site stats
बाह्रखरी :: Baahrakhari
देश
सम्बन्धबिच्छेद गरेर माइती घर बसेकी पवित्राको शव पत्करभित्र भेटियो

खोटाङ । तेह्र दिनदेखि बेपत्ता भएकी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीया पवित्रा तामाङ मृत फेला परेकी छन् । गत मंसिर १९ गतेदेखि बेपत्ता भएकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा मृत फेला परेकी हुन् । 

पवित्राको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । श्रीमान्‌सँग सम्बन्धबिच्छेद गरेर माइती घर फर्केकी पवित्रा मंसिर १९ गते राति ८ बजेसम्म टेलिभिजन हेरेर बसेकी थिइन् । 

Argakhachi Cement Island Ad

भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी सुरु गरिएको आफन्तले बताएका छन् । बेपत्ताको खोजीका लागि परिवारले मंसिर २३ गते प्रहरीलाई खबर गरेका थिए ।

चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमान्‌सँग  खटपट भएपछि ९ महिनाअघि सम्बन्धबिच्छेद गरेर माइती घर फर्किएकी थिइन् । तीन छोरी श्रीमान्‌सँगै छाडेकी पवित्रा कान्छी छोरी लिएर माइती घर बस्दै आएकी थिइन् ।

पवित्राको शव पत्करले छोपेको अवस्थामा मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिए । पवित्राको शव शङ्कास्पद अवस्थामा भेटिएकाले घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  २३:३८
प्रतिक्रिया दिनुहोस्