काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले माओवादी केन्द्र नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको टिप्पणी गरे ।
सरकारले जनतामा आशा जगाउनसमेत नसकेको उनको टिप्पणी छ । कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने नेता कोइरालाले दाबी गरे ।
“सरकारसँग जनता निराश भएका छन् । जताततै बेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ,” उनले भने, “जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।”
नेता कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भएको बताए ।
अर्को प्रसंगमा आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले भने, “लोकतन्त्रमा अंकको खेल हुन्छ । हामीसित दलको नेता फेर्ने संख्या छैन ।”
नेता कोइरालाले कोसी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनुपर्नेमा जोड दिए । पहिचानवादीहरूसित वार्ताको टेबलमा बसेर विवाद मिलाउन उनले सुझाए ।
“कोसी नामका विषयमा विवाद छ । त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ,” उनले भने ।