जल्ले राख्यो मुलुकमा वीरताको गाथा
नेताजीले ढाल्न थाले त्यही सगरमाथा ।
सहिदले राणाशाही ढलाएर छाडे
आज उनको गरिमा खै ? गलाएर गाडे ।
वीर पुर्खा निडर थे, स्वाभिमानी थिए
गोली थाप्न तयार भै, स्वतन्त्रता दिए ।
स्रष्टा–द्रष्टा उनै थिए पौरखीमा वेश
पौरखीका पसिनाले ज्यूँदो छ यो देश ।
कालजयी कविता झैं पुर्खा थिए स्थिर
पोख्थे ऊर्जा मुलुकमा उठाएर शिर ।
राणाशाही पल्टाउने क्रान्ति सल्काइदिन्थे
अत्याचारी युगचक्र पनि पल्टाइदिन्थे ।
हितकारी नेपालीका धर्म, गङ्गा थिए
क्रान्तिकारी दशरथ, शुक्रराज थिए ।
राख्यो जल्ले कीर्ति ठूलो युगौंसम्म दामी
तिनै हाम्रा गरिमा हुन् सपुत हुन् नामी ।
कोर्रा खाँदा वीर सहिद बोल्थे हाँसी–हाँसी
झुकी माफी माग्दैनथे चढ्थे बरु फाँसी ।
गोली खाने पुर्खा थिए अधिकार निम्ति
सहिदको नसाभित्र थियो वीर शक्ति ।
उम्ल्यो श्रध्दा हृदयमा आभारी छौं सारा
आयो बग्दै सृजनको क्रान्तिकारी धारा ।
पुर्खालाई सम्झिएर लाख बत्ती बाल्छु
आज फेरि फैलिएको अन्धकार फाल्छु ।
नागार्जुन न.पा.–१, रानीवन, काठमाडौँ