site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अ‍ैसेडुले पहिलो ह्याट्रिक गर्दा साविक विजेतालाई हराउँदै प्लेअफ दौडमा वीरगन्ज

काठमाडौं । विलियम ओपुकु अ‍ैसेडुको ह्याट्रिकप्रेरित वीरगन्ज युनाइटेड एफसीले साविक विजेता काठमाडौं रेजर्सविरुद्ध ४–१ को सहज जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा प्ले अफ सम्भावनालाई कायम राखेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा वीरगन्जलाई जित दिलाउन औसेडुले ह्याट्रिक गर्दा सुनिल खड्काले एक गोल थपे । काठमाडौंका एन्केनगुय जुनियरले गोल गरेका थिए । साविक विजेताविरुद्ध वीरगन्जले १–० ले पछि परेको अवस्था उल्ट्याँदै तीन अंक पक्का गरेको हो ।

खेलको २१औँ मिनेटमा काठमाडौंले काउन्टर आक्रमणमा फाइदा उठाउँदै गोल गर्यो । तेज तामाङकोे कर्नरलाई सोझै बचाएका गोलकिपर अन्जल श्रेष्ठले काउन्टर अवसर सृजना गरेका थिए । एन्केनगुय जुनियरले कुलदीप कार्कीको पासलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए । कुल्दीपले राइट साइडबाट दिएको क्रस तेजसँग डिफ्लेक्ट हुँदै जुनियरसम्म पुगेको थियो । अन्जलको बल एन्केनगुयसम्म पुग्नुअघि काठमाडौंले पाँच पास खेलेको थियो ।

तर, इन्जुरी समयमा विलियम ओपुकु अ‍ैसेडुले गोल गर्दै वीरगन्जलाई खेलमा फर्काए । १८ यार्ड बक्सभित्र दीपेश गुरुङको ह्यान्ड भएपछि वीरगन्जले पेनाल्टी पाएको थियो । जसमा ओपुकुले कुनै गल्ति गरेनन् । पहिलो हाफ १–१ को बराबरीमा समाप्त भए पनि दोस्रो हाफमा वीरगन्जले तीन गोल थप्यो ।

दोस्रो हाफको पहिलो मिनेटमा नै सुनिल खड्काले गोल गर्दै वीरगन्जलाई अग्रतामा राखे । दीपेन्क ठकुरीले डिफेन्स लाइनबाट निकालेको लामो पास नियन्त्रणमा राख्दै ओसुवु ओबेडले बल अघि बढाए । ओबेडले लेफ्ट साइड ६ यार्ड बक्स नजिकबाट निकालेको ‘कट ब्याक’लाई काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले नियन्त्रणमा राख्न नसकेको बललाई सुनिलले जालीको चुमाए ।

५६औँ मिनेटमा ओपुकुले गोल गर्दै वीरगन्जको अग्रतालाई ३–१ मा पुर्‍याए । सुशिल लामाले गरेको कर्नर प्रहारमा ओपुकुले हेडर गोल गरेका थिए ।

त्यसको अर्को मिनेटमा नै ओपुकुले ह्याट्रिक गर्दा वीरगन्जले अग्रतालाई ४–१ को सहज अवस्थामा पुर्‍याएको थियो । सुशिल लामाले डिफेन्स लाइनबाट क्लियर गरेको बललाई फरवार्ड पोजिसनमा रहेका ओपुकुले करिब २५ यार्ड परबाट उत्कृष्ट हाफ भली गोल गरे । जारी सिजन यो प्रतियोगिताकै पहिलो ह्याट्रिक समेत हो ।

यो जितसँगै प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको वीरगन्ज सात खेलबाट आठ अंक जोड्दै तालिकाको सातौँ स्थानमा उक्लिएको छ । वीरगन्जसँगको हारले काठमाडौंमाथि भने दबाब थपिएको छ । सात खेलबाट नौ अंक जोडेको काठमाडौं तालिकाको पाँचौँ स्थानमा छ ।

लिग चरणको अन्तिम खेलमा अब वीरगन्जले बुटवल लुम्बिनी एफसी र काठमाडौंले ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ ।

त्यसअघि खेलमा दुवै टिमले केही अवसर सदुपयोग गर्न सकेनन् । दोस्रो मिनेटमा पेनाल्टी बक्स बाहिरबाट टोजिडिनोभ कोमीवनले गरेको प्रहार बाहिरिँदा काठमाडौंले पहिलो अवसर खेर फाल्यो ।

निर्धारित समय सकिन ६ मिनेट बाँकी छँदा काठमाडौंले अग्रता दोब्बर बनाउने सुनौलो मौका गुमायो । वीरगंजका दिपेन्क राज सिंहले मार्की खेलाडी हिसुब थपलियालाई बक्सभित्र फाउल गरेपछि काठमाडौंले पेनाल्टी पाएको थियो । तर, प्राप्त पेनाल्टीमा शोखरुख एम चुक्न पुगे । शोखरुखले पहिलो बारमा गरेको प्रहार वीरगंजका गोलकिपर तथा कप्तान दीप कार्कीले बचाए ।

५४औँ मिनेटमा तोजिडिनोभ कोमिवोनको प्रहारलाई वीरगन्जका गोलकिपर दीप कार्कीले विफल बनाए । करिब २५ यार्ड परबाट कोमिवोनको फ्रिकिक प्रहारलाई दीपले बारमाथि फ्याकेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro