काठमाडौं । अभिनेता दयाहाङ राईले आउँदो एक वर्ष आफूले नयाँ चलचित्र साइन नगर्ने बताएका छन् । साइन गरेर पनि काम गर्न बाँकी रहेका चलचित्र ठूलो संख्यामा रहेकाले एक वर्ष नयाँ चलचित्र साइन नगर्ने उनले स्पष्ट पारेका हुन् ।
यद्यपि, पाँचवटा चलचित्र घोषणा हुन बाँकी नै रहेको उनले बताए । धेरै पहिला नै साइन गरेर पनि निर्माणको घोषणा हुन बाँकी चलचित्रको संख्या पाँचवटा रहेको उनले बताए ।
दयाहाङले यसबाहेक नै अहिले साइन गरिसकेका चलचित्रको संख्या करिब डेढ दर्जन रहेको छ । त्यसैले तत्काल नयाँ चलचित्रमा काम गर्नसक्ने अवस्था नरहेको उनले स्पष्ट पारे ।
“सँगै संघर्ष गर्दा र चलचित्र क्षेत्रमा प्रवेश गर्दाका साथीहरू अहिले कोही निर्देशक त कोही निर्माता हुनुभएको छ,” दयाहाङ भन्छन्, “त्यहीबेला यो विषय र आइडियामा काम गर्नुपर्छ भनेर छलफल गरेको विषयमा अहिले उहाँहरूले प्रस्ताव गर्दा नाईं भन्ने अवस्था आउँदैन ।”