site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काठमाडौं महानगरको श्रम बैंकमा दुई हजार आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमा दुई हजार आवेदन दिइएको छ । गएको भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन गरेको मागानुसार हालसम्म दुई हजार आवेदन आएको महानगरको प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन् ।

प्रमुख राईका अनुसार, आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिइएको थियो । यसरी आवेदन र दक्ष कामदारलाई महानगरले नियमित रूपमा काममा खटाइरहेको प्रमुख राईले जानकारी दिइन् ।

Argakhachi Cement Island Ad

अहिले कामदार सम्पदा क्षेत्रको सरसफाइ र त्यहीँकै अरू कामका निम्ति खटिएको उनले जानकारी दिइन् । अहिले दैनिक १५० कामदार महानगरकै विभिन्न काममा खटिएको उनको भनाइ छ ।

आवेदनमध्ये कुनै सीप नभएकालाई सीप सिकाएरै काममा लगाउने तयारी भइरहेको उनले जानकारी दिइन् । “यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण र सरसफाइ, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ,” प्रमुख राईले भनिन्, “बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैंकमा श्रमिकलाई आबद्ध गराइएको हो ।”

उनका अनुसार, महानगरले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम, ज्यालादर, कामको प्रकार, फोन नम्बर र श्रमिकको ठेगानालगायत विवरण उल्लेख हुन्छ ।

यसरी सूचीकृत भएका श्रमिकलाई आवश्यकतानुसार जोसुकैले पनि सीप क्षमताका आधारमा काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गर्न सक्नेछन् । चालु आवका निम्ति काम गर्न इच्छुक व्यक्तिले काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण आवेदनमा भर्नुपर्ने हुन्छ ।

आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख छन् । श्रमिकले फाराम भर्दा उक्त फाराम आफू बसेको वडा अथवा महानगरको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्छ । श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि काठमाडौंमा बसोबास भने भएको हुनुपर्छ । रासस

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्