site stats
बाह्रखरी :: Baahrakhari
देश
भण्डारी दम्पतीले यौनधन्दा चलाएको दिल्लीको अपार्टमेन्टमा यसरी पुगेको थियो ब्युरोको टोली

काठमाडौं । ठमेलको एउटा डान्सबारमा काम गर्थिन्, बाँकेकी १८ वर्षीया कमला (नाम परिवर्तन) । डान्सबारमा नर्तकीको काम गरेबापत सञ्चालकले महिनाको २० हजार रुपैयाँ पारिश्रमिक दिन्थिन् कमलालाई ।

त्यो रकमले उनलाई काठमाडौंको महँगी धान्न गाह्रो थियो । उनी सकेसम्म विदेश जाने तयारीमा थिइन् । एक दिन सोही डान्सबारमा ग्राहक बनेर पुगे धादिङको धुनिबेँसी नगरपालिका–२ का २५ वर्षीय भुवन तामाङ ।

डान्सबारमा भुवन र कमलाबीच चिनजान भयो । उनीहरूले एकार्काको मोबाइल नम्बर साटासाट गरे । भुवनले कमलालाई डान्सबारमा भेटेको दोस्रो दिनदेखि नै फोन गर्न थाले । साँझ भेट्न डान्सबार समेत पुग्थे ।

Argakhachi Cement Island Ad

विदेशिने सोचमा पुगेकी कमलालाई दिल्लीमा डान्सबारमा काम गरे मासिक नेपाली ५० हजार रुपैयाँभन्दा माथि तलब हुने र ‘टिप्स’ गर्दा त्योभन्दा बढी कमाइ हुने भुवनले सुनाए । भुवनले कमलालाई दिल्ली जान तयार भए सबै काम आफैँ गरिदिने र त्यहाँसम्मै पुर्‍याउने आश्वासन दिए ।

कमलाले भुवनको कुरा पत्याइन् । आफू दिल्ली जान तयार भएको र त्यसका निम्ति आवश्यक प्रबन्ध मिलाइनदिन अनुरोध समेत गरिन् । ग्राहकको भेषमा डान्सबार छिरेर नेपाली युवतीलाई ‘वेश्यावृत्ति’मा लगाउन दिल्ली पुर्‍याउने धन्दामा लागेका भुवनलाई ‘ढुंगा खोज्दा देउता’ मिलेझैँ भयो ।

भुवनले कमलालाई दिल्लीको किशनगढस्थित एक अपार्टमेन्टमा पुर्‍याए । त्यो अपार्टमेन्ट स्याङ्जाको गल्याङ नगरपालिका–७ का दम्पती ३५ वर्षीय टीकाराम भण्डारी र ३१ वर्षीया अस्मिता वली भण्डारीले लिएका थिए ।

दिल्लीको त्यो अपार्टमेन्टमा पुगेपछि कमलालाई नर्क पुगेसरह भयो । दिल्लीको डान्सबारमा काम गर्ने सपना बुनेर पुगेकी उनलाई यौनधन्दामा लगाए भण्डारी दम्पतीले । भुवन सम्पर्कविहीन भए ।

अपार्टमेन्टमा बन्धक बनाएर राखिएका कमलाजस्तै अरू युवती पनि थिए । युवतीलाई भण्डारी दम्पतीले अनलाइनमार्फत सम्पर्कमा आएका पुरुषसँग यौनसम्पर्कका निम्ति उनीहरूले भनेकै स्थानमा पुर्‍याउने गर्थे ।

त्यसका निम्ति उनीहरूले ह्वाट्सएप ग्रुप नै बनाएका थिए । ह्वाट्सएपमार्फत नेपाली युवतीको फोटो पठाउने र रकम अनलाइनबाटै ‘पेमेन्ट’ पाएपछि ग्राहकले छानेकै युवतीलाई उनीहरूले भनेको स्थानसम्म पुर्‍याउने गर्थे । त्यसरी वेश्यावृत्तिबाट कमाइ भएको २० प्रतिशत युवतीलाई दिएर ८० प्रतिशत रकम भण्डारी दम्पती आफैँले राख्थे ।

१० महिनाअघि थालेको थियो ब्युरोले ‘अपरेसन’
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भण्डारी दम्पतीले सञ्चालन गरेको दिल्लीको त्यो अपार्टमेन्टबाट ०७९ चैत ७ गते नौ युवतीको उद्धार गरेको थियो ।

कमलाले आफूले भोगेको यातनाबारे एक केटा साथीलाई अपार्टमेन्टभित्रको गतिविधिसहितको भिडियो पठाएकी थिइन् । उनले नेपाल प्रहरीमा त्यसबारे जानकारी गराई उद्धार गरिदिन अपिल गरेकी थिइन् । कमलाकै सहयोगका निम्ति ती युवक मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एवं एसएसपी जीवनकुमार श्रेष्ठलाई भेट्न पुगे ।

त्यसपछि भारतीय प्रहरी, दिल्लीस्थित नेपाली दूतावास र किन इन्डिया नामक एक गैरसरकारी संस्थाको पहलमा त्यहाँ पुगेको ब्युरोको टोलीले कमलासँगै नौ युवतीको उद्धार गरेको थियो ।

कमलाको उजुरीका आधारमा ब्युरोको टोलीले त्यही बेला धादिङका भुवन, मकवानपुरकी सम्झना तामाङसहित तीनजनालाई पक्राउ गरेको थियो । हाल उनीहरू तीनैजना पुर्पक्षका निम्ति थुनामा छन् । त्यो बेला भण्डारी दम्पती फरार भएका थिए ।

wefdgm-1704193215.jpg
उक्त घटनापछि पनि भण्डारी दम्पतीले नेपाली युवतीलाई दिल्लीमा ल्याउन लगाएर वेश्यावृत्तिमा संलग्न गराइरहे । भण्डारी दम्पतीले सञ्चालन गरेको त्यही अपार्टमेन्टबारे फेरि पीडित युवतीका आफन्त ब्युरोमा पुग्न थाले । ब्युरोको टोलीले पुनः दिल्ली पुगेर भारतीय प्रहरीकै सहयोगमा यही पुस १० गते पाँच युवतीको उद्दार गर्‍यो ।

भण्डारी दम्पती फेरि भाग्न सफल भए । अपार्टमेन्टमा जोडिएको सीसी क्यामेरा हरेर प्रहरी पुग्नासाथ उनीहरू भाग्ने गरेका थिए । उनीहरूले स्थानीय प्रहरीलाई समेत प्रभावमा पारेर भाग्ने गरेको खुलेको छ ।

पुस १० गते त्यहाँबाट भागेका उनीहरू दिल्ली हुँदै काठमाडौं आउने बस चढेको सूचना ब्युरोको टोलीले पायो । त्यसपछि कञ्चनपुर पुगेको ब्युरोको टोलीले सीमाबाटै पक्राउ गर्न सफल भएको एसएसपी श्रेष्ठले जानकारी दिए ।

उनले भने, “हामीले नेपाली युवतीलाई दिल्ली पुर्‍याउने समूहदेखि अपार्टमेन्ट नै लिएर धन्दा गर्नेलाई पक्राउ गर्न सफल भएका छौँ ।”

भण्डारी दम्पतीले विभिन्न जिल्लाका युवतीलाई दिल्ली पुर्‍याउन एजेन्ट नै राखेर काम गर्ने गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ । अस्मिता भण्डारीले पूजा सिंहको नामबाट भारतीय आधारकार्ड समेत बनाएको भेटिएको छ । पक्राउ परेका भण्डारी दम्पतीमाथि ब्युरोले थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्