site stats
बाह्रखरी :: Baahrakhari
कला
खचाखच स्टारकास्ट, रिस्कको भारी

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रमा स्टाहरूको भीड देखिन थालेको छ । यो बिलकुल नयाँ ट्रेन्ड नै त होइन, तर यस्तो क्रम बढ्दै गएको छ ।

गत वर्षको अन्तिममा नयाँ वर्षलाई लक्षित गर्दै रिलिज भएको चलचित्र ‘पिताम्बर’मा स्टार कलाकारको ठूलो भीड थियो । मुख्य भूमिकामा काम गरिरहेका समकालीनहरूको ओइरो थियो । प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, अनुपविक्रम शाही, दिव्या रायमाझी, सुरक्षा पन्तलगायत कलाकार यो चलचित्रमा थिए । 

योभन्दा करिब एक वर्षअगाडि जाँदा ‘पूजार सार्की’ त्यस्तै थियो । यसमा आर्यन सिक्देल, प्रदीप खड्का र पल शाह थिए, जो आफैँमा सिंगो सिनेमा एक्लो काँधमा बोकिसकेका कलाकार थिए । पछिल्लो समय एउटै चलचित्रमा धैरै स्टारकास्ट गर्ने ट्रेन्ड यसैले सुरुआत गरेको थियो ।

यही शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘के घर के डेरा : घर नं २’ मा पनि स्टारकास्टको लहर छ । निश्चल बस्नेत, खगेन्द्र लामिछाने, आर्यन सिक्देल, केकी अधिकारी, उपासना सिंह ठकुरीलगायत कलाकारको अभिनय छ ।

जेठ १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘महाभोज’मा पनि स्टारकास्टको ओइरो छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिक्देल, अञ्जना बराइली, मलिका महतलगायत कलाकारको अभिनय त्यसमा छ । 

अहिले फ्लोरमा जाने तयारीमा रहेका केही चलचित्रमा पनि स्टारकास्ट अनुबन्ध गरिएको छ ।

किन चलचित्र निर्माता र निर्देशक ग्याङस्टार मोहमा छन् ? के छन् यसका सहजता र जटिलता ? 

निर्देशक दिनेश राउत बीचमा स्टारकास्टको चलन नरहे पनि ‘पूजार सार्की’बाट पुनः सुरु भएको बताउँछन् । ‘पूजार सार्की’ दिनेशले नै निर्देशन गरेको चलचित्र हो ।

“मल्टी स्टारकास्ट राख्ने चलन बीचको केही दशक थिएन । पछिल्लो समय पूजार सार्कीबाट यो चलन पुनः देखियो भन्ने लाग्छ,” दिनेश भन्छन्, “पूजार सार्कीमा तीनजना स्टार एउटै चलचित्रमा राखिएको थियो ।”

मल्टी स्टारकास्ट मोहको कारण व्यापार नै रहेको उनी बताउँछन् । धेरै स्टार एउटै सिनेमामा राखे चलचित्रले राम्रो व्यापार गर्छ भन्ने सोचले काम गरेको उनको भनाइ छ ।

“पूजार सार्कीले राम्रो व्यापार गरेपछि मल्टी स्टार राखे राम्रो व्यापार हुन्छ कि भन्ने भ्रम मेकरमा रहेको देखिन्छ,” दिनेश भन्छन्, “तर, यो भ्रम मात्रै हो । मल्टी स्टारकास्ट हुँदैमा सिनेमा चल्छ भन्ने हुँदैन ।” 

बजारमा चलेका धेरै कलाकार एउटै सिनेमामा राख्दैमा चल्दैनन् भन्ने प्रमाणित भइसकेको उनी बताउँछन् । त्यसैले मल्टी स्टार सिनेमा बनाउने परिपाटी पनि दिगो नहुने उनको आकलन छ ।

“मल्टी स्टारकास्ट हुँदैमा सिनेमा चल्छ, व्यापारिक रूपमा सफल हुन्छ भन्ने हुँदैन । यो देखिइसकेको पनि छ,” दिनेश भन्छन्, “सिनेमामा जतिसुकै स्टारकास्ट भए पनि कन्टेन नै कन्भिन्सिङ हुनुपर्छ ।” 

चरित्र र कथा विश्वसनीय नभएसम्म चलचित्र व्यापारिक रूपमा सफल नहुने उनको भनाइ छ । चलचित्र सफल हुन चरित्र र उसको यात्रा नै कन्भिन्सिङ हुनुपर्नेमा उनी जोड दिन्छन् ।

चलचित्र क्यारेक्टरको विश्वसनीय र कन्भिन्सिङ आरोह–अवरोहले मात्र चल्ने दिनेश बताउँछन् । त्यसैले कति स्टारहरू आफ्नो चलचित्रमा राख्नेभन्दा पनि स्टोरी र क्यारेक्टरको जर्नी कसरी विश्वसनीय बनाउने भन्नेमा मेकरको ध्यान जानुपर्ने उनको धारणा छ ।

रिस्क कम गर्न भनेर सिनेमामा मल्टी स्टारहरूलाई राख्ने गरिएको भन्दै उनी यसले रिस्क थप बढाइरहेको बताउँछन् । बजेट, स्क्रिन टाइमजस्ता विषयले मल्टी स्टारहरूलाई एउटै सिनेमामा राख्दा चलचित्र बिग्रने जोखिम बढी हुने उनको भनाइ छ ।

“मल्टी स्टारहरू धेरै हुनेबित्तिकै चलचित्रलाई ब्यालेन्स गर्न कठिन हुन्छ । हरेक पात्रको जर्नीलाई विश्वसनीय बनाउँदै लैजानुपर्छ । स्टार भएपछि पक्कै पनि स्क्रिन टाइमको कुरा आउँछ,” दिनेश भन्छन्, “मल्टी स्टार भएपछि उसको क्यारेक्टरलाई कसरी जस्टिफाई गर्दै जाने भन्ने जटिलता पनि हुन्छ । लेखनमै समस्या हुन्छ ।”

धेरै स्टार कलाकार राख्दा उनीहरूको चरित्रको गहिराइमा कति जान सकिन्छ वा सकिँदैन भनेर सोच्नुपर्ने अन्यथा सिनेमा अनब्यालेन्स हुने उनको भनाइ छ । सिनेमा अनब्यालेन्स हुनेबित्तिकै व्यापारिक सफलताको सम्भावना कम हुने उनी बताउँछन् ।

स्टारहरू धेरै हुँदा बजेट बढ्ने र जति बढी बजेट भयो त्यही अनुपातमा रिस्क फ्क्याटर पनि उच्च हुँदै जाने उनी बताउँछन् ।

यसमा सबैभन्दा ठूलो चुनौती नै लेखनमा हुने निर्देशक प्रदीप भट्टराईको अनुभव छ । हरेक चलचित्रको केन्द्रमा एउटा व्यक्ति हुने तर चार/पाँचजनालाई नै समान स्क्रिन टाइम र कथामा सेन्ट्रल पात्रका रूपमा अगाडि बढाउन कठिन हुने उनी सुनाउँछन् ।

पब्लिसिटी र दर्शकलाई भने रिलिजपूर्व विश्वास जगाउन सहज हुने उनको भनाइ छ । “धेरै स्टार हुँदा सबैभन्दा धेरै फाइदा पब्लिसिटी र दर्शकलाई सिनेमा राम्रो छ भनेर विश्वास दिलाउन हुन्छ,” निर्देशक प्रदीप भन्छन्, “स्टार भनेको आफ्नो समयमा उत्कृष्ट चलचित्र दिएर दर्शकको विश्वास जितेका कलाकार हुन् । उनीहरू एउटै सिनेमामा देखिँदा दर्शकमा पक्कै पनि कथा राम्रो भएकैले एउटै सिनेमामा काम गर्न तयार भए होला भन्ने हुन्छ ।”

हरेक स्टारका आआफ्नै फ्यान हुने भएकाले उनीहरू आफ्नो प्रिय कलाकारको चलचित्र हेर्न हलमा जाने सम्भावना पनि रहन्छ । धेरै स्टारलाई एउटै फ्रेममा हेर्न जानेको संख्या पनि ठूलो हुन्छ भन्ने विश्वास निर्माता र निर्देशकमा हुने उनी बताउँछन् ।

फाइदासँगै चुनौती पनि रहेको उनी सुनाउँछन् । हरेक चलचित्रमा एक मात्र हिरो हुने सम्भावना रहने भएकाले आफूले मन पराएको हिरो सेन्ट्रलमा नहुँदा दर्शक निराश हुने र त्यसको असर व्यापारमा देखिन सक्ने उनको भनाइ छ ।

“यदि, आफूले मन पराएको हिरो हलमा गएर हेर्दा साइड रोलमा रहेछ भने त्यसले दर्शक भड्किन्छन् । ६ जना स्टारलाई नै मुख्य भूमिकामा देखाउन सम्भव हुँदैन,” प्रदीप प्रस्ट पार्छन्, “सबै स्क्रिप्टमा मुद्दा केन्द्रमा हुँदैन । होइन भने एउटा चलचित्रमा ६ जनालाई हिरो बनाउन सम्भव हुँदैन । चलचित्रमा क्यारेक्टर ब्यालेन्स गर्ने काम सबैभन्दा कठिन काम हो ।”

मल्टी स्टार राखेर चलचित्र बनाउँदा निर्माणकै क्रममा कलाकार कलाकार, कलाकार र निर्देशक तथा कलाकार र निर्माताबीच टसल भएर चलचित्र बिग्रने सम्भावना उच्च हुने उनी औँल्याउँछन् ।

सुरुमा हरेक मल्टी स्टारलाई ‘तपाईं नै सेन्ट्रल क्यारेक्टर’ भनेर अनुबन्ध गराउने तर सेटमा पुग्दा साइड रोलमा खुम्च्याइए टसलको सम्भावना उच्च हुने उनी बताउँछन् । कथा सुनाउँदा ‘तपाईं नै सेन्ट्रल क्यारेक्टर’ भनिए र यथार्थमा त्यस्तो नभए सुरु हुन सक्ने टसलले चलचित्र बिग्रने सम्भावना रहने उनी सुनाउँछन् ।

चलचित्रमा जति धेरै स्टार हुन्छन् त्यति नै रिटर्न्सको रिस्क स्वाभाविक रूपमा बढ्दै जाने प्रदीपको भनाइ छ । “एकजना स्टार हुँदा र पाँचजना स्टार राख्दा बजेटमा ठूलो अन्तर पर्छ,” उनी भन्छन्, “स्टार कलाकार धेरै राखेपछि बजेट स्वतः बढ्छ । बजेट बढेसँगै रिस्क पनि बढ्छ ।

स्क्रिप्टमा लगानी गर्नुपर्ने बजेट स्टार कलाकार राख्दा पारिश्रमिकमा खर्च हुने उनको बुझाइ छ । स्क्रिप्ट कमजोर हुनेबित्तिकै सिनेमा उत्कृष्ट नहुने र रिस्क स्वतः बढ्ने उनको भनाइ छ ।

समयका हिसाबले पनि मल्टी स्टारहरूलाई लिएर काम गर्न निकै जटिल रहेको प्रदीप बताउँछन् । “हाम्रो सिनेमा उद्योगमा एकैजनाले एउटै वर्ष धेरै चलचित्रमा काम गर्ने चलन छ । यस्तो उद्योगमा चार/पाँचजना स्टारलाई एउटै चलचित्रमा एकै समय काम गराउन पनि कठिन छ,” उनी भन्छन्, “एकजनाको समय मिले अर्कोको मिल्दैन । एउटै समयमा काम गर्न पनि कठिन छ ।”

एउटै फ्रेममा वा चलचित्रमा स्टारहरूलाई काम गराउन जति सहज छ, त्यति नै चुनौतीपूर्ण पनि रहेको प्रदीपको निष्कर्ष छ ।   

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्