site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बुद्ध एयर दाजु–भाइ विवाद : साधारणसभा नै निर्णयविहीन

काठमाडौं । बुद्ध एयरमा दाजुभाइको विवाद चरमोत्कर्षमा पुगेको छ । जसले गर्दा यसपालिको वार्षिक साधारणसभा (एजीएम) निर्णयबिहीन बन्न पुगेको छ ।

एक वर्षयता दाजु वीरेन्द्रबहादुर बस्नेत र भाइ शिवेन्द्रबहादुर बस्नेतबीच आन्तरिक विवाद चलिरहेको छ । दाजु वीरेन्द्रले बुद्ध एयरमा एकलौटी ढंगले ‘मानोपोली’ गर्दै आइरहेको भाइ शिवेन्द्रको गुनासो छ । दाजुुभाइको आन्तरिक विवाद अदालतमासमेत पुगेको छ ।

बुद्ध एयरले सार्वजनिक सूचना निकालेर वार्षिक साधारणसभा (एजीएम) पुस २७ गते बोलाएको थियो । उक्त एजीएममा सबै सञ्चालकहरू उपस्थित भए । तर, एक वर्ष पहिलेदेखि सुरु भएको दाजुभाइ विवादले कम्पनीको तर्फबाट निर्णयार्थका लागि प्रस्तुत गरिएका एजेन्डा पारित हुन सकेनन् । प्रस्तुत एजेन्डामा ४० प्रतिशत सेयरधनीहरूको तर्फबाट एजीएममा सहभागी भएका प्रतिनिधिहरूले इन्कार गरे । 

त्यसपछि एजीएममा प्रतिवेदन र आर्थिक विवरणहरू पारित हुन सकेको नसकेको स्रोतले जानकारी दियो । शिवेन्द्रले पनि एजीएमबाट कुनै पनि निर्णय हुन नसकेको बताए ।

“दाइहरूले हामीलाई पेलेर जान खोजे । एजीएममा प्रस्तावहरू प्रस्तुत गरियो, हामीले इन्कार गर्‍यौं,” उनले भने, “भोटिङ भयो हामीले सबैमा इन्कार गर्‍यौं । फाइनान्सिएल कुरामा हामीले ‘नोट अफ डिसेन्ट’ लेखेका छौं । त्यसको जवाफ मागिरहेका छौं । त्यसका लागि फाइल गर्दैछौैं ।”

कसरी सुरू भयो दाजुभाइबीचको विवाद ?

शिवेन्द्र बुद्ध एयरका संस्थापक सुरेन्द्रका कान्छा छोरा हुन् । वीरेन्द्र जेठा छोरा हुन् ।  सुरुमा बुबा सुरेन्द्रको नाममा बुद्ध एयरको सेयर स्वामित्व ८० प्रतिशत थियो । उनका जेठा छोरा वीरेन्द्रको नाममा २० प्रतिशत सेयर थियो ।

बुबा सुरेन्द्रबहादुरको निधन भएसँगै उनका छोराहरू (वीरेन्द्र र शिवेन्द्र)बीच सम्पत्तिका विषयमा विवाद भएको हो । बुद्ध एयर २५ वर्षेदेखि नेपाली आकाशमा उडान भर्ने सबैभन्दा ठूलो निजी विमानसेवा कम्पनी हो । उसले १७ वटा एटीआर विमानबाट सेवा दिइरहेको छ । उसले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा उडान भर्दै आएको छ । बुद्ध एयरले नेपालका १४ स्थान र भारत र भुटानमा (चार्टर्ड) पनि उडान गर्दै आएको छ । 
 
शिवेन्द्रले गत वैशाख २७ गते पत्रकार सम्मेलन गरी शिवेन्द्रले ४० प्रतिशत सेयरधनीको हक खोसिएको जिकिर गरेका थिए । त्यसपछि बुद्ध एयरले शिवेन्द्रबहादुर बस्नेतसँग सम्बन्ध नरहेको जानकारी गराएको थियो ।
 
सुरेन्द्रको निधनपछि उनको नाममा रहेको बुद्ध एयरको ८० प्रतिशत सेयरमध्ये ४०–४० प्रतिशत दुई भाइको भागमा परेको थियो । शुरुमै वीरेन्द्रसँग पहिला २० प्रतिशत सेयर थियो । बाँडफाँडपछि वीरेन्द्रको स्वामित्व ६० प्रतिशत पुग्यो । बाँकी ४० प्रतिशत सेयर स्वामित्व शिवेन्द्रका परिवारका सदस्यको नाममा छ ।

शिवेन्द्र लामो समयदेखि अमेरिकामै बसोबास गर्छन् । उनी २०५६ सालमा बुद्ध एयरबाट अलग भएका थिए । उनी परिवारका सदस्यको सेयर अख्तियारी लिँदै दाजुसँग हिसाब–किताब माग गर्न आएका हुन् ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro