
काठमाडौं । गीतकार दयाराम पाण्डेयको नयाँ गीत ‘सम्झना...’ सार्वजनिक गरिएको छ । इन्डियन आइडल–३ का उपविजेता अमित पलको स्वर रहेको उक्त गीत सोमबार सार्वजनिक गरिएको हो ।
गायक पलले नेपाली गीत गाउने आफ्नो रहर पूरा भएको भन्दै खुसी व्यक्त गरे । छिट्टै सांगीतिक कार्यक्रमको सिलसिलामा नेपाल आउन चाहेको र नेपाली स्रोतादर्शकसित साक्षात्कार गर्न आफू निकै उत्सुक रहेको उनले बताए ।
“यो गीत शब्द–संगीतका हिसाबले निकै नै उत्कृष्ट रहेको छ,” उनले भने, “यसलाई सुनेर र यसको भिडियो हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु ।”
कृष रिजालको संगीत रहेको गीतको इजाज अलिले संगीत संयोजन र मिक्सिङ गरेका छन् । सुरेन्द्रमान कार्कीको छायांकन, सम्पादन र कलर ग्रेडिङ रहेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।
विशाल गुरुङले निर्देशन गरेको भिडियोमा मुक्ति उप्रेती र योगिसा महर्जनलाई ‘कास्ट’ गरिएको छ ।
यो गीतको रचनाकार पाण्डेय काठमाडौंमा, गायक पल भारतको सिलिगुढीमा बस्छन् । संगीतकार कृष अमेरिकाको कोलोराडोमा बसोबास गर्दै आएका छन् । गीतको रेकर्डिङ भारतको दार्जिलिङस्थित स्ट्रिङस स्टुडियोमा गरिएको हो ।