site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बाँझो जमिन उपयोगबारे श्रम मन्त्रालय र विभिन्न संस्थाबीच छलफल

काठमाडौं । कृषि उत्पादन, उद्यमशीलता र बाँझो जमिनको उत्पादनशील उपयोगसँग सम्बन्धित विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कनेक्ट किसान, मौलिक बजार, डिग फर नेपाललगायत संघ–संस्थासँग विशेष छलफल सम्पन्न गरेको छ ।

श्रममन्त्री शरदसिंह भण्डारीको अध्यक्षतामा मंगलबार सम्पन्न उक्त छलफल कार्यक्रममा मन्त्रालयका सचिवालय टोली, वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई, राष्ट्रिय सीप विकास प्रतिष्ठान भैँसेपाटीका पदाधिकारीहरू तथा अन्य सरोकारवालाको सहभागिता थियो ।

Argakhachi Cement Island Ad

बैठकमा ‘डिग फर नेपाल’ अभियानका महासचिव सुमन दाहालले युवालाई कृषि–आधारित उद्यमशीलतामा आकर्षित गर्ने रणनीति प्रस्तुत गर्दै ‘एक पालिका, एक उत्पादन ब्रान्डिङ’ अवधारणा अन्तर्गत स्थानीय खरिद–बिक्री केन्द्र (मौलिक बजार) र स्थानीय परिकारमा आधारित रैथाने स्वादघर (मौलिक भान्छाघर) स्थापना गर्नुपर्ने धारणा राखे । साथै विद्यालय तहबाटै कृषि र उद्यमशीलताको शिक्षा दिनुपर्ने र स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत आर्थिक सशक्तीकरण गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, कनेक्ट किसानका निर्देशक राजन दाहालले कक्षा कोठाबाटै उद्यमशीलता सिकाउने, वैज्ञानिक कृषि प्रविधिको प्रयोग बढाउने, व्यावसायिक कृषिसम्बन्धी तालिम सञ्चालन गर्ने र युवालाई सीपयुक्त उद्यमीका रूपमा विकास गर्ने योजनाहरू प्रस्तुत गरे ।

बैठकमा केन्द्र, प्रदेश र स्थानीय सरकारबीच नीति, कार्यक्रम तथा स्रोतको समन्वय गर्दै कृषि, रोजगारी र सीप विकासमा सहकार्य गर्न सकिने निष्कर्ष निकालिएको थियो । छलफलमा बाँझो जमिनको उत्पादनशील उपयोग, युवालाई कृषिमा सहभागी गराउँदै स्वदेशमै उद्यमशील अवसर सिर्जना गर्ने सम्भावनाबारे पनि गहन छलफल भएको थियो ।

श्रम मन्त्रालयले समन्वयकारी ढ‌गबाट रोजगारी सिर्जना, युवाशक्ति परिचालन र कृषिको आधुनिकीकरणमार्फत राष्ट्रिय उत्पादन वृद्धि गर्ने नीति अवलम्बन गरिरहेको स्पष्ट सन्देश उक्त छलफलबाट प्रस्टिएको छ ।

सरकार र निजी क्षेत्रको साझेदारीमा अघि बढाइने यी कार्यक्रमले राष्ट्रिय रोजगारी प्रवर्द्धन अभियानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्