काठमाडौं । अभिनेता दयाहाङ राईले विवाहित निःसन्तान जोडीलाई समाजले दिने दबाब नै चलचित्र ‘दयारानी’को मुख्य कथा भएको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा दयाहाङले विवाह भएर पनि सन्तान नभएपछि समाजले कसरी दबाब दिन्छ, त्यो चलचित्र दयारानीमा हेर्न सकिने बताए ।
“समाजले सन्तान नहुँदा दबाब दिन्छ । त्यस्तो अवस्थामा पुरुष चुपचाप बस्छ । तर महिलाले दबाब झेल्नुपर्छ,” उनले भने, “सन्तान नहुनुलाई समाजले चासोको रूपमा हेर्छ, त्यो हाम्रो सिनेमामा छ ।”
अभिनेत्री दीया पुन चलचित्रले उठान गरेको विषय कतिपयको जीवनसँग मेलखाने बताउँछिन् । “हाम्रो समाजको नै कथा हो यो । धेरैले यो समस्या भोगेको मैले आफैँले देखेको छु,” अभिनेत्री पुनले भनिन्, “नेपाली महिला वास्तवमा सहनशील छन् भन्ने लाग्छ । विदेशी महिलाले सायद यस्तो समस्या फेस गरेर बस्दैनन् ।”
चलचित्रका अर्का मुख्य कलाकार विजय बरालले समाजमा हरेक खालका व्यक्ति भएकैले समाज र प्रकृति चल्ने गरेको बताए । “मेरो पात्रले मुख्य पुरुष पात्रको सन्तान नभएपछि अर्को विवाह गर्न दबाब दिन्छ,” उनी भन्छन्, “यो समाजमा हुने पात्र नै हो । समाजमा फरकफरक व्यक्ति भएकाले यो संसार चलेको छ । यो प्रकृतिको सिद्धान्त नै हो ।”
माओत्से गुरुङले निर्देशन गरेको चलचित्र ‘दयारानी’ माघ २६ गते रिलिज हुँदै छ ।