नर्वेका पूर्वमन्त्री एरिक सोल्हेमले पूर्व संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीका प्रमुखले एक ट्वीट गरेका रहेछन् । एरिक सोल्हेम अहमदाबादमा आयोजित 'भाइब्रन्ट गुजरात' समिटमा बोल्दा म निकै उत्साहित थिएँ भनेर लेखेका रहेछन् । गृहमन्त्री अमित शाह र मुख्यमन्त्री भूपेन्द्र पटेलसँगै प्रधानमन्त्री मोदीको गृहराज्यमा बोल्न पाउँदा मलाई खुसी लाग्यो भन्दै 'ग्रीन हाइड्रोजन' र भारतीय हरित कार्यक्रमको चर्चा गरेका रहेछन् ।
मैले पनि गुजरातको सक्रिय नेतृत्वले ग्रीन हाइड्रोजन, सौर्य, वायु, विद्युतीय गतिशीलता र अन्य धेरैमा अचम्मको लगानी आकर्षित गरेको हेरिरहेको छु, बस् टुलुटुलु हेरिरहेको छु । केही समयअघि मसहित सांसद साथीहरू प्रदीप पौडेल र माधव सापकोटा ओआरएफको इनर्जी समीटमा गएका थियौं जहाँ मैले पाँच मिनेट हस्तक्षेप गरेको थिएँ बाँकी विचारहरू मैले एक लेख प्रकाशित गरेर समेटेको पनि छु ।
दिल्लीमा आयोजित ओआरएफ समीटमा अस्ट्रेलियाका दोस्रो धनी प्रमुख वक्ता एन्ड्र्यु फरेस्टलाई देखें । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको खुलेर प्रशंसा गरेको सुनेँ । भारत इनर्जी ट्रान्सफर्मेसन–ट्रान्जिसनमा निकै प्रतिवद्ध देश भनेर उनले प्रशंसा गरेका थिए ।
एकछिन पछि मैले उनलाई सोधें कि नेपालमा तपाईँहरूको हाइड्रोजन उत्पादन गर्ने प्रयास कहाँ पुग्यो ?
मेरो चासोप्रति उनले नेपालको अग्रसरता नै छैन भन्ने संकेत पाएँ । उनलाई आफूले नेपालको उर्जा सम्बनधी कानुन परिमार्जित हुँदैछ मैले यसलाई समेट्ने कोसिस गरेको छु भनेको थिएँ ।
नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्ने अभिप्रायले आफ्नै जहाज चार्टर गरेर मध्यकोभिडमा नेपाल आएका एन्ड्रयुले १० हजार मेगावाट जलविद्युत निर्माणको लागि प्रस्ताव राखेका थिए ।
उक्त प्रस्तावको साक्षी तत्कालीन पराराष्ट्र मन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो र उक्त प्रस्ताव लगानी वोर्डमा खिया लागेर छिपेर बसेको छ । यस्तो लाग्छ सर्वदलीय मध्यस्थकर्ता (छुच्चो भएर भन्दा दलाल) ले मात्र यो फाइल पाएर पसिनाको सेयर लिन मेहनत गरे पनि हुने तर त्यो पक्कै असम्भव हुनेछ कि एन्ड्रयु फरेस्टहरू यस्तो काममा विश्वास गर्दैनन्।
भारतले अहिलेदेखि २०४९ सम्मको समयलाई अमृतकाल भनेको छ यो अवधिले भारतीय नागरिकलाई स्वतन्त्रताको सय वर्षको वार्षिकोत्सवमा उच्च प्रतिव्यक्ति आय र गरिबी निवारणको हर्ष साँट्ने पर्वको रूपमा मनाउनेछ ।
भारत अहिले प्रति वर्ष सात प्रतिशतको वृद्धिदरमा अघि दौडिरहेको छ, जुन संसारको कुनै पनि प्रमुख अर्थतन्त्रको उच्च दर हो । जनता केन्द्रित हरित वृद्धिले भारतलाई उच्च आय भएको देश बनाउने र सबै भारतीयहरूलाई गरिबीबाट बाहिर ल्याउनेछ । गुजरात मोडेल अहिले भारतका प्रगतिशील राज्यहरूको कोषेढुंगा बनेको छ ।
यहाँ एउटा संयोग पनि कस्तो रह्यो भने हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र म एउटै जिल्लाबाट निर्वाचनमा भाग लिएर जितेर आएका हौं, अर्थात् हामी एकै जिल्ला दुइ निर्वाचित प्रतिनिधि हौं । क. प्रचण्डले मलाई गोरखा ल्याउनमा राजेन्द्र बजगाईँको प्रमुख हात रहेको भनेर चुनावी अभियानमा सम्बोधन पनि गर्नु भो ।
यसो त प्रधानमन्त्री मज्जाका हुनुहुन्छ । गोरखा सदरमुकाममा एकजना कांग्रेस समर्थक कर्मचारीले ६४ सालको निर्वाचन पछि लोकतान्त्रिक प्रथम प्रधानमन्त्री अत्यन्त कठोर होलान् भन्ने कौतुहलता बोकेर स्वागतार्थ मालामा लामबद्ध भएको बेला कमरेड प्रचण्डसँग हात मिलाएछन् । उनी कमरेडको हात निकै नरम कमलो पाएछन् त्यो दिन उनले खाना पनि खाएनन् हात पनि धोएनन् ।
क. प्रचण्डलाई नेपाली राजनीतिमा उनी अत्यन्त लचक रबरजस्ता देखिन्छन् र मैले पनि त्यस्तै बुझेको थिएँ ! कमरेड प्रत्येक मानिसका भावना बुझेको देखाउन सक्ने सोहिअनुरूप संवादमा आउनेहरूलाई विचार बनाउन बाध्य बनाईदिन सक्ने तर आफ्नो कोर धेय नबिर्सने लचिलो तर तन्केको रबरले हान्दा कसरी दुख्छ त्यति कठोर पनि हुन् भन्ने कूरा मान्छेहरूले बुझेका छैनन् भन्ने निश्चय लिएको छु ।
निर्वाचन दौरानमा अलि गहिरिएर कुरा गरियो गोरखाकै विकास निर्माणका कुराहरू भए । सर्वप्रथम; मैले टिकट लिएर गोरखा जाँदा उहाँले कसरी ल्याउनु भो टिकट मैले त चीनकाजीलाई बधाई दिएर आएको भन्नुभो ! निर्वाचन दौरानमा बूढीगण्डकी परियोजना निर्माण गोरखकाली रबर उद्योगलगायतमा अभिरुचि बढेको सन्देश पठायौं ।
सरकार बन्नेबेला निकै नमिठो अनुभव भयो एमालेको प्रस्तावमा सरकार बन्यो नेपाली वामशक्तिहरू एकताको शृङ्खला फेरि आरम्भ भयो ।
हाम्रो सभापति शेरबहादुर देउवासँग करिब करिब संवाद ठप्प थियो । दोहोरो भेटहरू पछि मैले मेरै ह्वाट्सऐपबाट कल लगाएर सुरू भएको हो । दुईजनाले लाल सलाम र जय नेपालबाट रोकिएको संवाद सुरू गरेका थिए ।
त्यसको एक हप्तामा उनीहरूको डिनर आरम्भ भयो डिनरको निरन्तरता ६/७ पटक चल्यो लगत्तै कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने घोषणा गर्यों ।
मैले सारमा क. प्रचण्डको अभिरुचि के हो भन्ने अभिप्रायले निर्वाचनभरि भारत र चीनका सरकार प्रमुखहरू संसारका प्रतिष्ठित उद्योगपतिहरूलाई आमन्त्रण गर्छन् भेट्नै जान्छन् तपाईंले प्रधानमन्त्री भैसके पछि केही प्रयास गर्न सक्नुहुनेछ भनेको थिएँ । फेसबुक, गुगल, माइक्रोसफ्ट, एमजोन, ट्विटरका प्रवर्तक र कार्यकारीलाई डेटा सेण्टरहरू खोल्न अनुरोध गर्न सकिन्छ भनेर सुझाव पनि दिएँ । वस्ती स्थानान्तरण गरेर विकासको मूलधारमा ल्याउने वफरलाई जडिबुटी प्रशोधन पर्यटन पूर्वाधार र ढुवानीका लागि ठुल्ठूला एअरवेश बनाउने, उत्तर दक्षिण ३२ चक्के लरी गुड्ने सडक र पूर्वपश्चिम रेललगायतका ठूला पूर्वाधारमा सरकार अघि बढ्नुपर्छ भनेको थिएँ । प्रधानमन्त्रीले ती सबै काम हुन्छ हुन्छ भन्नुभयो । किनकि उहाँ निकै नरम व्यक्ति हुनुहुन्छ हुन्न भन्नै जान्नुहुन्न ।
फर्केर इनर्जी ट्रान्जिसनमा एरिक सोल्हेम र एण्ड्रयू फरेस्टको नेपालप्रतिको रुचि र तीव्र जिज्ञासामा प्रधानमन्त्रीको ध्यान भंग हुन्छ भन्ने लागेको भए यो लेख लेख्नै पर्दैथ्यो। प्रधानमन्त्रीको ज्ञानको विषयमा मलाई शंका छैन उहाँले नजानेको विषय केही छैन । किनकि उहाँ छर्रा हान्ने भरूवा बन्दुकमात्रै होइन एम सिक्सटीनकै बारेमा पनि धेरै जानकार हुनुहुन्छ । कुनै यस्तो विषय लिएर उहाँकहाँ पुग्दा पहिल्यै जानकार रहेको प्रतिक्रिया पाउनुहुनेछ । तर जानकार हुनु र कार्यान्वयनको तहमा लैजानु फरक कुरा हुन् भनेर उहाँलाई बुझाइदिने को निस्किएला ?