काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँचौँ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार २०८० मंसिरमा ७१ हजार २७६ जनाले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनाका चालु आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा ठूलो गिरावट आएको थियो ।
तर, मंसिरमा वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को मंसिरमा ६८ हजार ५६४ जनाले श्रम स्वीकृति लिएका थिए ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् २०८० साउन, भदौ, असोज, कार्तिक र मंसिर महिनामा वैदेशिक रोजगारीमा जानका लागि दुई लाख ७७ हजार ५९२ जनाले विभागबाट अन्तिम श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा वैदेशिक रोजगारीमा जान तीन लाख ४९ हजार ८२ जनाले श्रम स्वीकृति लिएका थिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ७१ हजार ४९० ले कमी आएको छ ।
विभागका अनुसार २०८० सालको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कार्तिकमा ४३ हजार ६२२ र मंसिरमा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै, २०७९ सालको साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कार्तिकमा ७८ हजार ३७० र मंसिरमा ६८ हजार ५६४ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।