मेरो खोजी गरे र मैले तिनीहरूलाई भेटेर सम्झाइबुझाइ गरी पठाएँ । निक्षशम्शेर बारेको समाचार लेखिएकोमा विचराहरूको आक्रोश र आपत्ति थियो । आफ्ना मालिकको असली तथ्य विवरण छापिएकोमा उनीहरू क्रुद्ध थिए र जे पनि गर्न सक्ने धम्की दिन त्यसरी आदेशानुसार दिउँसै कार्यालयमा आइपुगेका थिए ।

माघ १९ को कदम स्वतन्त्रताविरुद्धको ‘कू’ थियो । त्यसैले निम्त्याएको संघर्षको महाभेलमा अन्ततः ‘राजतन्त्र’ नै बग्यो । शेरबहादुर देउवा प्रधानमन्त्री र भरतमोहन अधिकारी उपप्रधान तथा अर्थमन्त्री रहनुभएको देउवा–एमाले सरकार माघ १९ गते बिहान १० बजेसम्म बहाल थियो । राजा ज्ञानेन्द्रको असंवैधानिक शाही घोषणाद्वारा संयुक्त सरकार बर्खास्त भयो । प्रमुख नेताहरू घरघरमा नजरबन्द गरिए । कैयौँलाई घर र कार्यालयबाट गिरफ्तार गरियो । हाम्रै अगाडिबाट पूर्वसञ्चारमन्त्री प्रदीप नेपाललाई पुलिसले भ्यानमा हालेर लग्यो । 

सारा टेलिफोन लाइन काटियो । सञ्चारमाध्यमका कार्यालयमा सेना तैनाथ गरियो । सार्वजनिक यातायातका गाडीहरू थानकोटबाट बाहिर जान रोकियो । र, अन्तर्राष्ट्रिय हवाई उडानहरूसमेत बन्द गरियो । अर्थात् नियमित दिनचर्यामै धावा बोलियो । स्थापित र वैधानिक सञ्चारमाध्यमहरूको सेवा बन्द गरियो । र, कवि भूपी शेरचनको कवितांशअनुसार भन्ने हो भने, ‘यो हल्लै हल्लाको देश हो...’को हैसियतमा मुलुकलाई धकेलियो ।

हामीले माघ १९ कै दिन शाही ‘कू’को त्यस दुश्चक्रलाई प्रत्यक्ष सामना गर्‍यौँ । तत्पश्चात् एक वर्षसम्मै हामीले शाही निरंकुशताविरुद्ध जुझ्दै बडो कष्टपूर्ण रूपमा दिनहरू बिताउन बाध्य भयौँ । हामीले त्यस सिलसिलामा भोग्नुपरेको भुक्तमान र त्यसविरुद्ध गरेको संघर्ष एउटा महत्त्वपूर्ण कालखण्ड रह्यो । त्यसबारेमा निम्न दुईवटा दृष्टान्त उल्लेखनीय रहेका छन्, जो आफ्नै भोगाइ रहेका छन् :

काठमाडौंबाट प्रकाशित हुने बुधबार साप्ताहिकका सम्पादक सूर्य थापालाई समाचारको विषयमा २०६१ फागुन २४ गते जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई बयान लिइयो । थापालाई फागुन २३ गते पनि जिल्ला प्रशासन कार्यालयले बयान लिई पुनः फागुन २४ गते बिहान १० बजेका लागि बोलाएको थियो । बिहान १० बजे बोलाइएका थापालाई पुनः अपराह्न ४ः३० बजे कार्यालयमा उपस्थित हुन आदेश दिइएको थियो । थापालाई प्रशासनले बोलाएको बेला उपस्थित हुने सर्तमा लिखित कागजमा सही गराइयो ।

कामनपा गौशालामा बुधबार साप्ताहिकका सम्पादक सूर्य थापा, टीकाराम यात्री, समाचारपत्र दैनिकका दीपक दाहाल र फणिन्द्र दाहाल लगायतका पत्रकारहरूलाई २०६३ वैशाख २ गते डीएसपी श्याम खड्का र एसपी सुशील भण्डारीको नेतृत्वमा रहेका प्रहरीले धरपकड गरी गिरफ्तार गरे । गिरफ्तार सबैलाई खाना बहिस्कार गरेपछि सोही दिन साँझ रिहा गरियो ।

मानव अधिकार वर्ष पुस्तक २००६ र २००७ मा समावेश उल्लिखित विवरणले २०६१/०६२ को शाही दमन र प्रतिरोधका केही सन्दर्भलाई प्रतिनिधित्व गर्दछन् । सुरुमा राजनीतिक दलहरू चक्रपथ बाहिरै सीमित रहेको त्यस कालखण्डमा गौशाला, नयाँ बानेश्वर, बबरमहल हुँदै भृकुटीमण्डप र रत्नपार्कमा जम्मा भई ‘शाही निषेधाज्ञा’ को अवज्ञा गर्ने कामको अगुवाइ सुरुमा कानुनी व्यवसायी र त्यसपछि पत्रकारहरूले नै गरेका थिए । 

पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्य समिति सदस्यको हैसियतमा त्यस ‘स्वतन्त्रता संग्राम’मा प्रत्यक्ष सहभागी भएर नेतृत्वदायी भूमिका निर्वाह गरेको अवधि मेरा लागि विशेष स्मरणीय रहेको छ । त्यस क्रममा म आफैँ महेन्द्र पुलिस क्लबमा दुईपटक, वडा प्रहरी कायलिय सिंहदरबारमा एकपटक र गौशालामा एकपटक गरी चारपटक पुलिसको गिरफ्तारी र हिरासतमा परेको थिएँ । अरू थुप्रै सञ्चारकर्मीहरू प्रहरीसँग भिड्दै, निषेधाज्ञा तोड्दै र स्वतन्त्रताको आवाज गुञ्जायमान पार्दै स्वतन्त्रताको आन्दोलन/संग्राममा सक्रिय भएका थिए । 

नागरिक समाज; कानुन व्यवसायी, पत्रकार, प्राध्यापक, चिकित्सक र इन्जिनियर आदि पेसाकर्मीहरूले त्यस ‘स्वतन्त्रता संग्राम’मा महत्त्वपूर्ण योगदान गरेको स्पष्टै छ । अनि मात्रै चक्रपथ बाहिर सीमित राजनीतिक दलहरूसमेत ऐक्यबद्धता, सहयोग र प्रदर्शनको आयोजना हुँदै स्वयम् महासंग्रामको नेतृत्व गर्ने स्थितिसम्म आइपुगेका थिए । विद्रोही नेकपा (माओवादी) र सात राजनीतिक दलहरूबीच २०६२ मंसिर ७ गते सम्पन्न १२ बुँदे समझदारीले राजतन्त्रविरुद्ध पूर्ण प्रजातन्त्र र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा राष्ट्रव्यापी जनआन्दोलन, जनसंघर्ष र जनक्रान्तिको माहोल निर्माणको आधारशीला सिर्जना गर्ने काम भयो ।

मूलतः २०५९ असोज १८ र २०६१ माघ १९ का शाही कदमहरूले नेपाली समाजमा सिर्जना गरेको मनोदशालाई २०६२/०६३ को शान्तिपूर्ण जनक्रान्ति/जनआन्दोलनका रूपमा अभिव्यक्ति दिनु सामान्य र सहज थिएन । त्यस प्रक्रियामा नागरिक समाज, मुख्यतः पत्रकारहरूले निर्वाह गरेको भूमिका अतुलनीय रहेको स्पष्टै छ । प्रतिगमनविरुद्धको संघर्षलाई संयुक्त जनआन्दोलन र संविधानसभा हुँदै लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणासम्मका यावत् अप्ठेराहरूलाई यसले समेट्ने कोसिस गरेको छ । र, संघर्षको बाटो नै सर्वोत्तम हो भन्ने सच्चाइलाई आत्मसात् समेत गरेको छ । मलाई लाग्छ– त्यही संघर्षको सफलता र परिवर्तनका उपलब्धिहरूको संस्थागत स्वरूप नै २०७२ असोज ३ गते संविधानसभाद्वारा ‘समाजवादउन्मुख’ नेपालको संविधान जारी भएको छ ।

नेपाल राष्ट्रको निर्माणमा नेपाली सेनाको महत्त्वपूर्ण र अमिट योगदान रहेको छ । नेपाली सेनाबाट ‘शाही’ पदावली हटाउन २०१७ पुस १ र २०६१ माघ १९ गतेका एकै प्रकृतिका ‘कू’ र त्यसपछि शाही नेपाली सेनालाई सञ्चारमाध्यमका कार्यालय, छापाखाना र सम्पादकलाई नियन्त्रण गर्न खटाउने राजाको निरंकुशतावादी कदम नै मुख्य जिम्मेवार थियो । खासमा सेना राजा वा कोही व्यक्तिको नभएर देश र जनताको हो । निर्वाचित सरकार भनेको जनता र देशको प्रतिनिधि हो । नेपाली सेनाको संविधान र कानुनसम्मत हैसियत, भूमिका र जिम्मेवारीप्रति मेरो सदैव उच्च सम्मान रहेको छ । यहाँ नेपाली सेनाको नभएर शाही सेनाको भूमिकामा सुधारको निम्ति आलोचना गर्दै राष्ट्र, राष्ट्रियता र जनताप्रति उत्तरदायी बनाउन जोड गरिएको तथ्य स्पष्टै छ । 

(प्रतिनिधिसभा सदस्य थापाको आजै प्रकाशित पुस्तक ‘स्वतन्त्रता संग्राम’को अंश)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro