site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सहकारी ठगीमा कारागार पठाइएका पूर्वरजिष्ट्रारको बारेमा उच्च अदालतले कैफियत प्रतिवेदन मगाउने

पोखरा । जिल्ला अदालत कास्कीले गत मंगलबार मात्रै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका उदयबहादुर पराजुलीको हकमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।

शुक्रबार उच्च अदालतले पराजुलीलाई के, कसो भएको हो ? थुनामा पठाउनुपर्ने कारण के हो भनेर कैफियत प्रतिवेदन माग्ने आदेश गरेको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तारका लागि घुस लिएको अभियोगमा पक्राउ परेका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार उदयबहादुर पराजुली मंगलबार जिल्ला अदालतको आदेशसँगै थुनामा छन् ।

त्यसको अघिल्लो हप्ताको बुधबार पराजुली कार्यरत रहेको कुश्मा नगरपालिकाको कार्यालयबाटै पक्राउ परेका थिए । प्रमुख प्रशासकीय अधिकृतमा बहालवाल रहेकै अवस्थामा पर्वत प्रहरीले नियन्त्रणमा लिई कास्की प्रहरीलाई सुम्पिएको थियो । पराजुलीले सहकारी रजिस्ट्रार हुँदा एक करोड पाँच लाख रुपैयाँ घुस लिएको आरोप छ ।

पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेलले कार्यक्षेत्र विस्तारको क्रममा पराजुलीलाई एक करोड २५ लाख रुपैयाँ बुझाएको जिकिर गरेका छन् । दुईपटकमा गरी उनले केही रकम फिर्ता पनि गरेको उनको भनाइ छ । तर, काम नभएपछि थुनामा रहेका सञ्चालकले पराजुलीको पोल खुलाएका थिए । सोही आधारमा उनी पुस ११ गते कुश्माबाट पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ८ गते मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलन गर्ने ३२ जनाविरुद्ध ३१ करोड बिगो दाबीसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रहरीको सोही प्रतिवेदनका आधारमा उनीहरूमाथि मुद्दा दायर गरिएको हो । ३२ जनाविरुद्ध मुद्दा परे पनि हालसम्म ६ जना मात्र पक्राउ परेका छन् । 

सहकारीका तीन हजार ४४६ जना पीडित बचतकर्ताहरूले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको दाबीसहित प्रहरीमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्