site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लक्ष्मी पुनको योग्यतामाथि उठ्यो प्रश्न, संसदीय समितिले छानबिन गर्ने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको ‘नियुक्ति र योग्यता’माथि प्रश्न उठेपछि संसदीय समितिले छानबिन गर्ने भएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा सदस्यहरूले उनको नियुक्तिमा प्रश्न उठाएका हुन् । त्यसपछि समितिले कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी प्रमाणित कागजातहरू तीन दिनभित्र उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति राजकिशोर यादवले निर्णयको माइन्युट, शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरणलगायत तीन दिनभित्र उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

Argakhachi Cement Island Ad

समिति बैठकमा सांसदहरूले पार्टी कार्यकर्तालाई कार्यकारी पदमा नियुक्त गर्नु अनुचित भएको तर्क गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कोषमा पार्टी कार्यकर्तालाई नियुक्ति दिनु नैतिकताले पनि नसुहाउने बताए । “कार्यकारी निर्देशकमा प्रधानमन्त्री र संस्कृतिमन्त्रीको पार्टीको केन्द्रीय सदस्यलाई नियुक्ति गरियो,’’ उनले भने, ‘‘यसमा योग्यताको ख्याल गरिएन भन्ने आयो ।’’

उनले प्रधानमन्त्री र संस्कृतिमन्त्रीले आफ्ना  पार्टीको मान्छेलाई नियुक्ति गर्ने हो भने संसद्ले त्यही अनुसार ऐन बनाउन पाउनुपर्ने व्यंग्यात्मक टिप्पणी गरे । ‘‘आफ्ना विश्वास पात्रलाई दिने गरी ऐन बनाइनुपर्‍यो,” सुवालले भने, “होइन, त्यस्तो ऐन नभएका बेलामा आफ्नो पार्टीको मान्छेलाई राख्न नैतिकताले पनि मिल्दैन ।”

सुवालले जिम्मेवार पदमा बस्ने व्यक्तिले आफ्ना मान्छे भन्दा पनि जनताले खान पाए कि पाएनन् भन्न ध्यान दिन सुझाव दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले पुनको योग्यतामा प्रश्न गरे । “कोष कार्यकारी निर्देशक नियुक्तिका लागि योग्यता के हो ? कार्यकारी निर्देशकमा नियुक्त हुनुभएकी लक्ष्मी पुनको योग्यता पुगेको छ कि छैन ?,” उनले प्रश्न गरे ।

एमालेका सांसद एकनाथ ढकालले पनि समानुपातिक सूचीमा सूचीकृत व्यक्तिलाई जिम्मेवारी दिइनुबारे प्रस्ट पार्न आग्रह गरे । उनले भने, “समानुपातिक उमेदवार हो भने त्यो कायम रहँदासम्म राज्यका कुनै पनि निकाय नियुक्ति दिन पाइँदैन । समानुपातिक उमेदवारमा नाम सूचीकृत  भए या नभएको के हो ? प्रस्ट पार्दिनुपर्‍यो ।”

एमालेकै सांसद सम्झना थपलियाले प्रश्न गरिन्, ‘‘पशुपति कोषको कार्यकारी निर्देशकमा सरकारले स्वच्छ छवि भएको भेटेको हो ?’’

उनले पनि पशुपति जस्तो ठाउँमा राजनीतिक व्यक्तिलाई नियुक्ति दिनुको कारण प्रस्ट पार्न आग्रह गरिन् ।

उता राप्रपाका सांसद धवलशमशेर राणाले त क्रिस्चिय धर्मका व्यक्तिलाई पशुपतिको कार्यकारी निर्देशक नियुक्त गरेको दाबी गर्दै छानबिन गर्नुपर्ने माग राखेका छन् ।

“लक्ष्मी पनि क्रिस्चियन धर्ममा विश्वास गर्ने मान्छे हुन् भन्ने कुरा व्यापक आयो । यदि उहाँ साँच्चिकै किस्चियन धर्ममा विश्वास गर्ने मान्छे हो भने यो अनर्थ गरियो । हाम्रो विश्वासमाथि कुठराघात गरेको हो,” उनले भने ।

उनले छानबिन हुनुपर्ने माग राख्दै भने, “हामी विश्वका हिन्दूहरूको विश्वासको, आस्थाको केन्द्रबिन्दु पशुपतिनाथको कार्यकारी निर्देशकमा फरक धर्मावलम्बीको हुनुहुँदैन भन्ने हामी सबैलाई जानकारी छ । यसमा छानबिन हुनपर्छ ।”

बचाउमा माओवादी सांसद

समितिमै माओवादी सांसद छिरिङ ल्हामु लामाले कर्णालीको एउटा महिलालाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा उनीमाथि प्रहार भएको बताएकी छन् । 

बैठकमा बोल्दै सांसद लामाले पुनको बचाउ गर्दै मानहानि हुने गरी विभिन्न टीकाटिप्पणी गरिएको बताइन् । बैठकमा अन्य सांसदहरूले कार्यकारी निर्देशक नियुक्तिमाथि प्रश्न उठाएपछि उनले बचाउ गरेकी हुन् ।

“कर्णालीको एउटा महिलालाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा उहाँमाथि प्रहार भयो । यो प्रहार महिला, धर्म, भेगमाथिको प्रहार भएको हो । यसप्रति मेरो घोर आपत्ति छ,” उनले भनिन् ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २२:२५
प्रतिक्रिया दिनुहोस्