site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भुटानसँग नेपाल– पहिलोमा ऐतिहासिक, दोस्रोमा सबैभन्दा खराब नतिजा
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले भुटानविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा खेल्न थालेको करिब चार दशक पुगिसक्यो । पछिल्लो पटक नेपालले भुटानविरुद्ध मंगलबार साँझ दशरथ रंगशालामा खेलेको थियो । 

चार दशकमा यी दुई टिमले १४ खेल खेलेका छन् । तर, दशरथ रंगशालामा भुटानले नेपाली राष्ट्रिय टिमविरुद्ध खेलेको यो दोस्रो पटक हो । 

दोस्रो पटक दशरथ रंगशालामा उत्रिएको भुटान र नेपाली टिमको यो रंगशालामा बनेको ऐतिहासिक संयोग अझ चाखलाग्दो छ । 

Agni Group

मंगलबारको नतिजा १–१ को बराबरीमा टुंगिएको थियो । बराबरी भए पनि भुटानी टिमका लागि यो ऐतिहासिक नतिजा थियो । नेपालका लागि भने अहिलेसम्मकै खराब । अन्तर्राष्ट्रिय फुटबलमा भुटानले नेपालसँग बराबरी खेलेकै यो पहिलोपटक हो । यसअघिका १३ भेटमा नेपालले सबै खेल जितेको थियो । 

दशरथ रंगशालामा नेपालविरुद्ध दोस्रो पटक प्रतिस्पर्धाका लागि उत्रिएको भुटानले पहिलोपटक भोगेको नमिठो हार बिर्साउन सफल भयो । खेलपछि आफू नेपालका लागि सदाको जस्तो सहज प्रतिद्वन्द्वी नभएको स्पष्ट सन्देश दियो । चौबीस वर्षअघि दशरथ रंगशालामा भुटान नेपालसँग ७–० ले पराजित भएको थियो । 

Global Ime bank

चौबीस वर्षमा फेरिएको इतिहास 
नेपालले यसअघि भुटानविरुद्ध दशरथ रंगशालामा पहिलोपटक सन् १९९९ मा खेलेको थियो । दक्षिण एसियाली खेलकुद (साग)को उक्त खेलमा नेपालले भुटानविरुद्ध ७–० को ऐतिहासिक जित निकालेको थियो । भुटानविरुद्धको त्यो सफलता नेपाली टिमले अन्तर्राष्ट्रिय खेलमा हासिल गरेको अहिलेसम्मकै फराकिलो जित हो ।

मंगलबार पनि खेल सुरु हुनु अघिसम्म कमजोर प्रतिद्वन्द्वीको  रुपमा परिचित भुटानविरुद्ध नेपालले सहज नतिजा निकाल्ने आम समर्थकको अनुमान थियो । तर, मुख्य रेफ्रीको जिम्मेवारी पाएका माल्दिभ्सका सिनान हुसेनले खेल सुरुआतको ‘ह्विसिल’ फुक्दा रंगशालामा उपस्थित साढे ६ हजार दर्शकलाई भुटानले नेपालको मैदानमा खेल्दै छ भन्ने महसुस हुनै दिएन । 

नेपाली टिमका कप्तान तथा गोलकिपरसँगै भारतीय लिगमा राउन्डग्लास पञ्जावबाट खेल्ने भुटानी कप्तान चेन्चो ग्याल्सेनले ‘फर्स्ट जोन’ मा नेपालको रक्षापंक्तिलाई बारम्बार चुनौती दिइरहे । दक्षिण एसियामा ‘रोनाल्डो’ उपमा पाएका ग्याल्सेनले बल पाउँदा उत्साहमा चिच्याउनेको संख्या राम्रै थियो ।

खेलको सुरुदेखि नै नेपालीविरुद्ध हाबी भएको भुटानले पहिलो हाफमा घरेलु टिमलाई पूर्ण दबाबमा राख्यो । मिडफिल्डमा निकै कमजोर देखिएको नेपालविरुद्ध भुटानले १९औँ मिनेटमा अग्रता बनाएको थियो । 

नेपालविरुद्ध भुटानका तेन्जिङ नोर्बुले ऐतिहासिक गोल गरे । भुटानले यसअघि कुनै पनि खेलमा नेपालविरुद्ध पहिले अग्रता बनाउन सकेको थिएन । त्यहीकारण नोर्बुको गोल ऐतिहासिक थियो । दावा छिरिङले गरेको कर्नर प्रहारमा बक्सभित्र ‘अनमार्क’ रहेका तेन्जिङ नोर्बुले हेडमार्फत गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । 

सबैभन्दा सहज प्रतिद्वन्द्वीविरुद्ध नेपाल मंगलबार सबै पक्षमा कमजोर देखियो, चाहे त्यो रक्षापंक्ति होस् या मिडफिल्ड । आक्रमण पंक्ति पनि फितलो बन्यो । नेपाल ७० मिनेटसम्म पूर्ण दबाबमा खेल्यो ।

६८औँ मिनेटमा नवीन लामाको स्थानमा मैदान छिरेका कमल थापाले नेपाली मिडफिल्डलाई केही चलायमान बनाए । ७० मिनेटपछि भने नेपाल गोलका लागि केही हतारिएको थियो । केही राम्रो अवसर सिर्जना गरे पनि नेपालले त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन । घाइते अञ्जनको स्थानमा मैदान छिरेका दीपकराज सिंह ठकुरीले भुटानका रक्षापंक्तिलाई केही दबाबमा राखे । 

दीपक नेपालको ‘सुपर सब’ बने । निर्धारित समयको अन्तिम मिनेटमा दीपकले गोल गर्दै नेपाली टिमको हार टारे पनि भुटानको ऐतिहासिक नतिजालाई खारेज गर्न भने सकेनन् । भुटानले ३९ वर्षपछि नेपाललाई बराबरीमा रोक्यो  । यो नतिजा भुटानलाई प्रतियोगिताको फाइनलमा पुर्याउन पर्याप्त थिएन । तर, पनि खेलपछिको पत्रकार सम्मेलनमा भुटानी प्रशिक्षक पेमा पेमाले चार दशकपछि नेपाललाई बराबरीमा रोक्न सफल भएकाले शिर ठाडो पारेर स्वदेश फर्किने प्रतिक्रिया दिए ।

“इतिहासमा पहिलो पटक नेपालसँग बराबरी खेलेका छौँ । निकै खुसी लागेको छ । नेपाली टिमको प्रदर्शन हेर्दा अलि खस्केको जस्तो लाथ्यो । भुटानको खेल केही सुधारिएको हो । आज हामीले नेपाललाई पूरा डोमिनेट गर्यौं । बल पोसेसन, अट्याक सबैमा राम्रो गर्यौं । नेपालसँग बराबरी गरेर इतिहास बनाएका छौँ । प्रतियोगिताबाट बाहिरिँदा निराश छैनौं । शिर ठाडो पारेर स्वदेश फर्किनेछौँ,” पेमाले भने ।

भुटानविरुद्ध नेपाली टिम कमजोर देखिएको सत्यलाई कप्तान किरणले पनि ढाकछोप गरेनन् ।

“पहिलो हाफमा केही कमजोर देखियौं । मिस कम्युनिकेसन भयो । अनमार्क रहेका खेलाडीबाट गोल खान पुग्यौं । दोस्रो हाफमा हाम्रो कमजोरीलाई सुधार्यौं । मौका पनि धेरै बनायौं,” कप्तान किरणले भने, “फुटबलमा कहिलेकाहीँ नतिजा यस्तै आउँछ । पहिलो हाफमा धेरै आत्मविश्वासी भयौँ जस्तो लाग्छ । तर, गल्तीबाट नै सिक्ने हो । हामीले गल्ती चिनिसकेका छौँ । आगामी दिनमा यस्ता कुराको तयारी गर्नेछौँ । फुटबल जति नै राम्रो खेले पनि अन्तिममा नतिजाको मुल्यांकन हुने हो । आज हारेको भए भुटानसँग हार्यो भन्ने आउँथ्यो । मेरो लागि नतिजाले महत्व राख्छ ।”

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसको भने आफ्नो टिमले पहिलो खेलको तुलनामा सुधार गरेर प्रदर्शन गरेको दाबी गरे ।

“हामीले यसअघि नै फाइनलमा स्थान बनाइसकेका थियौँ । यसैकारण हामी विश्वस्त थियौँ । पहिलो हाफ खराब भयो । तर, दोस्रो हाफमा हामीले डोमिनेट ग¥यौँ । बल पोसेसन राख्यौँ र तीन–चार महत्वपूर्ण मौका बनायौँ,” प्रशिक्षक अल्बर्टो एनेसले भने, “दीपक २३ वर्ष, मनिष २१ वर्ष, आयुष १९ वर्ष, अञ्जन २४ वर्षका छन् । हामीले आगामी दिनमा राम्रो गर्न सक्छौँ । जति गल्ती भयो, त्यसबाट सिक्ने हो । मलाई लाग्छ हामीले पछिल्लो खेलमा भन्दा आज राम्रो गर्यौं ।”

प्रशिक्षकले दाबीका बावजुद भुटानविरुद्धको यो नजिता नेपाली टिमको अहिलेसम्मकै खराब थियो । नेपाली खेलकुद पत्रकारितामा रहेर पछिल्लो तीन दशकयता नेपाली फुटबललाई नियालिरहेका वरिष्ठ खेल पत्रकार तथा फुटबल विश्लेषक हिमेश रत्न बज्राचार्य भने प्रशिक्षकको प्रतिक्रियामा सहमत देखिएनन् । उनी कुनै समयको सहज प्रतिद्वन्द्वी भुटानसँग बराबरीका लागि लड्नु पर्ने अवस्थाप्रति सन्तुष्ट थिएनन् ।

“मलाई याद छ । सन् १९९९ मा नेपालले दशरथ रंगशालामा भुटानमाथि ७–० को फराकिलो जित निकालेको थियो । रंगशालामा भुटानसँग नेपालले खेलेको त्यो पहिलो खेल थियो । भुटानसँगको खेल भन्ने बित्तिकै सहज नतिजाको सोच आउँथ्यो । तर, अहिले त्यही टिमविरुद्ध बराबरको नतिजा ल्याउँदा पनि खुसी हुनुपर्ने अवस्था आएको छ । अचम्मको कुरा प्रशिक्षक यो नतिजामा पनि सन्तुष्ट छन्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC