site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अतिरिक्त समयमा धकेलियो पोखरा र धनगढीबीचको क्वालिफायर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र धनगढी एफसीबीचको पहिलो क्वालिफायर अतिरिक्त समयमा धकेलिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । 

खेलको पाँचौँ मिनेटमा आयुश घलानले गोल गर्दै पोखरलाई अग्रतामा राखेका थिए । मोसेस त्वमले लेफ्ट साइडबाट गरेको क्रसलाई धनगढीको रक्षकले क्लियर गर्न नसक्दा अनमार्क रहेका आयुशले ६ यार्ड बक्सबाट बललाई सहजै पोस्टको दिशा दिएपछि पोखराले अग्रता बनाएको थियो । पहिलो हाफभर पोखराले १–० को अग्रता बनाए पनि दोस्रो हाफमा धनगढी खेलमा फर्कियो ।

Dabur Nepal
NIC Asia

५४औँ मिनेटमा कप्तान देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काए । कमल श्रेष्ठले राइट साइडबाट गरेको क्रसमा देवेन्द्रले हेडर गोल गरे । देवेन्द्रको यो गोलमा पोखराका गोलकिपर प्रिसो प्रतिक्रियाविहीन बनेका थिए ।

खेलको निर्धारित समयमा दुवै टिमले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । आठौँ मिनेटमा पोखराको अग्रता दोब्बर बनाउने सुनौलो अवसर धनगढीका गोलकिपर मोहमद ताहा बाधक बने । आयुश घलानले पेनाल्टी बक्सभित्रबाट तीन रक्षकलाई चकित पार्दै निकालेको ‘ब्याक पास’ मा दीपेश आले मगरको प्रहारलाई ताहाले उत्कृष्ट बचाउ गरे ।

१९औँ मिनेटमा पोखराका मोसेस त्वमको प्रहार पोस्ट नजिकबाट बाहिरियो । स्टेफन पापा एनोरले लेफ्ट साइडबाट गरेको क्रसमा त्वमको ‘भली’ सेकेन्ड बार नजिकबाट बाहिरिएपछि धनगढीको खतरा टरेको थियो ।

२४औँ मिनेटमा अहमद हिजाजीको हेडरमा पोखराका नरेन्द्र चौधरी बाधक बन्दा धनगढी बराबरीमा फर्किन सकेन । अभिषेक गुरुङको राइट साइडबाट गरेको क्रसमा पेनाल्टी बक्सभित्र अनमार्क रहेका अहमद हिजाजीको हेडरलाई गोललाइनबाट नरेन्द्रले छातीले रोक्दै धनगढीको खेलमा फर्किने प्रयासलाई सफल बन्न दिएनन् ।

३१औँ मिनेटमा जोए आइडुको फ्रिकिकमा पुनः धनगढीका गोलकिपरले उत्कृष्ट बचाउ गरे । धनगढीका कप्तान देवेन्द्र तामाङको ह्यान्ड भएपछि पेनाल्टी बक्स बाहिरबाट फ्रिकिक पाएको थियो । जसमा आइडुको लोअर प्रहार राइट साइडमा ताहाले डाइभ हान्दै बललाई जोगाएका थिए । सोही बल पोस्टमा ठोक्किएर रिबाउन्ड आउँदा पोखराका मोसेस त्वम प्रहारका लागि पुगे पनि पुनः ताहाले बललाई नियन्त्रणमा राख्दै खतरा टारे ।

४८औँ मिनेटमा धनगढीको बराबरी गर्ने सुनौलो अवसरलाई पोखराका गोलपिकर प्रिसोले टारे । ५ को प्रहार कप्तान दीनेश राजवंशीले गोललाइनबाट हेडर क्लियर गरे । सोही रिबाउन्डमा हिजाजीले हेडर प्रयास गरे पनि प्रिसोले सहजै नियन्त्रणमा राखे । 

५४औँ मिनेटमा धनगढीका हिजाजीको प्रहारलाई पुनः प्रिसोले विफल बनाए ।

७२औँ मिनेटमा पोखराका फ्रयांकलिन टलाले सुनौलो अवसर सदुपयोग गर्न सकेनन् । पेनाल्टी बक्सबाहिरिबाट सुरजजिउ ठकुरीको फ्रिकिकलाई मोसेस त्वमले हेडमार्फत मिलाइदिएको बलमा टलाको हाफ भली पोस्ट माथिबाट बाहिरिँदा धनगढीको खतरा टरेको हो । 

७९औँ मिनेटमा ओलावाले आफिजको सुन्दर भली प्रहारमा पोखराका प्रिसोले उत्कृष्ट ‘गोलकिपिङ’ को नमुना प्रस्तुत गरे । अभिषेक गुरुङले राइट साइडबाट गरेको क्रसलाई बक्सभित्रका हिजाजीले ‘एक्रोबेटिक’ प्रयास गरे पनि बिट हुँदा ओलावालको भली प्रहारलाई प्रिसोले उत्कृष्ट रुपमा बचाए ।

८३औँ मिनेटमा धनगढीका गोलकिपरले मोहमद ताहाले धनगढीको खतरा टारे । सुरजजिउ ठकुरीले प्रहार गरेको फ्रिकिकमा बक्सभित्रका आइडुको हेडरलाई ताहाले उत्कृष्ट रुपमा विफल बनाए ।

निर्धारित समयको अन्तिम मिनेटमा पोखराका आइडुले ३० यार्डभन्दा परबाट गरेको भली प्रहार बार नजिकैबाट बाहिरिएपछि धनगढीको खतरा गरेको थियो ।

लिग चरणबाट नवीन न्यौपानेको टोली पोखरा शीर्ष स्थानमा रहँदै अन्तिम चारमा आइपुगेको हो । पोखराले आठ खेलमध्ये चारमा जित निकाल्दा तीनमा बराबरी र एक खेलमा हारको नतिजासहित १५ अंक जोडेको थियो । 

दोस्रो स्थानको धनगढीले समान खेलबाट तीन जित, चार बराबरी र एक हारको नतिजासहित १३ अंक जोडेको थियो । धनगढीले एनएसएलको पहिलो संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि काठमाडौं रेजर्ससँग पराजित भएपछि उपविजेतामा खुम्चिएको थियो ।

आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा स्थान पक्का गर्ने छ । र, हार्ने टिमले भने दोस्रो प्लेअफको मौका पाउने छ ।

हार्ने टोलीले काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको इलिमिनेटर विजेतासँग फाइनल प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्ने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro