site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बी’ डिभिजन लिग नहुने खतरा, एन्फासँग छैन बजेट
Tiktok banner adTiktok banner ad

काठमाडौं । पटक–पटक मिति सारिए पनि निर्धारित समयमा हुन नसकेको सहिद स्मारक ‘बी’ डिभिजन लिगको यो सिजन आयोजना नै नहुने खतरामा पुगेको छ ।

एन्फाले तीनपटक लिगको मिति परिवर्तन गरिसकेको छ । तर, अझै पनि लिग समयमै हुन सकेन । र, स्वयम् एन्फासँग पनि कहिलेबाट लिग हुन्छ भन्ने स्पष्ट जवाफ छैन ।

गत फागुन १७ गते सम्पन्न एन्फा कार्यसमितिको बैठकले चैत २९ गतेबाट ‘बी’ डिभिजन लिग गर्ने निर्णय गरेको थियो । तर, यसपटक पनि लिग हुन सकेन । अब लिग नै हुन्छ भन्नेमा शंका उब्जिएको छ । यद्यपि, एन्फाका प्रवक्ता सुरेश शाह भने लिग गराउनका लागि आफूहरूले पहल गरिरहेको बताउन छाड्दैनन् ।

“सचिवालयले क्लबहरूसँग समन्वय र छलफल अगाडि बढाइराखेको छ । चाँडै नै एन्फा र बी डिभिजन लिगका क्लबहरू छलफलमा बसेर लिगको नयाँ मिति घोषणा गरिनेछ ।

लिगका क्लबहरूसँग छलफलका लागि एन्फा प्रक्रियामा छ । यसबारे चाँडै नै निर्णय आउने छ,” एन्फा प्रवक्ता शाहले बाह्रखरीसँग भने ।

‘बी’ डिभिजन लिगको उतारचढाव
पंकजविक्रम नेम्वाङ नेतृत्वमा आएपछि बसेको विशेष साधारणसभाले फागुन अन्तिम सातादेखि ‘बी’ डिभिजन लिग गर्ने निर्णय गरेको थियो । तर, समयमा लिग सुरु गर्न सम्भव नहुने भएपछि एन्फा पुस २६ गते ‘बी’ डिभिजन लिगका क्लबहरूसँग छलफलमा बस्यो । एन्फा र क्लबहरूको उक्त छलफलपछि लिग चैत १५ गतेदेखि सुरु गर्ने निर्णय भयो ।

त्यसलाई २०७९ पुस २९ गते बसेको आकस्मिक कार्यसमिति बैठकबाट चैत १५ गतेबाट ‘बी’ डिभिजन लिग सुरु गर्ने निर्णय अनुमोेदन गरियो । त्यहीअनुसार एन्फाले क्लबहरूलाई तयारी गर्न भनेर पत्र पनि काटेको थियो । तर, दोस्रो पटक तय भएको उक्त मितिमा पनि एन्फाले ‘बी’ डिभिजन लिग सञ्चालन गर्न नसक्ने भयो ।

यसैकारण लिगलाई फागुन १७ मा सम्पन्न एन्फाको विवादित बैठकले चैत २९ गतेबाट गर्ने निर्णय ग¥यो । तर, क्लबहरूलाई त्यसको जानकारी गराइएन ।

“लिग चैत १५ गतेदेखि सुरु हुन नसकेपछि एन्फाको कार्यसमिति बैठकले २९ गतेदेखि आयोजना गर्ने निर्णय ग¥यो रे भन्ने सुन्यौं । तर, हामीले त्यसबारे अहिलेसम्म आधिकारिक जानकारी अझै पाएका छैनौंं,” ‘बी’ डिभिजन लिगको क्लब सरस्वतीका अध्यक्ष शिक्षित पराजुलीले भने ।

चैत १५ गते एन्फाले क्लबहरूलाई खेल्नका लागि नभइ नयाँ मितिको बारेमा छलफल गर्नका लागि बोलायो । छलफलपछि एन्फाले चैत १८ गते बस्ने कार्यसमितिको बैठकमा क्लबहरूलाई ४५ दिनभित्र क्षतिपूर्ति दिनुपर्ने मागलाई राख्ने सहमति गरेको थियो ।

तर, सहमति कार्यान्वयन नभएको भन्दै लिगका १३ वटा क्लबहरूले चैत २७ गते एन्फा अध्यक्ष नेम्वाङलाई पत्र लेख्दै क्षतिपूर्तिको माग गरे । लिगका कुल १४ क्बलबहरूमध्ये प्लानिङ ब्वाइज युनाइटेडले अध्यक्ष नेम्वाङलाई बुझाएको पत्रमा हस्ताक्षर गरेको थिएन ।

“हरेक दिन नयाँ घटनाक्रम आइरहेका छन् । लिग निर्धारित समयमा नहुँदा आक्रोशित क्लबहरू एन्फामा ताला लगाउने तयारीमा छन् भन्नेसम्म सुनिएको छ । लिग समयमा नहुँदा क्लबहरू कसरी क्षतिपूर्ति लिन सकिन्छ भन्ने छलफलमा छन् । पर्याप्त प्रायोजक नहुँदा लिग सञ्चालनका लागि एन्फासँग स्रोत छैन, एन्फाका एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बाह्रखरीसँग भने,  फिफाबाट आउने पैसाका लागि एन्फाले अझै लिगको बारेमा निर्णय पठाउन सकेको छैन । फिफाले तीन वटै लिगका लागि एकमुष्ट रुपमा पैसा दिन्छ । एन्फा भने फिफाले पैसा पठाए लिगबारे निर्णय गर्ने तयारीमा छ । फिफा भने एन्फाले लिगबारे निर्णय पठाएपछि मात्र भुक्तानी दिन्छौँ भन्ने जवाफ पठाउँछ ।”

गत चैत १८ गते सम्पन्न एन्फाको आकस्मिक कार्यसमिति बैठकले ‘बी’ डिभिजन लिग सञ्चालनका लागि आवश्यक तीन करोड ९३ लाख एक हजार ८१३ रुपैयाँ रकम फिफासँग माग गर्ने निर्णय गरेको थियो । साथै त्यसबाट अपुग हुने बजेट राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग माग्ने निर्णय गरेको थियो ।

तीन वटै लिग सञ्चालन गर्न एन्फालाई करिब २० करोड रुपैयाँ आवश्यक पर्छ । तर, अहिले एन्फासँग स्थिति बुझ्दा संघमा १० करोडभन्दा धेरै छैन ।

“एन्फाले प्रायोजक नपाएको कुरा सबैलाई थाहा नै छ । लिगका लागि क्लबहरूले पैसा मागिरहेका छन् । एन्फासँग लिगका लागि आवश्यक आर्थिक स्रोत छैन । ‘बी’ डिभिजन लिग हुन नसकेको कारण यही हो । यसैकारण एन्फा पनि यो मितिदेखि लिग सुरु हुन्छ भन्न नसक्ने अवस्थामा छ,” ती पदाधिकारीले थपे ।

यता, सरस्वती क्लबका अध्यक्ष पराजुली एन्फाले आगामी केही साताभित्र पनि लिगबारे निर्णय नगरे क्लबहरू दबाबमूलक आन्दोलनमा उत्रिने बताउँछन् ।

“फिफाले पैसा दिएको छैन त्यसैले हामी गर्न सक्दैनौं भनेर एन्फाले आधिकारिकरुपमा भन्न सकेको छैन । तर, यो मितिदेखि लिग सुरु गछौँ भनेर नयाँ मिति पनि दिन सकेको छैन । लिग चैत १५ गतेदेखि हुन नसकेपछि २९ गतेलाई सारियो भन्ने सुनिएको थियो । लिग हुन्छ रे भनेपछि हामीले आफ्नो प्रशिक्षणलाई जारी राख्यौं । तर, लिगबारे आजसम्म केही अत्तोपत्तो छैन,” एन्फाका पूर्वमानार्थ उपाध्यक्ष पराजुलीले भने, “लिग निर्धारित समयमा हुन नसक्दा क्लबहरूले व्यहोरेको क्षतिपूर्ति अबको १५–२० दिनभित्र नदिने हो भने ‘बी’ डिभिजन लिगका क्लब र खेलकर्मीहरू एन्फाविरुद्ध लिग गराउन दबाबपूर्ण आन्दोलन गर्ने तयारीमा छौँ ।”

पराजुलीले लिगका लागि नयाँ मिति माग्दा पनि एन्फा त्यसका लागि तयार नभएको बताउँछन् ।

“चैत १५ गतेदेखि लिग सुरु हुने निर्णय हुँदा हामीलाई एन्फाले चैत ५ गतेसम्म तयारी खर्च दिने भनेको थियो । चैत ५ देखि १० गतेसम्म एन्फाले दिन्छ भनेर हामीले आफ्नै खर्चमा तयारी गर्‍यौँ । तर, लिग हुने समयसम्म उनीहरूले खबर नै गरेनन्,” पराजुलीले थपे, “अहिले हामीलाई नयाँ मिति देउ भन्दा पनि उनीहरू त्यसका लागि तयार छैनन् । कहिले हुन्छ भन्दा एन्फाले जवाफ दिँदैन । हामीले लिगका लागि खेलाडी राख्दा आर्थिक रुपमा दिनप्रतिदिन क्षति व्यहोरिरहेका छौँ । लिग नहुँदा क्लब र खेलाडी दुवैलाई मार परिरहेको छ । लिग नै गर्न सक्दैनन् भने एन्फाको नेतृत्वमा बसेर मात्र कुनै काम छ जस्तो लाग्दैन मलाई ।”

‘बी’ डिभिजनको लिग नहुँदा घरेलु फुटबल नै संकटमा
घरेलु लिग संरचनाका तीन तहमध्ये ‘बी’ डिभिजन लिग सबैभन्दा महत्वपूर्ण तह हो । ‘बी’ डिभिजन नहुँदा तीन वटै लिगमा गम्भीर संकट पर्न जान्छ ।

एक सिजन ‘ए’ डिभिजन लिग भएर ‘बी’ डिभिजन लिग नहुँदा समान दुई टिमको घटुवा र बढुवा प्रक्रिया रोकिन्छ । त्यसो भए शीर्ष डिभिजन लिगमा जम्मा १२ टिम हुँदा दोस्रो डिभिजनमा भने १६ टिम पुग्छन् । जसले नेपालमा अहिले चलिरहेको तीन वटै लिगमा समान १४ टिमको ‘रोटेसन’ पूर्ण रुपमा बिगार्ने पक्का छ ।

“लिग गराउँदा ‘सी’ डिभिजन छनोट देखि ‘ए’ डिभिजन लिगसम्म सबैलाई एकै प्याकेजमा लिएर जानुपर्छ । त्यो चक्र पूरा नहुँदासम्म त अर्को चक्र सुरु गर्न नै मिल्दैन । यो वर्ष ‘बी’ डिभिजन भएन भने अर्को वर्ष ‘ए’ डिभिजन नहुन सक्छ ।

यसले लिगको संरचनामा नै गम्भीर आघात पुर्‍याउँछ,” शीर्ष डिभिजन लिगको क्लब संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले भने, “यसमा एन्फा नेतृत्व संवेदनशील हुनै पर्छ । नभए नेतृत्व छाड्नु पर्‍यो । सक्ने मान्छेले एन्फा चलाउँछ ।”

‘ए’ डिभिजन लिगमा अहिले आठौँ चरणको खेल चलिरहेको छ । तर, ‘ए’ डिभिजन लिगका क्लबहरूले ‘बी’ डिभिजन लिग भएन भने आफूहरू तल नझर्ने भनेर एन्फालाई भनिसकेका छन् । बजेट अभावमा ‘बी’ डिभिजन लिग गर्न नसकेको एन्फाले ‘ए’ डिभिजन लिगलाई पूर्णता दिनेमा पनि शंका गर्न थलिएको छ ।

त्यसो त एन्फाले बीचमै रोकिएको महिला लिग सम्पन्न गर्न सकेन । फागुन १७ गते बसेको विवादित बैठकले महिला लिगलाई बीचमै टुंगाउने निर्णय गरेको थियो ।

विराटनगरमा हुने भनिएको राष्ट्रिय महिला लिग २०७८ स्थानीय निकायसँग समन्वय गर्न नसक्दा बिचमै टुंग्याएर अंकको आधारमा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका टिमलाई क्रमशः सात, पाँच र तीन लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro