site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संगीतकारले गाउने लोभ गर्दा संगीतको भविष्य नै धरापमा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । स्टेज पफर्मेन्स नै संगीतकर्मीको आम्दानीको मुख्य स्रोत बन्न थालेपछि संगीतकार पनि गायनतर्फ आकर्षित भएका छन् । पछिल्लो समय धेरै संगीतकारले गीत गाइरहेका छन् । स्वरले उति धेरै साथ नदिए पनि संगीतकार गायक बनिरहेका छन् । तर, यसले समग्र संगीतलाई न्याय नगर्ने स्वयं संगीतकर्मी बताउँछन् ।

हरेक संगीतकारलाई गाउने अधिकार भए पनि गायकी क्षमता छ/छैन त्यसले अर्थ राख्ने संगीतकर्मीकै भनाइ छ । क्षमता नहुने, रहर र आरिस मात्र गरे त्यसले कालजयी हुने संगीतको जन्म नहुँदै हत्या हुने संगीतकर्मीको टिप्पणी छ ।

हरेक गायकगायिका संगीत क्षेत्रमा प्रवेश गर्दा गायक नै हुन्छु भनेर आउने र त्यो भोक लामो समय रहिरहने गीतकार राजेन्द्र थापा बताउँछन् । संगीतकारले गीत गाउने लोभ गर्दा नेपाली संगीतको भविष्य नै संकटमा पर्दै गएको उनको टिप्पणी छ । संगीतकारले गाउँदै गए नेपाली सुगम संगीत नै ध्वस्त हुने उनको धारणा छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

संसारभर संगीतकार सुरुमा गायक नै हुने ट्रेन्ड रहेको उनी सुनाउँछन् । पछि आफू गायनका निम्ति योग्य नरहेको अनुभूत गरेपछि संगीतकार हुने गरेको उनको बुझाइ छ ।

“नेपालमा लय हाल्नेलाई संगीतकार भनिन्छ, जबकि भारतमा यति मात्रै गर्नेलाई संगीतकार भनिँदैन । लय हाल्न सजिलो छ । लय हाल्दैमा संगीतकार भइने भएपछि उसले संगीत भर्न सुरु गर्छ । स्वर कमजोर छ भने उसले गाउन छोडेर संगीत मात्रै गरिरहेको हुन्छ,” गीतकार थापा भन्छन् ।

Royal Enfield Island Ad

पछिल्लो समय जस्तो स्वर भए पनि हुन्छ भन्ने भ्रममा संगीतकार परेको र गाउन थालेको उनको बुझाइ छ । “स्वर राम्रो भएको भए ऊ सुरुमै गायकगायिका हुन्थ्यो नि !,” उनी भन्छन् ।

नारायणगोपालले संगीत गरे पनि गायकीमा राम्रो भएकाले गायक भएको उनी बताउँछन् । गोपाल योञ्जन आफैँमा राम्रो गायक भए पनि संगीतमा अब्बल देखिएकाले उनी त्यसैमा केन्द्रित भएको थापाको जिकिर छ ।

“गोपाल योञ्जनले नारायणगोपालको अनुपस्थितिमा मात्रै धेरै गीत गाएका छन्,” थापा भन्छन्, “अमर गुरुङलाई पनि म गाउन सक्छु भन्ने भ्रम थियो । तर, उहाँलाई आफू संगीतको तुलनामा गायनमा कमजोर छु भन्ने थाहा थियो । त्यसैले अमर गुरुङको संगीतमा अरूले गाएका गीत चलेका छन् । तर, उहाँ आफैँले गाएका गीत आजको पुस्तामा पुस्तान्तरण भएका छैनन् ।”

अमर गुरुङको संगीतमा नारायणगोपाल, अरुणा लामालगायत गायकगायिकाले गाएका गीत चलेको तर उनी स्वयंले गाएका खासै नचलेको थापा सुनाउँछन् ।

“अमर गुरुङजस्तो गायकलाई त त्यो समस्या पर्दो रहेछ । गोपाल योञ्जनको दाँजोमा गाउन सक्ने मान्छे छैन । तर पनि उहाँले कम गाउनुभयो,” थापा भन्छन्, “लोकगीत गाउनेलाई केही फरक पर्दैन । राजनराज शिवाकोटी लोकलाई थोरै मोर्डनाइज गरेर गाउने भएकाले उसको स्वर त्यस्ता गीतमा फिट होला, तर सुगम संगीतमा राजनराजकै स्वरले काम गर्दैन ।”

अहिले धेरै संगीतकारले स्टेजकै निम्ति गाउने गरेको उनी बताउँछन् । “स्टेजमा हाम्रो संगीत गाएर गायकगायिकाले हामीलाई पैसा दिँदैनन्, आफैँ गाउने हो भनेर गाइरहेका छन्,” उनी भन्छन्, “९९ प्रतिशत संगीतकार गायनमा फेलियर छन् । कालीप्रसाद बास्कोटाको आफ्नो प्याटर्नमा भएका केही गीत चले पनि अरूले गाएका उनको संगीत चलेको छ ।”

बहुसंख्यक संगीतकारले गाएका एकाध गीत मात्र हिट छन् । तर, उनीहरूले संगीत गरेर अरूले गाएका धेरै गीत लोकप्रिय छन् । त्यसैले उनीहरू गायक होइनन् भन्ने पुष्टि गर्ने गीतकार थापाको जिरिह छ । “प्राविधिक कोणले हेर्दा संगीत गर्दा संगीतकारले आफ्नोतर्फबाट सय प्रतिशत दिइसकेको हुन्छ । गायकले पनि गाउँदा सय प्रतिशत नै दिन्छ,” उनी भन्छन्, “तर संगीतकार आफैँले गायो भने उसले सबै दिइसकेका कारण केही थप्न नसक्दा गीतको एक पयर कमजोर टेक्छ ।”

गायकले पैसा नदिने भए उनीहरूलाई संगीत किन दिने भन्ने संगीतकारको मनमा रहने गरेको र त्यो नै गलत भएको उनको टिप्पणी छ । उनी भन्छन्, “म त बारम्बार भनिरहेको छु– तिमीहरू आफैँ नगाऊ, गायकको काम संगीतकारले गर्न सक्दैन ।”

गायकले संगीत गर्ने अर्को डरलाग्दो परिपाटी रहेको उनी सुनाउँछन् । सबै नारायणगोपाल हुन नसक्ने वास्तविकतालाई स्वीकार गर्न सक्नुपर्नेमा उनको जोड छ । जो राम्रो चलेका गायक छन्, उनीहरूले गरेको संगीत पनि फेलियर रहेको उनी बताउँछन् ।

संगीतकार आफैँ गीतकार पनि बनेको भन्दै उनी कालीप्रसाद बास्कोटा, राजनराज शिवकोटी, दीपक शर्माको नाम लिन्छन् । “तर, एकाधबाहेक उनीहरूको गीत चलेका छैनन् । अरूको गीतमा जति उनीहरूको संगीत चलेको छ, त्यति सफल छैनन्,” उनी स्पष्ट पार्छन्, “किनकि, उनीहरू गीतकार होइनन् । जबरजस्त अर्कोको विधामा काम गर्न खोज्दा अपेक्षित सफलता प्राप्त हुन नसकेको हो । मुटुको डक्टरले मुटुकै अपरेसन गर्ने हो, कानको डक्टरले कानकै अपरेसन गर्दा सक्सेस हुन्छ ।”

थापा आफ्नै गीतको उदाहरण दिन्छन्, ‘पोहोर साल खुसी फाट्दा...’ अलगअलग विधामा भिन्दाभिन्दै व्यक्तिले काम गरेकाले चलेको उनको बुझाइ छ । “पोहोर साल किन चल्यो भने मैले शतप्रतिशत शब्द दिएँ होला, अमर गुरुङले शतप्रतिशत संगीत दिनुभयो होला र अरुणा लामाले शतप्रतिशत गायन दिनुभयो, तीन सयमा तीन सय नम्बर आयो,” उनी भन्छन्, “अमर गुरुङले आफैँ लेख्ने, संगीत गर्ने र गाउने गर्दा शब्दमा ९० पाउनुभयो होला, संगीतमा सय होला, गायनमा ७० पाउनुभयो होला । समग्रमा औसत गीत तयार भयो ।” 

अहिले लोकगीतको प्याटर्नमा नेपाली संगीत रहेकाले जे गर्दा पनि हुन्छ भन्ने भ्रम रहेको उनी बताउँछन् । “भारतमा अनु मलिक राम्रो संगीतकार थिए । ५० को दशकको सुरुमा उनले संगीत गरेको एउटा टेलिसिरियल भारतमा भयंकर चल्यो । त्यसपछि उनले आफैँ शब्द लेख्न थाले । उनले आफैँले गीत लेखेर संगीत गर्न थालेपछि चल्न छोड्यो,” राजेन्द्र भन्छन्, “त्यसपछि उनलाई धेरैले तिमी राम्रो संगीतकार हौ, तर गीतकार होइनौ, संगीत नै गर भनेपछि उनले आफूलाई संगीतमा केन्द्रित गरे । गाउन पनि छोडिदिए । त्यसपछि उनले नम्बर एक भएर भारतीय संगीतमा शासन नै गरे ।”

गायन, संगीत र शब्द तीनवटा छुट्टाछुट्टै विधा भएकाले त्यसलाई त्यहीअनुसार बुझ्नुपर्नेमा उनको जोड छ ।

गायकगायिकाले गीतकार र संगीतकारको सम्मान नगरेकाले अहिलेको अवस्था आएको थापाको टिप्पणी छ । अरूको शब्द र संगीतबाट लाखौँ कमाउने गायकगायिकाले त्यसको सानो अंश पनि संगीतकार र गीतकारलाई नदिँदा अहिलेको परिस्थिति आएको उनको बुझाइ छ ।

शब्द र संगीत अरूकै भए पनि गायकगायिकाले मेरो गीत भन्ने गरेको प्रसंग उल्लेख गर्दै उनी प्रश्न गर्छन्, “त्यसो भए हामी गीतकार र संगीतकारचाहिँ के हो, को हो त ?” यसलाई विकृति भन्दै नियन्त्रण नभए नेपाली सुगम संगीत ध्वस्त हुने उनी बताउँछन् ।

“पहिलो संगीतकार नै हो, किनभने उसले धुन निकालेको हुन्छ । गायकगायिका प्रस्तोता हुन्, किनभने उनीहरूले गाएका हुन्छन्,” संगीतकार राजु सिंह स्पष्ट पार्छन् ।

गीतकारले गीत लेख्ने र गाउने तथा संगीतकारले संगीत गर्ने र गाउने पुरानै चलन हो । मेलवादेवी, सेतुराम, रत्नदासको समयदेखिकै अभ्यास हो यो । तर, यसरी गाउँदा गीतले कति न्याय पाउँछ त्यसमा ध्यान दिनुपर्नेमा उनको जोड । सुरको साधकले गायनलाई जति फिनिसिङ गर्न सक्छ, त्यति संगीतकारले नसक्ने सिंहको अनुभव छ ।

“गायकगायिका भनेको फुटबल टिमको स्ट्राइकर हो । फुटबल खेलमा जसरी स्ट्राइकरले खेललाई फिनिसिङ दिन्छ, त्यस्तै संगीतकारको संगीतलाई राम्रो स्वर भएका गायकगायिकाले फिनिसिङ दिन्छन्,” राजु भन्छन्, “फिनिसिङ राम्रो भएन भने राम्रो शब्द, राम्रो गीत र राम्रो एरेन्जमेन्ट भएर पनि गीत राम्रो हुँदैन ।”

संगीतकारले आफ्नो निम्ति गीत गाउन सक्ने तर सबै संगीतकारका हकमा बजारका लागि भने त्यो न्यायसंगत नहुन सक्ने उनको धारणा छ । “न्यूह् बज्राचार्यलगायत धेरैले गीत गाइसक्नुभएको छ, जसको स्वर राम्रो छ । मैले पनि केही गीत मेरो स्वरमा रेकर्ड गरेर राखेको छु । तर, हामी संगीतकारको स्वर अर्काइभका लागि मात्रै हुनुपर्छ भन्ने लाग्छ,” उनी भन्छन्, “मेरो स्वर कस्तो रहेछ भनेर अर्काइभका लागि मात्रै मैले रेकर्ड गरेको छु । व्यावसायिक प्रयोजनका लागि भने होइन । राम्रो स्वर पनि भएको संगीतकार हुनुहुँदो रहेछ भने त्यो त सुनमा सुगन्ध नै भइगयो ।”

भारतमा आरडी बर्मन, एसडी बर्मनको आफ्नै छुट्टै खालको स्वर रहेको भन्दै सिंह शंकर महादेवनले अहिले पनि गाइरहेको सुनाउँछन् । नेपालमा नातिकाजी, गोपाल योञ्जन, अमर गुरुङले पनि गाएको तर गायक जो स्वरमा साधना गरेको छ, उसले गाउँदा छुट्टै राम्रो हुने उनी स्वयंको अनुभव छ । राम्रा गायकगायिकाले गाउँदा समग्र नेपाली संगीतमा त्यसले ठूलो टेवा दिने उनको भनाइ छ ।

यसमा गायकगायिकाको पनि कमजोरी रहेको संगीतकार सिंह बताउँछन् । राम्रो प्रोजेक्ट आए गायकले नै शब्द लेख्ने, संगीत गर्ने र आफैँ गाउने गरेको राजु स्वयंले देखेका छन् ।

वास्तविक गायकले गाउँदा मात्र गीत अजम्बरी हुने उनको तर्क छ । “मेरो धारणा वास्तविक गायकले गाउनु मात्रै पर्छ, वास्तविक संगीतकारले संगीत मात्रै गर्नुपर्छ,” संगीतकार राजु स्पष्ट पार्छन्, “स्टेजका लागि संगीतकारले लोभ गरेको जस्तो देखिएको छ । विदेश टुर र महोत्सवको लोभ गरेको देखिन्छ ।”

वास्तविक कमर्सियल संगीतकार जसले गाएका छन्, उनीहरूले बाँच्ने गीत नगाएको राजु बताउँछन् । मासका लागि मात्र गीत गाइरहेको आफूले देखेको उनको भनाइ छ ।

“स्टेज, महोत्सव, युट्युब च्यानल तथा सामाजिक सञ्जालमा म पनि गाउन सक्छु भनेर भर्सटाइल देखाउन पनि संगीतकारले गाउने गरेको पाइएको छ,” उनी भन्छन्, “कतिपय गायकगायिकामा मैले गाइदिएपछि संगीतकार तथा गीतकार हिट हुन्छ भन्ने सोच पनि देखिन्छ । त्यस्तो प्रवृत्तिलाई देखाउन म पनि गाउन सक्छु भनेर पनि संगीतकारले गाएको मैले देखेको छु ।”

कतिपय सन्दर्भमा राम्रा गीतकार र संगीतकारमा पनि हाम्रो गीत र संगीतले गीत यसै लोकप्रिय हुन्छ भन्ने अहं हुने गरेको उनी बताउँछन् । तीनै पक्षले एकार्काको कामको प्रकृति र क्षमतालाई स्वीकार गर्दै समन्वय गर्दा सहज हुने उनको धारणा छ ।

कतिपय गायकगायिकाले स्टेजमा गीतकार र संगीतकारको नाम लिँदैनन् । रोयल्टी बाँटफाँटको समस्या र कतिपयले राम्रो गीत गाए पनि त्यो कसको नभनिदिँदा केही संगीतकारले आफैँ गाउने गरेको उनको अनुभव छ ।

“आज मैले यति गीत गाएँ, यस्तो राम्रो गीत गाएँ भनेर सामाजिक सञ्जालमा लेखिदिने तर त्यो कसको शब्द, संगीत हो भनेर नलेख्ने प्रवृत्ति छ,” उनी भन्छन्, “आफूलाई असाध्यै राम्रो लाग्यो भनेको गीत कुनै पनि ठाउँमा गाइदिनु हुन्न ।”

नेपाली संगीतको इतिहासमा राम्रा गीत ‘राम्रै’ गायकगायिकाले गाएका मात्र रहेको राजु बताउँछन् । त्यसैले ठिकठाक मात्र स्वर रहेका संगीतकार आफैँले गाउने परम्परा रोकिनुपर्नेमा उनको जोड छ । आफैँ गाउने र संगीत गर्ने संगीतकार र गायकको इतिहास केलाउँदा संगीतकार भनेर नै उनीहरूलाई चिन्ने गरिन्छ । स्वयंले पनि आफूलाई चिनाउँदा संगीतकार भनेरै परिचय दिने गरेको उनी बताउँछन् ।

“स्वर भनेको यस्तो माध्यम हो, राम्रो स्वर भएको गायकगायिकाले गीतकार, संगीतकार, स्रोता र मिडियालाई आफूसँगै लिएर हिँड्न सक्छ,” उनी अगाडि थप्छन्, “पछिल्लो समय रोयल्टी बाँड्नुपर्छ, यसमा विवाद आउँछ भनेर कतिले आफैँ गाउनुभएको छ । केही संगीतकारले राम्रो गाउनु पनि भएको छ । तर, स्वरमा फिनिसिङ गायकले जस्तो संगीतकारले दिन सक्दैन भन्ने हामी स्वयंले स्वीकार्नुपर्छ ।”

संगीतकारले आफ्नो संगीत सिर्जनालाई नै परिष्कृत गर्दा राम्रो हुने सिंहको धारणा छ ।

गायक सत्यराज आचार्य गायकगायिका र नायकनायिका फ्रन्टमा आएर प्रस्तुत गर्न सक्ने भएकाले नै पफर्मर भन्ने गरिएको तथ्यलाई भुल्न नहुने बताउँछन् । निर्देशक र स्क्रिप्ट राइटरले जतिसुकै मिहिनेत गरे पनि सिनेमा राम्रो भए नायकले कस्तो राम्रो चलचित्र दियो भन्ने गरिएको उनको भनाइ छ ।

सत्य भन्छन्, “कुनै गीत चोरी भयो भने फलानो गायकगायिकाको गीत चोरियो भनिन्छ, वास्तवमा त्यो गीतकारको गीत चोरी भएको हुन्छ । किन गायकगायिका र नायकनायिकाको नाम आयो भने उनीहरूले अगाडि आएर पर्फम गरेका हुन्छन् ।”

अधिकांश संगीतकारको सुरुको चाह गायक बन्ने नै हुने र त्यो सम्भव नभएपछि उनीहरू संगीतकार हुने गरेको सत्यराज बताउँछन् । संगीतको भाषामा ‘नपरेको आवाज’ भन्ने शब्द हुन्छ । त्यो भनेको गाउनयोग्य नभएको आवाज भन्ने हो । गायनमा रहर भए पनि ‘नपरेको आवाज’का कारण धेरैजसो संगीतकर्मी संगीतकार मात्र भएर बस्न बाध्य छन् ।

गाउने व्यक्तिको स्वरमा लालित्य, सम्मोहन र मिठास हुनुपर्छ । अन्यथा, गायन सम्भव हुँदैन । व्यक्तिअनुसार हाई र लो स्केल हुन्छ । कसैको मोटो त कसैको पातलो आवाज हुन्छ ।

“भ्वाइसको टोन त आ–आफ्नै हुन्छ । मिठास, लालित्य, सौन्दर्य र सम्मोहन मुख्य कुरा हो । यो हरेक गायकगायिकामा हुनैपर्छ । पहिलो कुरा त स्वर गर्ड गिफ्टेड नै हुन्छ,” सत्यराज भन्छन्, “बच्चा जन्मदै कस्तो आवाज लिएर आउँछ भन्ने हो । यो न कसैले चाहेर हुन्छ न बनाउँछु भनेर नै बन्छ । साधनाले माझ्ने भन्ने कुरा त अनुहारको मेकअपजस्तो मात्रै हो । भइरहेको अनुहारलाई थप इनह्यान्स कसरी गर्ने भन्ने हो ।”

भ्वाइसको अनुहार टोन भएको भन्दै सत्यराज यो व्यक्तिले जन्मदै लिएर आउने स्पष्ट पार्छन् । साधनाले सुर र चमक लगाउने, गाउन सक्ने बनाउने मात्र भएको उनी बताउँछन् ।

“जन्मदै ‘परेको आवाज’ नभएको व्यक्तिले साधनाले नै किशोर कुमार, जगजीत सिंहको वा भक्तराज आचार्यको जस्तो स्वर बनाउँछु भनेर हुँदैन,” सत्यराज अगाडि थप्छन्, “मिठासका लागि गायक नै हुनुपर्छ । कम्पोजरले भन्दा उसको कम्पोजलाई गायकले राम्रोसँग निभाउन सक्नुपर्छ । होइन भने त्यो राम्रो गायक नै होइन ।”

भारतमा आरडी बर्मनले गाएका गीत भिलेनलाई दिइँदैन थियो । हिरोलाई प्लेब्याक सिंगर किशोर कुमारकै स्वरको गीत दिइन्थ्यो । किनभने, उनीहरूको स्वरको प्रकृति नै त्यस्तै थियो ।

“अहिले पर्दामा हेर्दा नै जबरजस्ती गीत गाइरहेको देखिन्छ । चकलेटी हिरो हुन्छ, तर फाटेको कर्कस भ्वाइस हुन्छ । नसुहाउने भ्वाइस हुन्छ,” सत्यराज भन्छन्, “यो किन भइरहेको छ भने फ्रन्टमा आउने लोभ नै हो । गायकगायिकाको अटोग्राफ लिइन्छ, तर संगीतकार पर्दा पछाडि हुन्छ ।”

ठिकठाक मात्र गाउने संगीतकार पनि गायकगायिकाले देश–विदेश घुम्ने, स्टेज पाउने भन्ने आरिसपनले गाइरहेको उनको टिप्पणी छ । राम्रै गीत गाउने संगीतकारलाई आफूले ‘तिम्रो यो कम्पोज राम्रो स्वर भएको गायकगायिकालाई देऊ, यसले अझै न्याय पाउँछ’ भनेर सुझाव दिने गरेको उनी बताउँछन् ।

“गोपाल योञ्जन आफैँ राम्रो गायक हुँदाहुँदै उहाँलाई किन नारायणगोपाल नै चाहिन्थ्यो र ?,” सत्यराज प्रश्न गर्छन्, “त्यो बेला आफ्नो स्वर राम्रो हुँदाहुँदै पनि किन संगीतकारहरूले गायकगायिकालाई नै गाउन दिए भने उनीहरूले भन्दा बढी न्याय गर्छन् भनेर हो । स्रोताले राम्रो स्वर रुचाउँछन् भनेर हो ।”

केही संगीतकारको स्वर राम्रो भए पनि त्यस्तो संख्या निकै कम रहेको सत्यराज बताउँछन् । “गायन क्षमता नहुँदा नहुँदै पनि जबरजस्ती गीत गाउँदा कति अजम्बरी हुने गीत पनि न्याय नपाएर मरिरहेका छन् । समग्रमा संगीतको क्वालिटी नै खस्किरहेको छ,” सत्यराज भन्छन्, “ठिकै गाउनेलाई पनि उसले त गाइरहेको छ भने म किन नगाउने भनेर गलत ठाउँमा आत्मबल बढाइरहेको छ ।”

औसतभन्दा कम गायकी भएका संगीतकारले अहिले देश–विदेश टुर गरिरहेका उनी बताउँछन् । उनी भन्छन्, “खासमा गायनको टुर त गायकको हुनुपर्ने हो । कोही गायन, संगीत र शब्दरचनाको त्रिवेणी नै होला, त्यो त झन् राम्रो हो । त्यस्तो प्रतिभालाई सबैले प्रोत्साहन गर्नुपर्छ । तर, औसत वा त्योभन्दा तल स्वर छ भने जे क्षमता छ, त्यसैमा केन्द्रित हुँदा सबैको कल्याण हुन्छ ।”

कुन गायकगायिकाले गाउँदा थप राम्रो हुन्छ, उसकामा गीत पुग्नुपर्नेमा सत्यराज जोड दिन्छन् । “क्षमता नभई रहर मात्रै गर्दा एकातिर संगीतकार संगीतमा मात्रै केन्द्रित हुन नसक्दा राम्रो सिर्जना हुनसकेको छैन,” उनी भन्छन्, “अर्कोतर्फ, गायकले काम नपाएर बस्नुपरेको छ । संगीत, गीत र गायकमाथि अन्याय भइरहेको छ ।”

जबरजस्ती गाउँदा नेपाली संगीतको गुणस्तर नै खस्कने उनी बताउँछन् । भारतीय गायकगायिका यहाँ आएर नेपाली गीत सुने स्पष्टै कमजोरी भेटिने उनको भनाइ छ । त्यसले समग्र नेपाली गायन क्षमतामै प्रश्न उठाइन सक्नेतर्फ उनी चिन्ता व्यक्त गर्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro