विराटनगर । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको रणनीति तय गर्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका नेता विराटनगरमा छलफलमा जुटेका छन् ।
नेपाली कांग्रेसको कोसी प्रदेश समितिको कार्यालयमा गठबन्धनका केन्द्रीयस्तरका नेता छलफलमा जुटेका छन् । छलफलमा कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालगायत नेता सहभागी छन् ।
गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोसहितका नेता जुटेको प्रचार समितिका प्रमुख बासु कोइरालाले जानकारी दिएका छन् ।
“गठबन्धनबाट उमेदवारी दिएपछि चुनावी रणनीति तय गर्न नेताहरू छलफलमा जुट्नु भएको छ,” कोइरालाले भने ।
प्रदेश समितिको बरगाछीस्थित कार्यालयमा जारी छलफलमा भाग लिन केहीबेरमै कांग्रेस नेता डा. शेखर कोइराला पनि पुग्ने बताइएको छ । कोइराला काठमाडांैबाट विराटनगर आइपुगेका छन् ।
गठबन्धनका तर्फबाट कांग्रेसले नेता कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रकी चम्पा कार्कीलाई उमेदवार बनेका छन् । उनीहरूको मनोनयन आज दिउँसो भएको थियो । मनोनयनपछि नेता सिटौलाले आफू गठबन्धनको मतको बलमा उमेदवार बनेको बताउँदै आफूले यसअघि पनि संसदीय प्रणालीको विकास र प्रवद्र्धनमा भूमिका खेलेको बताए ।
उनले भने, “अब फेरि नयाँ भूमिकामा राष्ट्रियसभामा गएर योगदान दिने योजना छ ।”
माओवादीबाट उमेदवार बनेकी कार्की ओखलढुंगा निवासी हुन् । उनी जनयुद्धकी घाइते पनि हुन् ।