काठमाडौं । एक दशकअघि रौतहटको एक ‘टिनएजर’लाई क्रिकेटप्रति खासै चासो थिएन । उनी आफ्नै दैनिकीमा मस्त थिए ।
सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा नेपाल पनि छनोट भएपछि क्रिकेटप्रति उनको कौतूहल बढ्यो । उनले नेपाली टिममा को–को छन् भन्ने बुझ्न हरेक दिन दैनिक अखबारका अन्तिम पृष्ठका खेलकुद समाचारमा क्रिकेट खोज्न थाले ।
एक दिन उनले पढे कि पारस खड्काको कप्तानीको नेपाली टिम पहिलोपटक विश्वकपमा छनोट भएको छ । यसपछि उसको टिनएज मस्तिष्कमा क्रिकेटर पारस खड्का अमिट छाप बन्यो ।
माथिका यी हरफ पंक्तिकारकै अनुभव हो । नेपाली क्रिकेट भन्ने बित्तिकै पंक्तिकारजस्ता लाखौँ क्रिकेट समर्थकले अझै सुरुमै स्मरण गर्ने नाम हो, पारस खड्का ।
पहिलो पटक विश्वकपको श्रेणीमा उक्लिनु र आईसीसीबाट एक दिवसीय मान्यता पाउनु पारसको कप्तानीमा नेपालले पाएको सफलताका केही उदाहरण मात्र हुन् । मैदानमा भटाभट विकेट गुमाएर टिम पराजयको संघारमा रहँदा पनि पारस हुन्जेल ‘पारस छन् नि अझै’ भन्ने भावले मनलाई हार्न दिँदैन थियो ।
नेपाली राष्ट्रिय टिममा पारसको योगदान साँच्चै अतुलनीय छ । यसैकारण पारसको सम्मानमा क्यानले उनको ७७ नम्बर जर्सी प्रयोग गर्न नपाउने नियम बनाएको छ ।
करिब दुई दशक लामो करियरलाई विश्राम दिएको केही वर्षपछि गएको असोज ६ गतेको निर्वाचनबाट क्यानको नयाँ कार्यसमितिमा पारस पनि आए । पारस क्यानकै सबैभन्दा महत्वपूर्ण पद सचिवमा निर्वाचित भए । नेपाली क्रिकेटमा आमूल परिवर्तन खोजिरहेका क्रिकेट समर्थकलाई यो सानो खुसीको विषय थिएन ।
सचिवमा निर्वाचित भएयता पारसले काम नगरेका र गर्न नखोजेका होइनन् । वर्षौँदेखि वार्षिक कार्यक्रमविहीन क्यानले नयाँ क्यालेन्डर जारी गर्यो । समर्थककै एक समूह क्यालेन्डरमा समावेश प्रतियोगिताप्रति सन्तुष्ट देखिँदैन । सामाजिक सञ्जालका भित्ताहरूमा असन्तुष्टि छरपस्ट देखिन्छ । तर, क्यालेन्डर सार्वजनिक गरेर क्यानले केही नयाँ कदम चालेको सत्यलाई नकार्न सकिँदैन ।
क्यानको प्रतियोगिता सहज सञ्चालनका निम्ति प्रायोजक खोज्न पनि पारसको भूमिका तारिफयोग्य छ । नेपाली क्रिकेटमा ‘पारस’ आफैँमा एउटा ब्रान्ड हुन् । प्रायोजकमा यसले भूमिका खेल्ने निश्चित छ ।
क्यानको कार्यसमितिमा आएयता पारस उत्तिकै विवादमा पनि तानिइरहेका छन् । महिला टिमको नयाँ नेतृत्व चुनिँदा निवर्तमान कप्तान रुविना क्षेत्री सन्तुष्ट बन्न सकिनन् । नेपाली पुरुष क्रिकेटमा खेलाडी पारसको जति योगदान छ, महिलतर्फ उत्तिकै योगदान रुविनाको छ ।
महिला टिमको नेतृत्व परिवर्तन गर्दा क्यानले तत्कालीन कप्तान रुविनासँग समन्वय गरेन वा आवश्यक नै ठानेन । यसमा सबै दोष पारसको नहोला, तर पूर्वखेलाडी र वर्तमान सचिवका नाताले उनले पूलको काम गर्न सक्नुपर्थ्यो ।
क्यानको जनरल म्यानेजर (जीएम) नियुक्तिमा पारसले ‘नातावाद’ घुसाएको चर्चा चर्को छ । कार्यसमिति सदस्यदेखि क्यानले खुलाएको जीएम दरखास्त आह्वानका आवेदकले समेत यसमा सार्वजनिक रूपमै ‘व्यक्तिगत स्वार्थ’ देखिएको टिप्पणी गरिरहेका छन् ।
जीएम नियुक्ति प्रक्रिया त्रुटिपूर्ण भएको भन्दै आवेदकको एक समूह न्यायका निम्ति सर्वोच्च अदालत जाने अन्तिम तयारीमा छ ।
क्यानले पुस २३ गते नयाँ जनरल म्यानेजरमा उत्सव ढुंगानालाई नियुक्त गरेको थियो । असन्तुष्ट समूहले पारसविरुद्ध आफू आवद्ध संस्था ‘बलियो नेपाल’का पूर्वसहकर्मीलाई जीएममा ल्याउन गलत प्रक्रियाको सहायता लिएको आरोप लगाएको छ ।
पारस बलियो नेपालका संस्थापक सदस्य हुन् भने ढुंगाना सोही संस्थाका तत्कालीन कार्यक्रम संयोजक हुन् । यसलाई बलियो नेपालकै कर्मचारीले पुष्टि गरिसकेका छन् ।
दैनिक आर्थिक कार्य, रणनीति निर्माण र व्यवस्थापनको जिम्मेवारी जीएमको हुन्छ । क्यानको अर्थ व्यवस्थालाई पारदर्शी बनाउन पूर्वसहकार्यका कारण पारसलाई ढुंगाना भरोसायोग्य लागेको हुनसक्छ । ढुंगानाको योग्यता अब्बल दर्जाको भए पनि नियुक्तिमा ‘नातावाद’को सहारा लिनु कसैगरी उचित र सकारात्मक पक्ष होइन । पारसले यसलाई बुझ्नुपर्छ ।
अन्त्यमा, यो पंक्तिकार पारस, क्यान वा क्यानअन्तर्गतका कुनै एक व्यक्ति÷पक्षको विरोधी हुँदै होइन । अरू जस्तै म पनि क्यानमा पारसबाट आमूल परिवर्तन कुरिरहेको एक समर्थक हुँ । क्यानमा उनको कार्यकालको सुरुआतमै देखिएका यी विवाद चाँडै पार लागून् । शुभकामना ।