site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फाले उल्लंघन गर्‍यो आफ्नै नियम, श्रम स्वीकृत नहुँदै  मुख्य प्रशिक्षक ‘टचलाइन’मा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसको श्रम स्वीकृतिका लागि प्रकृयासमेत सुरु गरेको छैन । तर, अल्बर्टो एनेस भने चैत ८ गते लाओसविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको ‘टचलाइन’मा बसेका थिए ।

प्रधानमन्त्री त्रिदेशीय कपको पहिलो खेलमा अल्बर्टो एनेस ‘टचलाइन’मा मात्र बसेनन्, खेलपछिको पत्रकार सम्मेलनमा आएर पनि बोले । यूईएफए प्रो लाइसेन्स प्राप्त अल्बर्टो एनेसलाई एन्फाले फागुन ३० गते औपचारिक रूपमा सार्वजनिक गरेको थियो । र, अल्बर्टो एनेसले चैत ५ गतेदेखि नै त्रिदेशीय कपका लागि प्रशिक्षण सुरु गरिसकेका थिए ।

कुनै विदेशी व्यक्ति नेपालमा आएर काम गर्दा यहाँको श्रम स्वीकृति लिनुपर्छ । एन्फाले सञ्चालन गर्ने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पनि विदेशी खेलाडी खेलाउन श्रम गर्नुपर्ने अनिवार्य छ । तर, एन्फा आफैँले भने त्यो नियम लत्याएको छ । श्रम स्वीकृति नै नलिएका मुख्य प्रशिक्षक अल्बर्टो एनेसबाट प्रशिक्षण गराएको छ ।

Argakhachi Cement Island Ad

“फुटबलको प्रशिक्षकका बारेमा हामी कहाँ श्रम स्वीकृतिका लागि निवेदन पनि आएको छैन । मैले बुझेअनुसार एन्फामै विवाद छ रे । उनीहरूको विवाद टुंगिएपछि आउँछ होला । हामीलाई प्राप्त जानकारीअनुसार त्यहाँ प्रशिक्षकलाई राख्ने, नराख्ने विषयमा पनि विवाद चलिरहेको छ । विवाद टुंगिएपछि श्रमका लागि आउने छौँ भनेका छन् । अहिलेसम्म चै श्रमको प्रकृयामा आएका छैनन्,” श्रम तथा व्यावसायिक सुरक्षा विभागका प्रवक्ता तथा प्राविधिक निर्देशक मणिनाथ गोपेले बाह्रखरीसँग भने ।

विदेशी नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिनुपर्ने श्रम ऐन २०७४ को दफा २३ मा उल्लेख छ । यस्तै, अध्यागमन नियमावली २०५१ को नियम २० ले पनि ‘पर्यटक र परिवारको सदस्यको हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउने छैन’ भनेर उल्लेख गरेको छ ।

एन्फाले यसअघि पनि नेपाली मूलका अमेरिकी नागरिक प्रदीप हुमागाईँको हकमा पनि श्रमको कुनै प्रक्रिया अपनाएको थिएन । एन्फा आफैले पनि ‘ए’ डिभिजन लिगका लागि क्लबले भित्र्याएको विदेशी खेलाडीको श्रम स्वीकृति नगरी दर्ता नै गर्दैन । तर, राष्ट्रिय टिमका प्रशिक्षकको हकमा भने एन्फा आफैले आफ्नो नियमको गम्भीर उल्लंघन गरेको छ ।

श्रमका लागि निवेदनसमेत नदिएको एन्फाले त्रिदेशीय कपको पूर्वसन्ध्यामा भने प्रशिक्षकको श्रम स्वीकृतिका लागि अन्तिम चरणमा रहेको बताएको थियो । त्यसबेला एन्फामा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रशिक्षकको श्रम स्वीकृतिका लागि आफूहरु निकै गम्भीर रहेको र यसको चाँडो समाधानका लागि तीव्र काम गरिरहेको बताएका थिए । तर, आइतबारसम्म श्रम स्वीकृति लिने निकाय श्रम तथा व्यावसायिक सुरक्षा विभागमा निवेदनसम्म परेको छैन ।

एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षकको सबै कागजपत्र युवा तथा खेलकुद मन्त्रालयमा पुगेको दाबी गरेका छन् ।

“अहिले हाम्रो सबै डकुमेन्ट खेलकुद मन्त्रालय मातहतका निकायमा पुगेका छन् । हिजो शनिबार भएका कारण केही ढिला भयो । अब एक/दुई दिनमा श्रम स्वीकृति आउँछ,” प्रवक्ता शाहले भने ।

क्लबहरुलाई चाहिँ स्वीकृति नलिए विदेशी खेलाडीलाई खेलाउन नदिने अनि एन्फा आफैले विदेशी प्रशिक्षकको हकमा त्यो नियम पूरा गर्नुपर्दैन भनेर सोधिएको प्रश्नमा प्रवक्ता शाहले थपे, “यति लामो प्रक्रिया हुन्छ भनेर हामीले अन्दाज पनि गरेका थिएनौँ ।”

प्रक्रिया पूरा नभएको अवस्थामा किन इटालियन प्रशिक्षक अल्बर्टो एनेसलाई टचलाइन र पत्रकार सम्मेलनमा बस्न दिइएको त ? प्रक्रिया पूरा हुँदासम्म त कुर्न सकिन्थ्यो होला नि ? भन्ने प्रश्नमा एन्फा प्रवक्ता शाहले थपे, “प्रक्रियागत त्रुटि भएको छ । यसलाई हामीले स्वीकार गरेका छौँ । अब सच्याएर जाने हो । अरु विकल्प त बाँकी भएन ।”

नेपालको श्रम ऐन, २०७४ को दफा १६३ अनुसार इजाजत नलिई श्रमिक ल्याएर काममा लगाएमा ल्याउने व्यक्तिलाई दुई लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

“यस ऐनबमोजिम इजाजतपत्र नलिई श्रमिक आपूर्ति गर्ने र त्यस्तो आपूर्तिकर्तामार्फत श्रमिक आपूर्ति गरी काममा लगाउने व्यक्तिलाई दुई लाख रुपैयाँसम्म जरिवाना गरी यस ऐनको अधीनमा रही आवश्यक आदेश जारी गर्ने निर्णय गर्न सक्नेछ,” श्रम ऐन २०७४ को दफा १६३ मा लेखिएको छ ।

ऐनअनुसार श्रम स्वीकृति नलिएर काम गरेको एन्फा र मुख्य प्रशिक्षक अल्बर्टो एनेसको हकमा कस्तो कारबाही हुन्छ त ? भनेर सोधिएको प्रश्नमा श्रम तथा व्यावसायिक सुरक्षा विभागका प्रवक्ता तथा प्राविधिक निर्देशक मणिनाथ गोपेले भने, “पहिले हामी एभिडेन्स पत्ता लगाउँछौँ । उनले श्रम स्वीकृति नलिई काम गरेका हुन् वा होइन बुझ्नेछौँ । कुनै पनि विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति नलिई काम गर्न पाउँदैनन् । यदि त्यसो गरेको पाइएमा हामी अनुसन्धानपछि श्रम ऐनअनुसार कारबाही अघि बढाउनेछौँ ।”
 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०७:५२
प्रतिक्रिया दिनुहोस्