site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल सुपर लिग : झापाको पहिलो जित 

काठमाडौं । ओर्गे सान्चेजको निर्णायक गोलप्रेरित झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा पहिलो जित निकालेको छ । 

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा झापाले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० को साँघुरो जित निकालेको हो ।

खेलको ३९औँ मिनेटमा ओर्गे सान्चेजले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । अञ्जन विष्टले लेफ्ट साइडबाट निकालेको बललाई नियन्त्रणमा लिँदै सान्चेजले पेनाल्टी बक्सबाट सहजै गोल गरे । सान्चेजको यही गोल निर्णायक बन्दा झापाले जारी सिजन पहिलो पटक तीन अंक सुनिश्चित गर्‍यो । 

त्यसअघि दुवै टिमले केही अवसर सदुपयोग गर्न सकेनन् । आठौँ मिनेटमा झापाका ओर्गे सान्चेजले गोलको अवसर सदुपयोग गर्न सकेनन् । कप्तान अञ्जन बिष्टले निकालेको ‘थ्रू’ बललाई नियन्त्रणमा लिँदै पेनाल्टी बक्सबाट गरेको प्रहार बुटवलका गोलकिपर मोहमोदोउले विफल बनाए ।

१३औँ मिनेटमा सर्जे सङको प्रहार पोस्टमा लागेर फर्किदा बुटवलले अग्रता बनाउन सकेन । राइट साइडबाट सरोज तामाङले निकालेको लोअर क्रसलाई बक्सभित्र स्टेफन बिनोङले नियन्त्रणमा लिन खोज्दा सङसम्म बल पुगेको थियो । सङले सोही अवसरमा प्रहार गरे पनि बल दोस्रो बारमा लागेर फर्किएको थियो । रिबाउन्डमा सङले नै पुनः प्रहार गरे पनि यसपटक भने त्यसलाई झापाका गोलकिपर स्टेफन कुपिकले विफल बनाए ।

झापाका अञ्जनले २०औँ मिनेटमा गरेको प्रहार बुटवलका गोलकिपर मोहमोदोउले मुश्किलले बचाए । आवास लामिछानेले मध्यभागबाट निकालेको बललाई मिडफिल्डर प्रशान्त लक्षमले वान टचमा अञ्जनसम्म पूर्याएका थिए । सोही बल टर्न गरी १८ यार्ड बक्सबाहिबाट गरेको प्रहारलाई मोहमोदोउले असफल बचाए । रिबाउन्डमा लक्षण रुचालले ६ यार्ड बक्सबाट प्रहार गरे पनि त्यसले पोस्टको दिशा लिन सकेन ।

२३औँ मिनेटमा झापाका सान्चेजको सशक्त प्रहारमा पुनः बुटवलका गोलकिपर बाधक बने । राइट साइडबाट छिरिङ लामाको क्रसलाई नियन्त्रणमा राख्दै गरेको भली प्रहार मोहमोदोउले असहजताबीच जोगाए ।

७७औँ मिनेटमा प्रदीप लामाले झापाको अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमाए । लेफ्ट साइडबाट कप्तान अञ्जनले निकालेको पास पेनाल्टी बक्सभित्र अनमार्क रहेका प्रदीपले नियन्त्रणमा राख्न नसक्दा बुटवलका रक्षक मनग्य नकर्मीले क्लियर गर्दै खतरा टिमको टारे ।

८३औँ मिनेटमा पोस्ट बाधक बन्दा झापाले अग्रता दोब्बर बनाउन सकेन । आवास लामिछानले निकालेको बल नियन्त्रणमा लिँदै लेफ्ट साइडबाट सान्चेजले गरेको प्रहार माथिल्लो बारमा लागेर फर्कियो । सोही रिबाउन्डमा समिराज थोकरको हेडरलाई बुटवलका गोलकिपर मोहमोदोउले विफल बनाए । 

प्रतियोगिताको पहिलो जित निकालेको झापा पाँच खेलबाट ६ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । झापाले यसअघिका चार खेलमध्ये तीन खेलमा बराबरी खेल्दा एक खेलमा भने हार बेहोरेको थियो ।

झापासँगको हार बेहोर्दा बुटवलले भने तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । लिग तेस्रो हार बेहोरेको बुटवल सात अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro