site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वीरगन्जको पहिलो जित, तनावपूर्ण खेलमा इलामविरुद्ध २–१ ले विजयी 

काठमाडौं । इन्जुरी समयमा विलियन ओपुकुले गरेको गोल निर्णायक बनेपछि नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा वीरगन्ज युनाइटेड एफसीले पहिलो जित निकालेको छ । 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा वीरगन्जले स्पोर्टिङ इलाम डे मेची एफसीविरुद्ध २–१ को जित निकालेको हो ।

खेलमा पहिले अग्रता भने इलामले बनाएको थियो । १५औँ मिनेटमा आशिष चापागाईंले गोल गर्दै इलामलाई अग्रतामा राखे । एनएसएलमा पहिलो पटक प्लेइङ–११ मा अवसर पाएका आशिषले सुरज बस्नेतले राइट साइडबाट निकालेको पास नियन्त्रणमा लिँदै पेनाल्टी बक्सबाट टप कर्नर गोल गरे । आशिषले यसअघि इलामले खेलेको पाँच खेलमा जम्मा २८ मिनेटमात्र खेल्ने समय पाएका थिए ।

तर, ३४औँ मिनेटमा हिसन गुरुङले गोल गर्दै वीरगन्जलाई  खेलमा फर्काए । राइट साइडबाट सुशिल लामाको क्रसमा बक्सभित्र रहेका हिसनले ‘फर्स्ट टच’ गोल गरे । 

इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई ओपुकुले सदुपयोग गरेपछि वीरगन्जले प्रतियोगिताकै पहिलो जित सुनिश्चित गर्‍यो । 

सुरज बस्नेतले सुनिल खड्कालाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि वीरगन्जले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसअघि २०औँ मिनेटमा इलामका ओमार थिओमको भली ‘टार्गेट’ मा रहेन । सुरजले नै गरेको क्रसमा पेनाल्टी बक्सबाट थिओमले भली प्रहार गरे पनि क्रसबार माथिबाट बाहिरिएको थियो ।

७१औँ मिनेटमा विलियम ओपुकुको प्रहार पोस्ट नजिकबाट बाहिरिदा वीरगन्जले अग्रता बनाउन सकेन । दीपेन्कले लेफ्ट साइडबाट गरेको क्रसमा ओपुकुको ‘थाइ’ ले रोक्दै हाफ भली प्रहार गरे पनि ‘फस्र्ट बार’ नजिकैबाट बाहिरियो ।

खेलको अन्तिम समय तनावपूर्ण बन्यो । खेल समाप्त भएपछि रेफ्रीसँग विवादमा उत्रिए पनि इलामका गोलकिपर विकेट कुथुलाई मुख्य रेफ्री कविन व्यञ्जनकारले रातो कार्ड देखाएका थिए । त्यसपछि इलामका सबै खेलाडी रेफ्रीसँग घम्साघम्सीमा पुगेका थिए । 

इलामका समर्थकले प्यारापिटबाट बोतलसमेत प्रहार गरेका थिए ।

प्रतियोगितामा वीरगन्जको यो पहिलो जित हो । पाँच खेलबाट पाँच अंक जोडेको वीरगन्ज तालिकाको सातौँ स्थानमा उक्लिएको छ । ६ खेलबाट चार अंक जोडेको इलाम तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro