काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार विश्व बैंकले विश्वको आर्थिक अवस्थासम्बन्धी सन् २०२४ को पहिलो रिपोर्ट सार्वजनिक गरेको छ ।
रिपोर्टमा चालु आर्थिक वर्ष (सन् २०२३ को जुलाईदेखि सन् २०२४ को जुलाईसम्म)मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत र आउँदो वर्ष (सन् २०२४/०२५)मा पाँच प्रतिशत हुने प्रक्षेपण गरेको हो ।
सन् २०२४ को अन्त्यसम्म विश्वले ३० वर्षयताकै सबैभन्दा सुस्त आर्थिक वृद्धिको आधा दशक देख्ने रिपोर्टले उल्लेख गरेको छ ।
विश्वको अर्थतन्त्र गत वर्षको तुलनामा मन्दीको कम जोखिम रहेको रिपोर्टले जनाएको छ । तर, बढ्दो भूराजनीतिक तनावले अर्थतन्त्रका खतराहरू निम्तिने जोखिम कायमै रहेको रिपोर्टमा उल्लेख छ ।
वैश्विक अर्थतन्त्र लगातार तेस्रो वर्ष सुस्त हुने र सन् २०२४ मा २.४ प्रतिशतको वृद्धि देख्ने विश्व बैंकले जनाएको छ । गत वर्ष विश्वको आर्थिक वृद्धि दर २.६ प्रतिशत रहेको रिर्पोटले जनाएको छ ।
विश्व बैंकका अनुसार यो आर्थिक वृद्धि सन् २०१० को दशकको औसतभन्दा तीन चौथाइ कम हो ।