काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामाले कर्णालीको एउटा महिलालाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा उनीमाथि प्रहार भएको बताएकी छन् ।
पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्को बैठकले लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्ति गरेको थियो । सोही विषय बिहीबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उठेको छ ।
बैठकमा बोल्दै सांसद लामाले पुनको बचाउ गर्दै मानहानि हुनेगरी विभिन्न टिकाटिप्पणी गरिएको बताइन् । बैठकमा अन्य सांसदहरूले कार्यकारी निर्देशक नियुक्तिमाथि प्रश्न उठाएपछि उनले बचाउ गरेकी हुन् ।
“कर्णालीको एउटा महिलालाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा उहाँमाथि प्रहार भयो । यो प्रहार महिला, धर्म, भेगमाथिको प्रहार भएको हो । यसप्रति मेरो घोर आपत्ति छ,” उनले भनिन् ।