काठमाडौं । गीतकार तथा कवि मुकुन्द पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । जाजरकोट र रुकुममा गएको भूकम्पमा आधारित गीत उनले सार्वजनिक गरेका हुन् ।
गीतमा स्वर तथा संगीत सागर अधिकारी (शरद)को रहेको छ । भूकम्पबाट स्थानीयले भोगेको पीडा, मानवीय एवं भौतिक क्षति र त्यसबाट सिर्जित समस्या गीतमा उल्लेख छ ।
गीतकार पौडेलले मंगलबार आफ्नै युट्युब च्यानलबाट गीत रिलिज गरेका हुन् ।
यसअघि पनि थुप्रै गीत रिलिज गरिसकेका पौडेलले अन्यभन्दा यो गीत फरक रहेको बताए । “यो गीत अरुभन्दा फरक छ । जाजरकोट र रुकुम (पश्चिम)का स्थानीयले भूकम्प जाँदा झेल्नु परेको पीडालाई गीतमार्फत भनेको छ,” पौडेलले भने, “अघिल्लो प्राकृति प्रकोपको घाउ खाटा बस्न नपाउँदै पुनः थपिँदा त्यसले पुर्याउने क्षति र चोट गीतमा समेटेको छु ।”
जनता र राज्यले आवश्यक सतर्कता र पूर्वतयारी नगर्दा पटकपटक ठूलो क्षति व्यहोर्नु परिरहेको वास्तविकतालाई गीतले उजागर गरेको छ । भूकम्पजस्ता प्राकृतिक प्रकोप एक ठाउँमा गए पनि त्यसले पूरै देश नै दुख्ने गरेको पौडेलको गीतमा उल्लेख छ ।
पौडेलका चारवटा कविता तथा मुक्तक संग्रह पनि बजारमा आइसकेका छन् । तनहुँको रिस्ती बाहुन पोखरामा २०११ सालमा जन्मिएका उनी नेपाल आँखा अस्पतालको जागिरबाट सेवानिवृत्त भएपछि साहित्यमा सक्रिय छन् ।