काठमाडौं । कृषा चौलागाईंको निर्देशनमा निर्माण हुने चलचित्र ‘पिताम्बर’को औपचारिक निर्माण घोषणा गरिएको छ । थिम पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माण घोषणा गरिएको हो ।
निर्मात्री तथा निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पछि यो दोस्रो निर्देशन हो । माघ अन्तिमबाट छायांकन सुरु हुन लागेको चलचित्रमा प्रदीप खड्का, सुरक्षा पन्त, प्रमोद अग्रहरि र कामेश्वर चौरासिया, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही र दिव्यदेव अनुबन्ध भएका छन् ।
केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमाको निर्मातामा विशाल चौलागाईं हुन् ।
चलचित्र तीन चरणमा छायांकन हुनेछ । हुस्सुको सिन खिच्नुपर्ने भएकाले माघमा सिनेमाको पहिलो चरणको छायांकन गर्ने तयारी छ ।
चलचित्रमा प्रदीप एक्सन भूमिकामा देखिनेछन् । उनी सिनेमाको दोस्रो चरणको छायांकनमा जोडिनेछन् ।
चलचित्रको कथा प्रदीप भारद्धाजको लेखन रहेको छ ।