दमौली । जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ ।
पानी अभावमा कैदीबन्दीलाई समस्या भएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । “दैनिक आवश्यकताभन्दा १५ हजार लिटर कम पानी आपूर्ति हुँदा कैदीबन्दीलाई समस्या परिरहेको छ,” उनले भने ।
मादी नदीको किनारमा इनार खनेर पानीको व्यवस्थापन गरिँदै आएकामा केही महिनायता नदीको गहिराइ बढेर इनारमा पानी कम भएपछि पानीको आपूर्तिमा कमी आएको उनको भनाइ छ ।
उनले भने, “अब पानीको आपूर्ति बढाउन नयाँ इनार खन्नुपर्ने मात्र विकल्प छ । अहिले जाडोको समयमा पानी अभावले धेरै असर नगरे पनि गर्मीयाम सुरु भएपछि समस्या हुन्छ ।” जाडोयाममै पानीको आपूर्ति बढाउने विकल्प तयार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
कारागारमा महिला र पुरुष गरी ३०२ दुई कैदीबन्दी छन् । महिलातर्फ २० र पुरुषतर्फ ११४ जनाको क्षमता रहेकामा महिलातर्फ २२ र पुरुषतर्फ २८० कैदीबन्दी छन् । करागारका निमित्त प्रमुख अधिकारीका अनुसार महिला कारागारमा आमासँग तीन बालिका पनि छन् ।
कारागारमा जबर्जस्ती करणी मुद्दाका ८६, लागुऔषध मुद्दाका ५६, कर्तव्य ज्यान मुद्दाका ५३, चोरीका २७, सवारी ज्यानका १९ जना कैदीबन्दी छन् । रासस